प्रस, वीरगंज, २ वैशाख/
नेपालको १२ वर्षे द्वन्द्वकालमा यौन हिंसापीडित महिलाहरूको आवाजलाई समाजसामु ल्याउने उद्देश्यले निर्माण गरिएको वृत्तचित्र ‘देवी’को विशेष प्रदर्शनी शुक्रवार वीरगंजमा सम्पन्न भएको छ ।
सामुदायिक संस्था सानो पाइला र चलचित्र पत्रकार सङ्घ नेपाल, पर्साको संयुक्त आयोजनामा प्रदर्शनी सम्पन्न भएको हो । सुबिना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र देवी खड्काको जीवनगाथामा आधारित छ । उनी एक आमासँगै माओवादी युद्धमा होमिएकी एक पूर्वलडाकू, राजनीतिज्ञ तथा यौन हिंसापीडित पनि हुन् । द्वन्द्व समाप्तिपछि द्वन्द्वबाट पीडित दुवै पक्षका मानवीय हिंसा, यौन हिंसा जस्ताका मुद्दाहरूलाई दबाउने प्रयास गरिएको छ । सोही क्रममा देवीले द्वन्द्वकालका अनुभवहरू उजागर गर्दै न्यायको खोजीको यात्रा शुरू गरेकी थिइन् । उनैको साहसिक कार्य समाजमा देखाउने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो ।
वृत्तचित्रबारे प्रतिक्रिया दिंदै प्रदेशसभा सदस्य रहबर अन्सारीले हरेक राजनीतिक आन्दोलनमा लुकेका लैङ्गिक तथा अन्य हिंसाका घटना बाहिरलाई बाहिर उजागर गर्नुपर्नेमा जोड दिए । उनले देवीले वृत्तचित्रको माध्यमबाट अन्धकारमा बिताएका पीडाहरूलाई उजागर गरेकीले यसले समाजलाई सोच्न बाध्य बनाउने बताए ।
महिला अधिकारकर्मी डा सुषमा तिवारी द्विवेदीले वृत्तचित्रले हिंसालाई लुकाएमा अझै बढ्ने भएकोले साहस देखाएर समाज सामुन्ने उजागर गर्दा न्यूनीकरण हुने बताइन् ।
चलचित्र पत्रकार सङ्घ नेपाल, पर्साका अध्यक्ष सूर्यनारायण विकले पत्रकारिताजस्तै वृत्तचित्र पनि समाजको ऐना भएकोले वास्तविक पीडित पात्र देवीले जुन साहस देखाएकी छन्, त्यो प्रशंसायोग्य भएको र यस्ता वृत्तचित्रले समाजभित्र हुने घृणित कार्यलाई उजागर गर्न साहस प्रदान गर्ने बताए ।
प्रदर्शनपछि सहभागीहरूले वृत्तचित्रले आफैंभित्रको पीडा, सामाजिक उदासीनता र न्यायको लागि अहिले पनि लड्नुपर्ने अवस्थालाई उजागर गरेको बताए ।
प्रदर्शनीमा प्रहरी उपरीक्षक गौतम मिश्र, डा लक्ष्मी थापा, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, प्याब्सन पर्साकी उपाध्यक्ष सुशीला साह, पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, महिला उद्यमी गुड्डी जोशी, भोजपुरी प्रतिष्ठान वीरगंजकी अध्यक्ष अनीता साहलगायतको सहभागिता थियो ।


