काठमाडौं, ११ जेठ/रासस
यो साता कारोबारको पहिलो दिन आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आठ दशमलव ५७ अङ्कले घटेको छ । शून्य दशमलव ३१ प्रतिशतको गिरावट पछि नेप्से परिसूचक दुई हजार ६७९ दशमलव ९८ को बिन्दुमा कायम भएको हो ।
आज ३१४ कम्पनीका एक करोड ८५ लाख पाँच हजार ७७१ कित्ता शेयर ७० हजार ६१० पटक खरीद–बिक्री हुँदा रु सात अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ को कारोबार भएको छ । आज लघुवित्त समूह दुई दशमलव ३२ र व्यापार समूह शून्य दशमलव १३ प्रतिशतले बढेका छन् भने अरू सबै समूहका उपसूचक घटेका छन् ।
बैंकिङ शून्य दशमलव ६६, विकास बैंक एक दशमलव ४६, वित्त शून्य दशमलव ९९, होटल तथा पर्यटन एक दशमलव ७५ र जलविद्युत् शून्य दशमलव ३६ प्रतिशतले घटेका छन् । त्यस्तै, लगानी समूह एक दशमलव शून्य तीन, जीवन बीमा शून्य दशमलव ३३, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य तीन, म्युचुअल फन्ड दुई दशमलव ९६, निर्जीवन बीमा शून्य दशमलव १० र अन्य समूह शून्य दशमलव ४५ प्रतिशतले घटेका छन् ।
आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी सिन्धु विकास बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव २८ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ७१ करोड ४९ लाख २८ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा प्रभु सेलेक्ट फन्डको १४ लाख ९० हजार ६४९ कित्ता शेयर किनबेच भएको छ ।


