केही मानिसहरूलाई यस्तो गुनासो रहन्छ कि उनीहरूले राति पर्याप्त निद्रा लिए पनि सधैं थकित महसूस गर्छन् । जबकि उनीहरूले व्यायाम वा कुनै गा¥हो शारीरिक परिश्रम पनि गरेका हुँदैनन् ।
यदि तपाईंलाई पनि यस्तै महसूस हुन्छ भने, तपाईं मात्र एक्लो हुनुहुन्न ।
सन् २०२३ मा तीनवटा महादेशमा गरिएका ९१ वटा अनुसन्धानको विश्लेषणमा पत्ता लाग्यो कि संसारभर हरेक पाँचमध्ये एकजना वयस्कले कम्तीमा छ महीना लगातार आफू थकित महसूस गरिरहेको अनुभव गरेको थियो । यद्यपि उनको शरीरमा कुनै रोग वा समस्या थिएन ।
बिबिसी फ्युचरमा प्रकाशित एक लेख अनुसार अमेरिकाको उदाहरण लिने हो भने, त्यहाँ नेशनल स्लीप फाउन्डेशनले एक हजार वयस्कमा अनुसन्धान गरेको थियो । त्यसमा यो पाइएको थियो कि सहभागीमध्ये ३३ प्रतिशतले हप्तामा दुईदेखि चार दिनसम्म आफूलाई निद्रा लागिरहेको जस्तो महसूस गर्ने गरेका थिए ।
आठमध्ये एकजना व्यक्ति थकानले ग्रस्त
त्यस्तै, ‘युगव’ले बेलायतमा एक हजार ७०० व्यक्तिमा अनुसन्धान गरेको थियो । तीमध्ये एक चौथाइले भनेका थिए कि उनीहरूलाई अधिकांश समय थकान महसूस हुने गर्छ । प्रत्येक आठजनामध्ये एकजनाले भनेका थिए कि म सधैंजसो थकित महसूस गर्छु ।
धेरैजसो अनुसन्धानले देखाएका छन् कि पुरुषहरूभन्दा महिलाहरूमा थकानको अनुभूति बढी हुने गर्छ ।
स्कटल्यान्डको एबरडीनमा पारिवारिक चिकित्सकको रूपमा कार्यरत रोजालिन्ड एडम भन्छिन्, “मानिसहरूमा थकानको समस्या धेरै सामान्य बनिसकेको छ,” उनी भन्छिन्, “बेलायतको नेशनल हेल्थ सर्भिसले यस समस्यालाई ‘टायर्ड अल द टाइम’ वा टैट (टिएटिटी) नाम दिएको छ, जसको अर्थ हो– सधैं थकित महसूस गर्नु ।
किन हुन्छ यस्तो थकान ?
अन्ततः यस्तो थकान किन हुन्छ, यसको शरीर र मस्तिष्कमा के असर पर्छ, र यसको उपचार कसरी गर्ने भन्नेबारेमा अहिले पनि वैज्ञानिकहरूमा धेरै जानकारी छैन ।
समस्या यो पनि हो कि यस्तो थकान वा ‘फाटिग’लाई एउटै परिभाषामा राख्न सजिलो छैन ।
एडम भन्छिन्, “थकान हुनु निद्राजस्तो महसूस हुनुबाट फरक हुन्छ । यद्यपि यी कुराहरू एकअर्कासँग सम्बन्धित छन्, तर थकानका विभिन्न पक्षहरू हुन्छन् ।”
क्रिस्टोफर बान्र्स जो अमेरिकास्थित वाशिङ्टन विश्वविद्यालयमा सङ्गठनात्मक व्यवहार र व्यवस्थापनका प्राध्यापक हुन्, उनी भन्छन्, “तपाईं थकित महसूस विभिन्न तरीकाले गर्न सक्नुहुन्छ । जस्तै लामो समयसम्म हिंड्नाले वा व्यायाम गर्दा हुने सामान्य शारीरिक थकानले ।”
तर यस्तो शारीरिक थकानले मानसिक थकान पनि उत्पन्न गर्न सक्छ ।
