प्रस, वीरगंज, ३ जेठ/
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३२औं स्मृतिसभा शनिवार वीरगंजमा सम्पन्न भयो । मदन भण्डारी फाउन्डेशन पर्साले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले स्व भण्डारीले देखाएको बाटोबाट पार्टीपङ्क्ति विचलित हुन लागेको भन्दै खबरदारी गरेका थिए । वैचारिक विचलन आएकै कारण पार्टीभित्र गुट–उपगुट र एकले अर्कोलाई सिध्याउने प्रवृत्ति हुर्किएको वक्ताहरूको भनाइ थियो।
सो अवसरमा वक्ताहरूले स्वार्थको एकता नभई वैचारिक एकताले मात्रै पार्टी बलियो हुने भन्दै स्व भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको सिद्धान्त एवं मार्गदर्शनलाई पार्टीको जरा तहसम्म पु¥याउन फाउन्डेशन लाग्नुपर्नेमा जोड दिएका छन् । फाउन्डेशन पर्साका सचिव कमलेश गुप्ताको अध्यक्षतामा भएको स्मृतिसभामा एमालेका केन्द्रीय सल्लाहकार तथा वीरगंज महानगरका पूर्वप्रमुख विजय सरावगी, केन्द्रीय सल्लाहकार एवं प्रतिष्ठान पर्साका इन्चार्ज ठाकुरप्रसाद न्यौपाने, संविधानसभाका सदस्य तथा एमालेका मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, प्रतिष्ठानका मधेस प्रदेश सहसचिव तथा एमाले वीरगंज महानगर कमिटीका अध्यक्ष नवराज शर्मा, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, प्रेस चौतारी पर्साका अध्यक्ष विजय भण्डारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा एमालेका विभिन्न कमिटी एवं जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको सहभागिता थियो ।
प्रस, बारा/
३२औं मदन–आश्रित स्मृति दिवस तथा निर्मल क्षेत्रीको सम्झनामा नेकपा एमाले जीतपुरसिमरा उपमहानगर कमिटीले शनिवार डुमरवानामा विचारगोष्ठी आयोजना गरेको छ । सो गोष्ठीमा प्रमुख अतिथि एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले एमालेका तत्कालीन महासचिव मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिस्ट आन्दोलनका साथसाथै विश्व कम्युनिस्ट आन्दोलनमा पनि नयाँ आयाम थपेको बताए । उनले पूर्वी युरोपमा कम्युनिस्टहरू धराशयी भइरहेका बेला नेपालमा मदन भण्डारीको जबजले नयाँ ऊर्जा थपेको बताए । उनले जीवराज आश्रित कुशल सङ्गठनकर्ता रहेको उल्लेख गरे ।
त्यसैगरी, कार्यक्रममा पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री ज्वालाकुमारी साहले पार्टीलाई सबै नेता, कार्यकर्ता मिलेर अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।
यसैगरी, केन्द्रीय सदस्य एवं पूर्व नगर इन्चार्ज मञ्जु थापाले मिसन ८४ लाई सफल बनाउन नगर कमिटी एकजुट भएर लाग्नुपर्ने आग्रह गरिन् ।
कार्यक्रममा एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलले ३२ वर्ष अघि मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद कार्यक्रम अहिले पनि सान्दर्भिक भएको उल्लेख गरे । उनले सामन्तवाद, साम्राज्यवादको उत्पीडनबाट जनतालाई मुक्ति दिलाउनको लागि जबज कोसेढुङ्गा साबित भएको बताए । उनले निर्मल क्षेत्रीले बारा जिल्लामा पार्टीको लागि ठूलो योगदान दिएको उल्लेख गर्दै विद्यार्थी आन्दोलनको जगसमेत बसालेकाले सबैले स्मरण गर्नुपर्ने बताए ।
नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू देवनारायण चौधरी, चयन गुरुङ, एमाले जिल्ला सचिवालय सदस्य एवं पूर्व नगर अध्यक्ष भोलाप्रसाद अधिकारीलगायतले मदन भण्डारी, जीवराज आश्रित र निर्मल क्षेत्रीको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको सहजीकरण उपमहानगर कमिटी सचिव रवीन्द्रराज भण्डारीले गरेका थिए ।