प्रस, वीरगंज, २५ जेठ/
लेडिज सर्कल नेपालको वीरगंज लेडिज सर्कल–३ ले वीरगंज–३२ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा दुईवटा नयाँ कक्षाकोठा निर्माण सम्पन्न गरेको छ । कक्षा ९ र १० का लागि निर्माण गरिएको दुईवटा कक्षाकोठा ४० दिनको अवधिमा निर्माण सम्पन्न गरिएको हो ।
सो कक्षाकोठा उद्घाटन लेडिज सर्कल नेपालकी उपाध्यक्ष शिवानी अग्रवाल र कोषाध्यक्ष दिव्या गोयन्काले गरेका थिए । कार्यक्रमको समन्वय वीरगंज लेडिज सर्कल–३ की अध्यक्ष खुश्बू सिंघानियाले गरेकी थिइन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विजयकुमार यादवले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयको तर्फबाट धन्यवाद दिएका थिए ।
कार्यक्रममा सुनीता खेतान, निशा सरावगी, पूजा पटवारीलगायतको सहभागिता थियो । कार्यक्रममा अतिथिहरूले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय सिकाइका लागि सुरक्षित र उपयुक्त सिकाइ वातावरण उपलब्ध गराउने अपेक्षा गरेका थिए ।


