वाशिङ्टन, ६ जेठ/एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेपछि रूस र युक्रेनले तत्काल शान्ति वार्ता शुरू गर्ने बताएका छन् । यद्यपि पुटिनले ट्रम्पको विनाशर्त युद्धविरामलाई अस्वीकार गरेका छन् ।
राष्ट्रपति ट्रम्पले चुनावी अभियानताका २४ घण्टाभित्र द्वन्द्व अन्त गर्ने वाचा गरेको, र सम्झौता खोजी गरिरहेको बेला दुई घण्टाको कुरालाई उनले सफलताका रूपमा प्रस्तुत गरे ।
तर पुटिनले अधिक संयमित स्वर अख्तियार गरे । उनले सन् २०२२ फेब्रुअरीमा मस्कोले शुरू गरेको युद्ध अन्त्य गन ज्ञापनपत्रमा काम गर्न तयार रहेको तर दुवै पक्षबाट समझौता गर्नुपर्ने कुरामा जोड दिए ।
ओभल अफिसमा भड्किएको विवादपछि अमेरिकी राष्ट्रपतिसँग सम्बन्ध सुल्झाएका युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ट्रम्पलाई अलग्गै फोनवार्तामा हामीविना कुनै पनि निर्णय नगर्न आग्रह गरे ।
“मलाई विश्वास छ कुराकानी धेरै राम्रो भयो”–सोमवार पुटिनसँग कुराकानीपछि ट्रम्पले आफ्नो ट्रुथ सोसल नेटवर्कमा भने–“रूस र युक्रेनले तुरुन्तै युद्धविराम र अझ महत्त्वपूर्ण युद्ध अन्त्यका लागि वार्ता शुरू गर्नेछन् ।”
पछि ट्रम्पले पुटिन युद्धविरामका लागि तयार रहेको आपूmले सोचेको बताए । “मलाई लाग्छ उहाँ यसलाई समाप्त पार्न चाहनुहुन्छ”–ट्रम्पले ओभल अफिसमा पत्रकारहरूसँग भने–“यदि राष्ट्रपति पुटिन युद्ध समाप्त गर्न चाहनुहुन्न भन्ने मलाई लागेको भए, म यसबारे कुरा नै गर्दिनथें ।”
यस अघि ट्रम्पले रूस र युक्रेनबीच ३० दिनका लागि विनाशर्त युद्धविराम आह्वान गरेका थिए । कीभ सहमत भयो, तर पुटिनले अहिलेसम्म युद्धविराम अस्वीकार गरेका छन्, जसले पश्चिमी देशहरूबाट आलोचना निम्त्याएको छ ।
“कुराकानी धेरै जानकारीमूलक, धेरै खुला र समग्रमा मेरो विचारमा, धेरै उपयोगी थियो”–पुटिनले ट्रम्पसँग फोनवार्तापछि रूसी मिडियालाई भने ।
उनका अनुसार रूसले प्रस्ताव गर्नेछ र युक्रेनी पक्षसँग भविष्यको सम्भावित शान्ति सम्झौताबारे विभिन्न स्थिति परिभाषित गर्ने एउटा ज्ञापनपत्रमा काम गर्न तयार रहने छ ।
उनका टिप्पणीहरूले धेरै विवरण अस्पष्ट छाडेका छन् र उनले थप सम्झौताहरू अझै आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
कीभ र पश्चिमी सहयोगीहरूलाई चिन्तित तुल्याउँदै पदभार ग्रहणपछि रूससँग वार्ताहरूको मोडमा ट्रम्प पुटिनको आलोचना गर्नबाट मोटामोटी टाढै रहेका छन् ।
उनले पुटिनसँग आमनेसामने भेटले मात्र द्वन्द्व अन्त्य गर्न सक्ने कुरामा जोड दिएका छन् । यद्यपि पुटिनले गत हप्ता इस्तानबुलमा भेट्ने उनको सुझावलाई अस्वीकार गरे । इस्तानबुलमा रूस र युक्रेनले तीन वर्षभन्दा बढी समयपछि पहिलो प्रत्यक्ष वार्ता गरेका थिए ।
तर पुटिनले ढिलाइ गरिरहेको आशङ्काबीच ट्रम्पले बढ्दो अधैर्यका सङ्केत देखाएका छन् । जेलेन्स्कीले पुटिनसँग कुराकानी गर्नु अघि र पछि ट्रम्पसँग कुरा गरे र अमेरिकी राष्ट्रपतिलाई रूसले युद्धविराम गर्न अस्वीकार गरेमा प्रतिबन्धहरू कडा गर्न आग्रह गरे । “मैले राष्ट्रपति ट्रम्पले पुटिनसँग कुरा गर्नु अघि युक्रेनबारे हामीविना कुनै पनि निर्णय नगर्न आग्रह गरें”–जेलेन्स्कीले पत्रकारहरूलाई भने ।
जेलेन्स्कीले रूसले आक्रमण अन्त्य गर्न अघि सारेको माग अस्वीकार गर्दै कीभको नियन्त्रणमा रहेको पूर्वी र दक्षिणी युक्रेनका भागहरूबाट सेना फिर्ता लिन अस्वीकार गरे ।
ट्रम्पले पुटिनसँग कुरा गरेपछि युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्स, जर्मनी, इटाली र फिनल्यान्डका नेताहरूसहित पश्चिमी नेताहरूसँग कुरा गरे ।
यसैबीच ट्रम्प र इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनी दुवैका अनुसार पोप लियो चौधौंले भ्याटिकनमा रूस–युक्रेन वार्ता आयोजना गर्न प्रस्ताव गरेका छन् ।
यसैबीच युरोपेली राष्ट्रहरूले ट्रम्प–पुटिनको कुराकानीपछि तुरुन्तै युद्धविराममा सहमत भएन भने रूसविरुद्ध पश्चिमी प्रतिबन्धहरू कडा पार्ने कीभको आह्वान समर्थन गरेका छन् ।
तर ट्रम्प प्रतिबन्ध लगाउनुभन्दा मस्कोसँग सम्बन्ध पुनःस्थापित गर्न बढी इच्छुक छन् । उनले यो विनाशकारी रक्तपात समाप्त भएपछि संयुक्त राज्य अमेरिकासँग रूसले ठूलो मात्रामा व्यापार गर्न सक्ने लोभ देखाए ।
मस्कोले आप्mनो सेनाले युक्रेनको पूर्वी सुमी र डोनेट्स्क क्षेत्रका दुईवटा गाउँ कब्जा गरेको दाबी गरेको छ । रूसले रातभर युक्रेनमा ११२ वटा ड्रोन प्रहार गरेको थियो । तीमध्ये ७६ वटा खसालिएको युक्रेनी वायु सेनाले जनाएको छ । रासस

