प्र्रस, वीरगंज, ७ जेठ/
जिल्ला प्रशासन कार्यालय, पर्सामा नागरिकता फाँटका कर्मचारीहरूको लापरवाहीका कारण सेवाग्राहीहरूले दैनिक दुःख भोग्नुपरिरहेका छन् ।
नयाँ नागरिकता फाँट र प्रतिलिपि फाँटबाट एउटा नागरिकता पाउन महीनौं दिनसम्म दौडनुपरेको पीडितहरूले बताएका छन् । भीडको त कुरै नगरौं, भीडलाई नियन्त्रणका लागि जनपद र सशस्त्र प्रहरीलाई भ्याइनभ्याइ छ ।
नयाँ नागरिकता लिने जाने अधिकांशलाई अहिले सर्जमिन काट्ने गरेको पाइएको छ । सर्जमिन मुचुल्का उठाउनका लागि जिल्ला प्रहरी कार्यालयदेखि इलाका प्रहरी हुँदै गाउँ वडासम्म धाउँदाधाउँदा महीनौं समय लागिरहेको पीडित सेवाग्राहीहरूले बताएका छन् ।
सर्जमिन मुचुल्का काटेपछि सबैभन्दा बढी वडाध्यक्षहरू पीडित हुन्छन् । वीरगंज महानगरपालिका–२२ का अध्यक्ष द्वारिका महतोले गाउँघरमा नियम कानून थाहा नभएकाहरू बढी छन् । गाउँको जनता नागरिकता फारामसँगै जन्मदर्ता बनाउन आउँछन्, हामी सूक्ष्म पहिचान गरी ठीक भए एकै मितिमा सिफारिशसहित जन्मदर्ता दिंदा जिल्ला प्रशासन कार्यालय नागरिकता फाटका अधिकृतहरू विभिन्न बहाना बनाइ सर्जमिन मुचुल्काको पत्र काटी पठाउँछन् ।
अधिकांशको जन्मदर्ता पहिला बने पनि हराएको देखिन्छ, पुरानो तथ्याङ्क हामीसँग छैन, स्थानीय सरकारले एक/एक परिवारलाई चिन्छ, नागरिकताको सिफारिश दिन्छौं गलत भए हामी कानूनी प्रक्रिया भोग्न तयार छौं, महतोको भनाइ छ । यो त जिल्लाभरिका वडाध्यक्षहरूको भनाइ छ ।
अर्कोतिर नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि पनि कर्मचारीहरूले उत्तिकै झ्याउ गर्छन् । कुनै बेला सबै प्रक्रिया पु¥याइ नागरिकता लिएको तर हराएपछि प्रतिलिपि लिन जाँदा विभिन्न झमेला खडा गरी पुरानो फारामसमेत खोज्न लगाउँछन् । स्टोरमा जाँदा सबै फारामहरू कुहिएको अवस्था छन् । त्यसको लागि अन्य पुष्ट्याइँ कागजात माग गर्छन् कर्मचारीहरू । हातोहात दिनुपर्ने प्रतिलिपि नागरिकतामा पनि महीनौं दिन लाग्ने गरेको छ ।
सर्जमिन मुचुल्कामा प्रहरी साक्षी बस्नुपर्छ, चार पेजको विवरण लेख्नुपर्छ, प्रहरीकहाँ लेख्ने जनशक्तिको अभाव छ, अन्य काम पनि गर्नुपर्दा प्रहरीलाई समस्या छ । अहिले दैनिक चार/पाँच वटाभन्दा बढी नागरिकताको मुचुल्का उठाउन पत्र आउँछन्, सेवाग्राहीलाई लाइनमा बस्नुपर्ने अवस्था प्रहरीकहाँ छ ।
गाउँदेखि शहरसम्म मुचुल्का उठाउनका लागि प्रहरीदेखि अन्य पाँचजनालाई नास्तापानीको खर्चसमेत दिनुपर्ने पीडितहरू बताउँछन् । यस विषयमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसँग बुझ्दा उनले यस्ता समस्या आएको मैले पनि सुनेको छु, सानोतिनो त्रुटि भए काम गरिदिनुपर्ने हो तर नयाँनयाँ अधिकृतहरू आएका छन्, बिस्तारै सिक्दै जाने बताए । यस्ता समस्यालाई चाँडै हल गर्ने उनले बताए ।


