प्रस, ठोरी, २५ जेठ/
ठोरी गाउँपालिकाले आइतवारदेखि तीन दिने आइसिटी पुनर्ताजगी तालीम सञ्चालन गरेको छ ।
ठोरी गाउँपालिकाको सभाहलमा आयोजित आइसिटी तालीममा २१ वटा विद्यालयका प्रधानाध्यापक, छवटा माविका लेखापाल र इमिस फोकल पर्सन तथा ठोरी गापाभित्रका निजी विद्यालयका इमिस फोकल पर्सनको सहभागिता रहेको शिक्षा शाखा प्रमुख भुपाल जोशीले बताए ।
विद्यालयका सम्पूर्ण प्रशासनिक कामकाज इमिसकै माध्यमबाट हुने भएको र यसको सम्पूर्ण जिम्मेवार प्रधानाध्यापक हुनुपर्ने भएको हुँदा यस तालीमको अपरिहार्यता रहेको पनि जोशीले बताए ।
आजको शिक्षा आइसिटीमा निर्भर रहेको कारण युग सुहाउँदो शिक्षा प्रदानका लागि तथा ठोरीको शिक्षालाई प्रविधिमैत्री बनाउन तालीम आयोजना गरिएको पनि जोशीले बताए । तालीममा इमिससम्बन्धी अन्योलता हटाउन बढी जोड दिइएको पनि जोशीले जानकारी दिए ।
सरकारले इमिसलाई नै प्रमुख आधार बनाएको कारण सबै विद्यालयमा इमिससम्बन्धी अन्योलता हटाउन र पनर्ताजगी होस् भन्ने उद्देश्यले तालीम आयोजना गरिएको उनले बताए । ठोरी गापाले शिक्षालाई पहिलो प्राथमिकतामा राखी काम गरिरहेको अवस्थामा यस प्रकारका पुनर्ताजगी तालीमले शिक्षकहरूलाई काम गर्न हौसला मिल्ने तालीममा सहभागी नेपाल शिक्षक महासङ्घ ठोरीका अध्यक्ष अमृत श्रेष्ठले बताए ।
इमिसमा धेरै अन्योलता रहेकाले यस तालीमले अन्योलता हटाउन सहयोग गर्ने नेराप्रामावि दीपकनगरबाट तालीममा सहभागी इमिस फोकल पर्सन सरीता तिमल्सिनाले विश्वास व्यक्त गरिन् । आइसिटी तालीमको सहजीकरण शिक्षा शाखा प्रमुख जोशी र गापाका इमिस फोकल पर्सन नेत्र श्रेष्ठले गरेका थिए ।