विक्की ह्वाइटमोर, जो अमेरिका, म्यारील्यान्ड, बेथेस्डास्थित नेशनल इन्स्टिच्युट अफ हेल्थमा कार्यक्रम निर्देशक छन्, उनी थकानका कारणहरूको अध्ययन गर्छन् ।
उनी भन्छन्, “थकानले सोच्ने, बुझ्ने र भावना व्यक्त गर्ने क्षमतामा पनि असर पार्न सक्छ । जस्तै थकान हुँदा हामी चिडचिडा हुन सक्छौं ।”
थकानको अर्थ हरेक व्यक्तिका लागि फरक हुन सक्छ र यसका कारणहरू पनि फरकफरक हुन सक्छन् ।
जस्तै, थकान केही सामान्य रोगहरूदेखि लिएर गम्भीर रोगहरूको लक्षण पनि हुन सक्छ ।
बिबिसी फ्युचरका अनुसार क्यान्सर, मल्टिपल स्क्लेरोसिस, लङ कोभिड र डिप्रेशनका कारणले पनि मानिसले थकानको अनुभव गर्न सक्छ ।
निद्रा र थकानबीचको सम्बन्ध
मानवका लागि पर्याप्त निद्रा लिनु अत्यावश्यक हुन्छ । हरेक व्यक्तिको निद्राको आवश्यकता फरक हुन सक्छ, तर विशेषज्ञहरू भन्छन् कि सातदेखि नौ घण्टासम्म निद्रा लिनु अनिवार्य छ ।
हाम्रो शरीरलाई मांसपेशीहरूको पुनर्निर्माण, रोग प्रतिरोधात्मक शक्तिमा सुधार, भावना व्यवस्थापन, सम्झनाहरू सुरक्षित राख्न र नयाँ जानकारीहरू आत्मसात् गर्न यति समयको निद्रा आवश्यक हुन्छ ।
धेरै अनुसन्धानले देखाएका छन् कि जसलाई लामो समयसम्म थकानको समस्या हुन्छ, उनीहरूमा समयपूर्व मृत्युको जोखिम सामान्य मानिसहरूको तुलनामा बढी हुन्छ । साथै, उनीहरूमा चिन्ता र डिप्रेशनको खतरा पनि बढ्न सक्छ ।
कम विश्राम पाउँदा टाउको दुख्ने र शरीर दुख्ने समस्या देखिन सक्छन् । खराब मनस्थितिको असर सम्बन्धहरूमा पनि पर्न सक्छ । प्रोफेसर बान्र्स भन्छन् कि अनुसन्धानहरूले देखाएका छन् कि जसले राम्रो निद्रा लिन्छ, उसको वैवाहिक जीवन खुशीपूर्ण हुन्छ तर कम सुत्नेको दाम्पत्य जीवनमा विवाद बढी देखिन्छ ।
त्यतिमात्र होइन, बान्र्सका अनुसार थकानको असर कार्यस्थलमा पनि पर्न सक्छ । काम मात्र होइन, व्यवहारमा समेत परिवर्तन आउँछ, जसले कार्यालयको वातावरण बिग्रन सक्छ । उनको एक अनुसन्धानले देखाउँछ कि कम सुत्ने प्रबन्धकहरूले आफ्ना कर्मचारीहरूसँग दुव्र्यवहार गर्ने सम्भावना बढी हुन्छ ।
केही अनुसन्धानहरूले देखाएका छन् कि थकानका कारण सडक दुर्घटनाहरू तथा अन्य कार्यस्थलमा त्रुटिहरू हुने सम्भावना पनि बढ्छ ।
लामो होइन, गुणस्तरीय विश्राम जरुरी
विशेषज्ञहरू भन्छन् कि धेरै समय सुत्नुभन्दा गुणस्तरीय निद्रा लिनु आवश्यक छ । लामो समय सुत्नु मात्र पर्याप्त होइन, निद्रा गुणस्तरीय हुनुपर्छ ।
