प्रस, वीरगंज, ११ जेठ/
नेपाल इनोभेटिभ सोसाइटीको आयोजना तथा वीरगंज नर्सिङ क्याम्पसको सहकार्यमा आइतवार एक दिने उत्प्रेरणात्मक तालीम सम्पन्न भएको छ । वीरगंज नर्सिङ क्याम्पसमा आयोजित कार्यक्रमको क्याम्पस प्रमुख डा कल्पना पौडेलले उद्घाटन गरेकी थिइन् । उनले नर्सिङ पेशामा उत्प्रेरणा र मानसिक स्वास्थ्यको भूमिका विशेष महत्त्वपूर्ण हुने उल्लेख गर्दै यस्ता तालीमहरूले विद्यार्थीहरूलाई दीर्घकालीनरूपमा सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा डा नीरजकुमार सिंहले ‘जीवन र त्यो एक घण्टा’ विषयमा समय व्यवस्थापन तथा उद्देश्यपूर्ण जीवनशैलीको महत्त्वबारे प्रकाश पारेका थिए भने, डा प्रीति यादवले ‘सकारात्मक मानसिक स्वास्थ्य जागरूकता’ विषयमा विद्यार्थीहरूलाई मानसिक सशक्तीकरण तथा सकारात्मक सोच विकासका उपायहरूबारे जानकारी गराएकी थिइन् ।
सोसाइटीका अध्यक्ष कमल चौगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी कोषाध्यक्ष मौसमी सुनुवार रानाले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा वडाध्यक्ष जगतसाह कानू, वप्रका बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं, डा स्वाती गुप्ता, वीरगंज नर्सिङ क्याम्पसकी विभागीय प्रमुख सविना अधिकारी लगायतको सहभागिता थियो ।


