वीरगंज महानगरपालिका कार्यालयले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन प्रभावकारी कदम चालेको दाबी गरेको छ । वीरगंज महानगरपालिका कार्यालय, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्य नेपाल प्रालि सिमरा, बाराबीच सोमवार वीरगंजमा करीब चार करोडको लगानीमा सञ्चालन हुने फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी त्रिपक्षीय सम्झौता सम्पन्न भएसँगै महानगरले यो दाबी गरेको हो ।
सम्झौता अनुसार महानगरको फोहोर व्यवस्थापन केन्द्रमा पूर्णरूपमा निजी लगानीमा फोहोर प्रशोधन प्लान्ट निर्माण गरिने छ । निर्माण कार्य सम्पन्न भएपछि उक्त प्लान्ट वीरगंज महानगरपालिकालाई हस्तान्तरण गरिने छ । सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, सूर्य नेपालका उद्योग प्रमुख सुरेशकाजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले संयुक्त हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् नगर प्रमुख राजेशमान सिंहले वीरगंजलाई फोहोरमुक्त र हरित शहर बनाउने दीर्घकालीन लक्ष्य अनुसार आजको सम्झौता गरिएको बताए । उनले परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको शुरूआत गर्ने दाबी पनि गरे । यो सँगै महानगर अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा बढ्ने उनले बताए ।
नगरप्रमुख सिंहका प्रेस सल्लाहकार नवराज फुँयालले महानगरले विगतदेखि नै फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आएको बताए । उनले हाल शहरका सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल भएको दाबी पनि गरे ।
यही अभियानलाई थप सशक्त बनाउन फोहर प्रशोधन केन्द्रमा निर्माण हुन लागेको नयाँ प्लान्टले शहरभरिबाट सङ्कलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनः प्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइने जानकारी गराए ।
उनले यो सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा थप फड्को मार्ने, प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सुधार ल्याउने र वातावरण संरक्षणमा स्थायी योगदान पु¥याउने बताए ।
सूर्य नेपालका उद्योग प्रमुख श्रेष्ठले परियोजना सम्पन्न भएपछि वीरगंज फोहोरमुक्त, स्वच्छ र हरित शहर बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्ने दाबी गरे । उनले सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत यो लगानी गरेको जानकारी गराउँदै नाफामुखी व्यापारसँगै समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहेको जानकारी पनि गराए ।


