एजेन्सी, ६ साउन/
नयाँ युरोपेली बोच्चिया च्याम्पियन साली किडसनले आफ्नो पहिलो ठूलो प्रतियोगिता जित्नुलाई विशाल उपलब्धि बताएकी छन् ।
२० वर्षीया किडसनले यस महीनाको शुरूमा क्रोएसियाको जाग्रेबमा सम्पन्न व्यक्तिगत बिसी ३ फाइनलमा साबिक विजेता फ्रान्सकी सोनिया हेकेललाई ३–२ ले हराउँदै स्वर्ण पदक जितेकी थिइन् ।
“म एकदमै खुशी छु,” किडसनले भनिन्, “यस्तो ठूलो प्रतियोगिता, त्यो पनि मेजर, जित्न पाउनु सधैं राम्रो कुरा हो । तर यो केवल जीतको कुरा होइन, यो जीतले बाँकी सिजन र आउँदो वर्षको विश्व च्याम्पियनशिपतर्फ लैजाने प्रेरणा पनि दिन्छ, जुन निकै ठूलो कुरा हो ।”
सालिसबरीकी किडसनले गत गर्मी फ्रान्सको पेरिसमा ग्रेट ब्रिटेनको तर्फबाट आफनो पहिलो प्यारालिम्पिक खेल खेल्दै टोलीकै कान्छी खेलाडीको रूपमा डेब्यू गरेकी थिइन् ।
उनी प्राथमिक विद्यालयमा हुँदा खेलमा परिचय गराइएकी थिइन् र सन् २०२२ मा १७ वर्षको उमेरमा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिइन् ।
“मैले २०२३ मा खेलेको अघिल्लो युरोपेली च्याम्पियनशिपमा त म अन्तिम स्थानमा परेकी थिएँ । त्यसबाट पहिलो स्थानमा आउनु पूर्णरूपमा पागलपन (अविश्वसनीय) जस्तो लाग्छ,” किडसनले भनिन् ।

