डिभिजन वन कार्यालय, पर्साले चाडपर्व लक्षित वन जोगाउने अभियान जारी रहेको बताएको छ । दशैंदेखि शुरू गरिएको चाड लक्षित वन जोगाउ अभियान छठपर्वसम्म जारी रहने डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मन्जुर आलमले बताए ।
चाडपर्व लक्षित गरेर वन फडानी गर्ने क्रम बढ्न सक्ने कुरालाई दृष्टिगत गर्दै पर्साको वनमा अहिले सशस्त्र वन रक्षकसहितको गश्ती जारी रहेको बताए । उनले वन क्षेत्रमा रहेको पाँचवटा सब वन डिभिजन कार्यालयहरू र वन क्षेत्र बाहिर रहेको एउटा सबडिभिजन कार्यालय गरेर ६ वटै सब वन डिभिजनमा रहेको जनशक्ति अहिले वन गश्तीमा परिचालन गरिएको बताए ।
पर्सा जिल्ला मधेस प्रदेशको सबैभन्दा बढी वन क्षेत्र रहेको जिल्ला भएपनि पछिल्लो समयमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज विस्तार गर्दा पर्साको अधिकांश वन क्षेत्र निकुञ्ज क्षेत्रमा गाभिएको कारण पर्सा अहिले प्रदेशको सबभन्दा कम वन क्षेत्र भएको जिल्ला बनेको उनले बताए ।
बाँकी वन क्षेत्रका वन जोगाउन विभिन्न रणनीतिक योजनाहरू अवलम्बन गर्दै आएको र सोही अनुसार चाडपर्व लक्षित वन क्षेत्र जोगाउने कार्य भइरहेको उनले बताए ।
पर्साका वन क्षेत्रमा घरायसी प्रयोजनका लागि बढी मात्रामा काठ दाउराको लागि वन फडानी हुने गरेको छ । साझेदारी वनबाट अन्तिम संस्कार, पूजाहरूको लागि मात्र काठ दाउरा उपलब्ध हुने हुँदा अनधिकृतरूपमा वनमा प्रवेश गरेर तस्करहरू घरेलु प्रयोगकर्ताको आडमा वन फडानी गर्दै आएका छन् ।
डिभिजनल वन अधिकृत आलमले स्रोत र साधनले भ्याएसम्म वन रक्षा गर्दै आएको र अनधिकृत वन फडानी गर्नेविरुद्ध कारबाई गर्दै आएको बताए । उनले काठ दाउराहरू बरामद गर्ने, मानिस पक्राउ गर्ने, अदालतमा हाजिर गराउने र कसूर अनुसार दण्ड सजाय गराउने काम जारी रहेको बताए ।
उनले अनधिकृतरूपमा वन क्षेत्र र आसपासमा सञ्चालित समिल, फर्निचर उद्योगहरू बन्द गरिएको, सञ्चालकहरूलाई कानूनी दायरामा ल्याएको र यो कार्य निरन्तर जारी रहेको बताए ।


