काठमाडौं, ८ जेठ/रासस
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखनको अन्तिम तयारी भइरहेको छ । यसमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावलाई समेत समेट्ने काम भइरहेको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझावलाई ध्यान दिएर बजेट लेखनको काम भइरहेको बताए । अर्थ मन्त्रालयले आगामी आवको बजेटबारे सबै विषयगत मन्त्रालय, विभागहरू, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो । अर्थ मन्त्रालयले पूर्वअर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो ।
त्यसैगरी, पूर्व अर्थसचिवहरू, अर्थविद्हरू, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्सलगायतका विषयतगत सङ्घसंस्थाहरूसँग छलफल गरेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ । विकास साझेदारहरूसँग पनि छलफल भएको छ ।
बजेट निर्माणका सन्दर्भमा जनप्रतिनिधिहरू, विभिन्न सङ्घसंस्थाका पदाधिकारी, नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेटसम्बन्धी सुझाव दिन सार्वजनिकरूपमा आह्वान गरेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकताबारे संसद्मा छलफल भइसकेको छ ।
बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रमा सुधार, रोजगार सिर्जना, डिजिटल अर्थतन्त्रको निर्माण, भौतिक पूर्वाधारको विकास, सामाजिक सुरक्षालगायतलाई क्षेत्रगत प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ । यही जेठ १४ गते संसद्मा आर्थिक सर्वेक्षण र जेठ १५ गते बजेट वक्तव्य पेश हुनेछ ।

