
रौतहट, १८ कात्तिक/रासस
तराई–मधेसका रौतहट, बारा, पर्सालगायत आसपासका क्षेत्रमा अखण्ड अष्टयाम र लखराव यज्ञजस्ता धार्मिक अनुष्ठानहरू लोकप्रिय बन्दै गएका छन् ।
पछिल्ला वर्षहरूमा विवाह, व्रतबन्ध, गृह प्रवेश, प्राण–प्रतिष्ठा, यज्ञयज्ञाधिलगायतका शुभकार्यमा नाचगान, भोजभतेरसहित यस किसिमका धार्मिक अनुष्ठान गर्ने चलन बढ्दै गएको छ ।
मौलापुर नगरपालिका–४ का हरेकृष्ण तिवारीका अनुसार विशेषगरी माघदेखि असार महीनासम्म सूर्य उत्तरायणको समयमा गरिने विभिन्न शुभकार्यमा गर्ने चलन बढेको हो । यसो नगरीकन शुभकार्य गरेमा फल प्राप्ति नहुने विश्वाससहित अखण्ड अष्टयाम र लखराव अनिवार्य गर्न थालिएको उनले स्पष्ट गरे । साथै धार्मिक सहिष्णुता, सामाजिक एकता र भाइचाराको सम्बन्ध विस्तारमा समेत यो चलन सहयोगी बनेको देखिन्छ ।
उक्त धार्मिक अनुष्ठान गर्नका लागि मात्र आर्थिक हैसियत अनुसार रु २५ हजारदेखि दशौं लाखसम्म अतिरिक्त रकम खर्च हुने गरेको बौधीमाई नगरपालिका–८ सरमुजुवाका निर्दलीप्रसाद जैसवाल बताउँछन् । उनका अनुसार भजनकीर्तन मण्डली, ‘साउन्ड सर्भिस’, ‘टेन्ट’, भोजभतेरलगायतको व्यवस्थापनका क्रममा आयोजक पक्षले थप आर्थिक दायित्व बेहोर्नुपरेको हो ।
यसैगरी, मध्यतराईका गाउँबस्तीमा विवाह अघि भगवान् महादेवलाई प्रसन्न पार्न रुद्री पाठ, बसाहा (गोरु) पूजा र शिवलिङ्गको लखराव पूजा गर्ने चलन पनि बढेको देखिन्छ । यसका लागि २०–२५ जना पुजारीद्वारा माटोले बनाइएका एक लाख २५ हजार शिवलिङ्गको सामूहिक पूजा गरिने धार्मिक विधि रहेको सरमुजुवा गाविसका पूर्वअध्यक्ष रामलोचन जैसवाल बताउँछन् ।
सन्तान नहुने दम्पतीले भाकलसहित तीर्थव्रतपछि जन्मेका सन्तानको विवाह अघि भगवान् शङ्कर र विष्णुलाई खुशी पार्न २४सैं घण्टा अखण्ड अष्टयाम आयोजना गर्ने चलन पनि यस क्षेत्रमा बढ्दै गएको देखिन्छ ।
दुःखकष्टविना खोटरहित सकुशल सन्तानको जन्म भएमा वाचा गरिए अनुसार लखराव, अष्टयाम गर्ने चलन रहेको मौलापुर नगरपालिका–३ का ७३ वर्षीय अनिल ठाकुरले जानकारी दिए ।
यसैगरी, पछिल्लो दशकमा हनुमानको आराधना गर्ने चलन पनि बढेको बौधीमाई नगरपालिका–८ पूर्वअध्यक्ष उपेन्द्र दास बताउँछन् । उनका अनुसार पहिले मङ्गलवार र शनिवार मात्र आराधना गरिंदै आएकामा हिजोआज हप्तामा सातै दिन सङ्गीतमय वातावरणसहित पूजाआजा र आराधना गर्ने चलन बढेको छ ।
यस किसिमका धार्मिक क्रियाकलाप एवं अनुष्ठानका कारण देशको मध्यतराईस्थित रौतहट, बारा, पर्सालगायत आसपासका मधेसी समाजमा धार्मिक आस्था, मौलिक संस्कृति, आपसी सद्भावसहित भारचाराको सम्बन्ध विस्तारमा सहयोग पुगेको देखिन्छ ।