थकानबारे अनुसन्धान गर्ने वैज्ञानिक विक्की ह्वाइटमोर भन्छन्, “केही घण्टाको गहिरो निद्रा लामो समयको अधूरो र बारम्बार टुट्ने निद्राभन्दा राम्रो हुन्छ । यदि तपाईं गहिरो निद्राबाट उठ्नुहुन्छ भने तपाईंलाई बढी ताजगी महसूस हुन्छ ।”
जब हामी सुत्छौं, मस्तिष्कले अनावश्यक कामहरू रोक्छ । ह्वाइटमोर बताउँछन् कि अधूरो वा बारम्बार टुट्ने निद्राका कारण मस्तिष्कबाट विषाक्त तŒवहरू (टक्सिन) बाहिर निस्कन सक्दैनन् ।
अनुसन्धानहरूले यो पनि देखाएका छन् कि नियमित समयमैं सुत्नु फाइदाजनक हुन्छ, किनभने मस्तिष्कले २४ घण्टे चक्र अनुसार काम गर्छ । निश्चित समयमा सुत्दा मस्तिष्कले आफ्नो कार्य सहीरूपमा सम्पन्न गर्न सक्छ । त्यसैले केही अनुसन्धानहरूले देखाएका छन् कि सिफ्टमा काम गर्ने मानिसहरूको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । यसले एसिडिटीदेखि मधुमेहसम्मको खतरा निम्त्याउन सक्छ ।
बिबिसी फ्युचरका अनुसार यदि तपाईं निश्चित समयमा सुत्नुभएन भने तपाईं ‘रेपिड आई मूभमेन्ट’ भएको निद्रामा प्रवेश गर्न सक्नुहुन्न । यो निद्राको चौथो चरण हो, जहाँ आँखाहरू तीव्र गतिमा हल्लन्छन् ।
यही चरण हो, जहाँ हामी सपना देख्छौं । यसमा मस्तिष्कले दिनभरको जानकारी र भावना क्रमबद्ध गर्दै व्यवस्थित गर्छ ।
अनुसन्धानहरूले देखाएका छन् कि जो मानिसहरूले यस्तो निद्रा लिन सक्दैनन्, तिनीहरूलाई डिप्रेशन, डिमेन्सिया, पार्किन्सन्स तथा सोच्ने–सम्झने क्षमतामा समस्या उत्पन्न हुन सक्छ ।
थकानका अनेक कारण
यो स्पष्ट छ कि सही आराम नपाउँदा हाम्रो स्वास्थ्य, सम्बन्ध र कामकाजी जीवन सबै प्रभावित हुन्छन् । तर थकानको लागि केवल निद्रालाई मात्र जिम्मेवार ठहर गर्न मिल्दैन ।
डा प्राची जैन, जो दिल्लीको म्याक्स अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विभाग प्रमुख हुन्, उनी भन्छिन् कि स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याले पनि थकान ल्याउन सक्छ ।
उनी भन्छिन्, “थकानको एउटा प्रमुख कारण जुन प्रस्ट देखिन्छ, त्यो हो आइरनको कमी । महिलाहरू, साना बच्चा र किशोरकिशोरीहरूमा यस कारणले एनिमिया (रक्तअल्पता) हुने गर्छ, जसले गर्दा उनीहरू थकित महसूस गर्छन् ।”
उनी थप भन्छिन्, “यसका अतिरिक्त दौडधूपयुक्त जीवनशैलीका कारण मानिसहरू आफूले खाइरहेको खाना पोषणयुक्त छ कि छैन भन्ने कुरामा ध्यान दिंदैनन् । यदि आवश्यक पोषक तŒव, भिटामिन र मिनरल्सको कमी हुन्छ भने हाम्रो स्वास्थ्य बिग्रन थाल्छ । त्यसैले यदि तपाईंलाई लामो समयसम्म थकान महसूस हुन्छ भने, चिकित्सककहाँ जानु आवश्यक छ । चिकित्सकले नै यसको वास्तविक कारण पत्ता लगाइ समाधान दिन सक्नेछन् ।”
