प्रस, रक्सौल, ४ साउन/
रक्सौल कोइरिया टोला नहर चोकमा रहेको पुरानो पुल तोडेर नयाँ पुल निर्माण गर्ने क्रममा ठेकेदारले ढिलासुस्ती र लापरवाही देखाएको कारण अहिले सो क्षेत्र भएर आवतजावतमा निकै समस्या भएको छ ।
रक्सौल भएर रामगढवा, बेतिया, मोतिहारीलगायतका स्थान जाने र वीरगंज आउने गण्डक नहरबीचको पुल पुरानो भएकोले सवारी भार क्षमता थेग्न नसक्ने अवस्थामा पुगेको कारण नयाँ पुल निर्माण शुरू गरिएको थियो । ठेकेदारले आवतजावतको लागि वैकल्पिक व्यवस्था नगर्दा तीन महीनादेखि सो सडक भएर आवतजावत पूर्णरूपमा ठप्प छ । पैदलयात्रीले समेत आवतजावत गर्न सकेको छैन । नहरदेखि पूर्व र पश्चिमतर्फ आधा किलोमिटरको दूरी तय गरेर पैदल, साइकल र मोटरसाइकलले नहरको सानो पुलबाट आवतजावत गर्नुपरेको छ ।
ठेकेदारको लापरवाहीले भएको कठिनाइ र निर्माणमा ढिलाइ भएको विरोधमा आज स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ताले सांसद सञ्जय जयसवाल र प्रदेश सांसद प्रमोद सिन्हाको पुतला दहन गरे ।
स्थानीय नेता अखिलेश दयाल, सुनील कुशवाहा, कृष्ण कुमार, नुरुल्लाह खान, सुभाष यादव, मदन मुखियालगायतले पुतला दहन गर्दै सांसद जयसवाल र सिन्हाविरुद्ध मुर्दाबादको नारा लगाउँदै पुल निर्माण तुरुन्त सम्पन्न गर्न र वैकल्पिक बाटो बनाउन माग गरेका थिए ।

