प्रस, वीरगंज, १२ जेठ/
मधेस विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले नवीन सोच, प्रविधि र स्थानीय स्रोतको सदुपयोगमार्फत मधेसमा उद्यमशीलतालाई संस्थागत ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् ।
वीरगंज पब्लिक कलेजको आयोजनामा र विश्वविद्यालय अनुदान आयोग, नेपालको सहयोगमा सोमवार वीरगंजमा आयोजित “मधेस, नेपालमा उद्यमशीलता र स्टार्टअप इकोसिस्टम विकास” विषयक सेमिनारमा प्राडा शाक्यले युवालाई नवप्रवर्तनमा आधारित स्टार्टपतर्फ आकर्षित गर्न शैक्षिक तथा नीतिगत सहकार्य अपरिहार्य भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले मधेसमा युवामुखी कार्यक्रम र नीतिगत सहजीकरणको खाँचो रहेको र यस्ता सेमिनारहरूले जागरण र प्रेरणा दिने दाबी गरे ।
वीउवासङ्घका अध्यक्ष हरि गौतमले मधेसमा उद्यमशीलताको अपार सम्भावना रहेको बताए । उनले शिक्षित युवालाई स्टार्टअप संस्कृतिमा आकर्षित गर्न नीति निर्माता, शैक्षिक संस्था र उद्योग क्षेत्रबीच समन्वय अपरिहार्य भएको चर्चा गरे ।
कार्यक्रममा वीउवासङ्घका सहकोषाध्यक्ष नीरज अग्रवाल, नेशनल यङ्ग इन्टरप्रेनर्स फोरमका अध्यक्ष पङ्कज अग्रवाल, विपिसीका सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठलगायतले मधेसको औद्योगिक भविष्य र युवाको उद्यमशील क्षमताबारे मन्तव्य व्यक्त गरेका थिए ।


