प्रस, निजगढ, ३ जेठ/
पूर्व–पश्चिम महेन्द्र राजमार्गको निजगढ नगरपालिकास्थित बकैया पुल र आसपासको बस्तीको सुरक्षाका लागि निर्माण गरिएको पक्की ड्याम भत्किएपछि अहिले तारजालीमा ढुङ्गा भरेर संरक्षण गर्न थालिएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणताका बकैया पुल र ड्याम तत्कालीन सोभियत सङ्घ सरकारको सहयोगमा करीब पाँच दशक अघि निर्माण गरिएको पक्की ड्यामलगायत अन्य महत्त्वपूर्ण संरचना नदीजन्य पदार्थ उत्खनन, दोहनका कारण भत्किन शुरू भएपछि संरक्षण गर्न सरोकारवाला निकाय निजगढ नगरपालिकाले बेवास्ता गर्दै आएको थियो । निजगढ र कोल्हवी नपाले आन्तरिक राजस्व सङ्कलन गर्न बकैया खोलामा कम्तीमा पनि १० देखि १५ करोड रुपैयाँभन्दा बढीमा बर्सेनि ठेक्का लगाउँदै आएको छ ।
ठेक्काका नाममा अनधिकृतरूपमा मापदण्डविपरीत खोलाबाट ढुङ्गा, ग्राभेल, बालुवा जस्ता नदीजन्य पदार्थ उत्खनन गरी बिक्री गर्ने कार्यलाई कडाइका साथ अनुुगमन, नियमन गर्न चासो नराख्दा बकैया पुुलको पक्की ड्याम र नदीको दुवै किनारामा लगाइएको तारजालीको तटबन्धसमेत भत्किंदै आएको थियो ।
पटक–पटक प्रतीक दैनिकमा समाचार प्रकाशित भएपछि निजगढ नपाले वर्षायाममा भेलबाढीले पुल, बस्ती, आर्यघाट, शहीद हीरालाल रङ्गशालालगायतका संरचनामा क्षति पु¥याउन सक्ने जनाउँदै संरक्षणका लागि डिभिजन सडक कार्यालय, हेटौंडामा हारगुहार गरिरहेको बुझिएको छ । निजगढ नपाको आग्रहमा पुललगायतका भौतिक संरचना सुरक्षाका लागि सडक कार्यालयले ठेक्का निकालेपछि ठेक्काको सबै प्रक्रिया पूरा गरी एक सातायतादेखि ठेकेदार कम्पनीले तारजाली भर्ने कार्य शुुरू गरेको छ ।
बकैया पुुल दक्षिण–पूर्वतर्फ लम्बाइ ९६ मिटर, तारजालीको जगमा तीन मिटर चौडाइ हुँदै क्रमशः दुई मिटर, डेढ मिटर र माथिल्लो भाग एक मिटर चौडाइ, तारजाली तटबन्धमा पाँच मिटर लम्बाइको लन्चिङ र सो लन्चिड्ढो मोटाइ ५० सेन्टिमिटर हुने, रिभर च्यानलाइज्ड र पुलको पिलर मर्मतसमेत गर्नेगरी नक्शा, इस्टिमेट गरिएको डिभिजन सडक कार्यालय, हेटौंडाबाट खटाइका सो कार्यका साइट इन्जिनीयर रञ्जीत साहले बताए ।
“करीब ९५० घनमिटर परिमाण बराबरको ढुङ्गाको तारजालीको काम हुन्छ,” इन्जिनीयर साहले भने ।
डिभिजन सडक कार्यालय, हेटौंडाले मूअकरसहित एक करोड २० लाखमा ठेक्काको लागि बोलपत्र आह्वान गरेको जनाएको छ । सो ठेक्का आरभ कन्स्ट्रक्शन, पर्साले मूअकरसहित ५४ लाख रुपैयाँमा सकार गरेर सम्झौता गरेको इन्जिनीयर साहले बताए । यता ठेकेदार कम्पनीका सञ्चालक सञ्जय चौरसियाले प्राविधिक त्रुटिले कम मूल्यमा ठेक्का सकार गरी सम्झौता गरे पनि डिभिजन सडक कार्यालयले तयार गरेको नक्शा, इस्टिमेट अनुसार नै काम सम्पन्न गर्ने प्रतिक्रिया दिएका छन् ।
डिभिजन सडक कार्यालयले तारजाली भर्ने तटबन्धको ठेक्का लगाए पनि बाढीले भत्किएका स्थान सबै समेट्न नसकिने प्राविधिक साहको भनाइ छ । बाढी प्रभावित स्थानसम्म तटबन्ध निर्माण नहुँदा फेरि बाढी आएमा शहीद हीरालाल रङ्गशाला क्षेत्रमा क्षति पुुग्न सक्ने प्रबल सम्भावना रहेको देखिन्छ ।
निजगढ नपाले बर्सेनि खोलाको टेन्डर करोडौं रुपैयाँमा लगाउँदै आइरहे पनि यसको संरक्षणमा एक रुपैयाँ पनि खर्च गरेको छैन । निजगढ नपाले संरक्षणका कार्य नगर्ने हो भने, बकैया खोलामा आन्तरिक राजस्वको नाममा खोला उत्खनन बन्द गर्नुपर्ने प्रभावित क्षेत्रका स्थानीयहरूले आवाज उठाउने गरेका छन् । निजगढ नपाले खोलाको दोहन मात्र गर्ने तर संरक्षणका कार्यमा अरूलाई गुहार्ने कार्य गर्दा निजगढ नपाका जनप्रतिनिधिहरूलाई लाज लाग्नुपर्ने एकजना स्थानीयले गुनासो गरे ।
खोलाबाट हुने कटान, भौतिक संरचनाको क्षतिलाई रोक्न संरक्षणका कार्य हिउँद महीनामा सम्पन्न गरिसक्नुपर्ने भएपनि ‘जब राति भयो, तब बूढी ताती’ भनेझैं अहिले वर्षायाम नजीकिंदै गर्दा काम गर्ने परिपाटीमा सुधार गर्नुपर्ने स्थानीयहरू बताउँछन् ।
“समय छउन्जेल कानमा तेल हालेर बस्ने, वर्षा लाग्न थालेपछि खोलामा काम गर्ने, यहाँ काम गर्ने तरीका गाईजात्राशैलीको छ,” एक स्थानीय भन्छन् ।


