काठमाडौं, ५ जेठ/रासस
नेपालले पहिलोपटक आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई)लाई पाँच विकेटले पराजित गर्दै सो स्थान बनाएको हो ।
सुपर–३ को शीर्ष दुईमा स्थान बनाउँदै नेपालले उक्त सफलता प्राप्त गरेको हो । अब नेपालले यसै वर्ष महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता खेल्नेछ । ग्लोबल छनोटमा नेपालसहित १० टोली सहभागी हुनेछन् । उक्त प्रतियोगितामा शीर्ष चार स्थान बनाउने टोलीले सन् २०२६ मा इङ्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्नेछन् ।
थाइल्यान्डको टेर्डथाई क्रिकेट मैदानमा आज टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन बनायो । ११५ रनको विजयी लक्ष्य नेपालले १९.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान इन्दु वर्माले अविजित ३० रन बनाइन् । यसैगरी, रूबिना क्षत्रीले २३, सम्झना खड्काले २१, पूजा महतोले १३, राजमती ऐरीले आठ तथा रूबी पोद्दारले अविजित छ रन बनाइन् । बलिङतर्फ युएईका लागि मिशेल बोथ, सुरक्षा कोटे, वैष्णवी महेश र कप्तान इशा ओजाले एक/एक विकेट लिए । यस अघि युएईका लागि ११४ रन बनाउने क्रममा कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन् । त्यस्तै, तीर्थ सतीशले २१, हीना होटचन्दनीले २० र लावान्या केनीले १२ रन बनाए ।
बलिङतर्फ नेपालका लागि मनीषा उपाध्यायले चार, कविता कुँवरले दुई तथा राजमती ऐरीले एक विकेट लिए । यस अघि सुपर–३ को पहिलो खेलमा थाइल्यान्डले युएईलाई ५४ रनले हराउँदै ग्लोलब छनोटमा स्थान पक्का गरिसकेको छ । अब नेपालले सुपर–३ को अन्तिम खेल मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ ।


