प्रस, वीरगंज, १७ जेठ/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहलाई प्रधानाध्यापक सङ्घ मधेस प्रदेशले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै शनिवार प्रदेश राजधानी जनकपुरमा कार्यक्रम गरी सम्मानित गरेको छ ।
नगरप्रमुखका प्रेस सल्लाहकार नवराज फुयाँलले नगरप्रमुख सिंह व्यस्तताले कार्यक्रममा सहभागी हुन नसकेको र उनको सम्मानपत्र प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले ग्रहण गरेको बताए ।
वीरगंज महानगरले पछिल्ला वर्षहरूमा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको प्रवर्धन र बालमैत्री वातावरण निर्माणमा खेलेको भूमिकालाई मूल्याङ्कन गर्दै प्रधानाध्यापक सङ्घ मधेस प्रदेशले नगरप्रमुख सिंहलाई सम्मानित गरेको हो ।
कार्यक्रममा वीरगंजको समग्र शैक्षिक प्रयासको प्रशंसा गर्दै आयोजक संस्थाले वीरगंज महानगरलाई मधेस प्रदेशकै लागि प्रेरणाको पालिकाको रूपमा उल्लेख गरेको थियो ।
यस्तै, महानगरको महावीरप्रसाद सुन्दरमल रामकुमार कन्या मावि वीरगंजकी बाल विकास शिक्षिका गीता खनाललाई मधेस प्रदेशकै उत्कृष्ट बालविकास शिक्षिकाको रूपमा सम्मान गरिएको थियो । उनलाई नगद पाँच हजारसहित सम्मानित गरिएको हो । बालबालिकासँगको आत्मीय सम्बन्ध, शिक्षण पद्धतिमा सिर्जनशीलता र निरन्तर समर्पणका लागि उनलाई सम्मान गरिएको हो।
त्यस्तै, सिन्दुरियामाई आधारभूत विद्यालय लक्ष्मणवाका अभिभावक शिक्षक सङ्घका अध्यक्ष प्रदीपकुमार गुप्तालाई मधेस प्रदेशकै उत्कृष्ट अध्यक्षको रूपमा सम्मानित गरिएको थियो । विद्यालय व्यवस्थापनमा अभिभावकको भूमिका अझ प्रभावकारी बनाउन उनले खेलेको अग्रसरतालाई उदाहरणीय ठहर गर्दै सम्मान प्रदान गरिएको जनाइएको छ ।
जनकपुरमा सम्पन्न कार्यक्रममा मधेस प्रदेशभरिका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक प्रतिनिधि र शिक्षा क्षेत्रका विभिन्न तहका व्यक्तिहरूको उपस्थिति थियो ।


