कास्की, १५ जेठ/रासस
पोखरामा सञ्चालन भएको नवौं संस्करणको ‘प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’को उपाधि पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोट्र्स क्लबले तथा महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।
नेपाल भलिबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा यही जेठ ८ गतेदेखि शुरू भएको उक्त प्रतियोगिता अन्तर्गत बिहीवार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली गण्डकी प्रदेशलाई ३–२ सेटले हराउँदै टिपटपले लगातार तेस्रोपटक उपाधि जितेको हो । विजेता बनेको टिपटपले रु आठ लाख पुरस्कार पायो । उपविजेता गण्डकीले रु चार लाख पुरस्कार प्राप्त गर्यो ।
उक्त खेलमा गण्डकी प्रदेशले सुरुआती दुई सेट २५–२० र २७–२५ अङ्कले जित्यो भने हेल्प नेपालले तीन सेट २५–२२, २५–१४ र १५–८ अङ्कले जित्यो ।
यसैगरी, महिलातर्फ टिपटप न्यू डायमन्ड युथ स्पोट्र्स एकेडेमीलाई ३–१ ले हराउँदै पुलिस क्लबले उपाधि जित्यो । उक्त खेलमा पुलिसले पहिलो सेट २५–२० अङ्कले जित्यो भने दोस्रो सेट डायमन्डले २५–२२ अङ्कले जित्यो । तेस्रो सेट निकै प्रतिस्पर्धामक बन्यो । उक्त सेट पुलिसले २८–२६ अङ्कले जित्यो । पुलिसले चौथो सेट २५–१४ अङ्कले जित्दै लगातार तेस्रोपटक उपाधि जित्न सफल भयो । पुलिसले रु आठ लाख तथा उपविजेता न्यू डायमन्डले रु चार लाख पुरस्कार पायो ।
यसैगरी, तृतीय भएका पुरुषतर्फ पुलिस र महिलातर्फ एभरेस्ट भलिबल क्लबले समान रु दुई लाखका दरले पुरस्कार पाए । प्रतियोगितामा महिलातर्फ नेपाल पुलिसकी उषा भण्डारी र पुरुषतर्फ हेल्प नेपालका मुशवहर रजा उत्कृष्ट हुँदै जनही रु ५० हजार पुरस्कार पाए ।
महिला तथा पुरुषतर्फका विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । पुरुष काभा क्लब च्याम्पियन्स लिग तीन महीनापछि मालदिभ्समा हुनेछ । महिला प्रतियोगिता भने नेपालमा आयोजना हुने नेपाल भलिबल सङ्घले जनाएको छ ।