विशेषज्ञहरू भन्छन् कि धेरैपटक हर्मोनको सन्तुलन बिग्रनाले पनि समस्या देखिन्छ । जस्तै, थाइराइडले ठीकसँग काम नगरेमा पनि थकान महसूस हुन सक्छ । यस्तो अवस्थामा रगत परीक्षणबाट शरीरमा कुनै कमी छ कि छैन भन्ने पत्ता लगाउन सकिन्छ ।
गुजरातमा एउटा होटल चेनमा हाइजिन म्यानेजरको रूपमा कार्यरत हरीश राणालाई भिटामिन ‘डी’को कमीका कारण थकानको समस्या देखिएको थियो र यो समस्या परीक्षणबाटै पत्ता लागेको थियो ।
उनी भन्छन्, “गएको वर्षको सुरुआतमा मेरो दिनचर्या पूरै ठीकठाक हुँदाहुँदै पनि मलाई थकान महसूस हुन थाल्यो । डेढ महीनासम्म त्यस्तै भएपछि मैले चिकित्सकलाई देखाएँ । चिकित्सकले भिटामिन ‘डी’को कमी हुन सक्ने आशङ्का गरे । परीक्षण गर्दा त्यही समस्या देखियो । त्यसपछि चिकित्सकको सल्लाहमा मैले सप्लिमेन्ट लिन थालें र बिस्तारै आफूलाई ठीक महसूस हुन थाल्यो ।”
तर डा रोजालिन्ड एडम भन्छिन् कि शारीरिकरूपमा स्वस्थ देखिने मानिसहरूलाई पनि अन्य कारणहरू जस्तै धेरै काम गर्नु, पोषण नपुगेको खानपान वा मानसिक स्वास्थ्यमा समस्याका कारणले थकान महसूस हुन सक्छ ।
थकानका अन्य कारणहरू पनि छन् जस्तै, यदि कसैको घरमा साना बालबालिका छन् भने उसले निरन्तर राम्रोसँग सुत्न पाउँदैन ।
त्यस्तै, मद्यपान गर्नु वा क्याफिनयुक्त पेय पदार्थहरू पिउनुका कारण शरीरमा डिहाइड्रेशन हुन सक्छ, जसले गर्दा पनि थकान महसूस हुन्छ ।
डा प्राची जैन भन्छिन् कि थकित महसूस हुनु खराब जीवनशैलीको परिणाम पनि हुन सक्छ ।
उनी भन्छिन्, “समयमैं खाना नखानु वा अत्यधिक जङ्क फूड खानुले पनि शरीरमा नकारात्मक असर पार्छ । त्यसैगरी, अत्यधिक समय स्क्रिन हेर्नु वा सुत्नु अघि स्मार्टफोन चलाउनुले पनि सुत्ने चक्र (स्लीप साइकल) गडबड पार्छ । त्यसैले स्वस्थ जीवनशैली अपनाउनु अत्यावश्यक छ ।”
नर्वेमा रहेको ‘काउन्सिल फर न्यूट्रिशनल एन्ड इन्भायरन्मेन्टल मेडिसिन’ नामक संस्थाका संस्थापक जेयर ब्योर्कलुन्ड पनि यो कुरामा सहमत छन् कि यदि ऊर्जावान महसूस गर्न चाहनुहुन्छ भने सामान्य जीवनशैली अपनाउनुपर्छ ।
उनी सुझाव दिन्छन्, “सन्तुलित आहार लिनुहोस्, खानेकुरामा पोषणको ख्याल गर्नुहोस्, समयमैं सुत्नुहोस् र पर्याप्त निद्रा लिनुहोस्, नियमित व्यायाम गर्नुहोस्, तनावबाट टाढा रहनुहोस्, प्रशस्त पानी पिउनुहोस् र आफ्नो वरिपरि सकारात्मक वातावरण बनाउनुहोस् ।” स्रोतः बिबिसी


