प्रस, पोखरिया, ११ जेठ/
इलाका प्रहरी कार्यालय, पोखरियाले मोटरसाइकल चोरीको कसूरमा तीनजनालाई नियन्त्रणमा लिएको छ ।
ना.५४प ३८७७ नम्बरको मोटरसाइकल चोरी गरी रु १२ हजारमा बिक्री गरेको कसूरमा प्रहरीले सर्वप्रथम पोखरिया नपा–४ का रितिक गिरीलाई शनिवार पक्राउ गरेको थियो ।
निजको बयानका आधारमा सोही वडाका कृष्ण महतो नुनिया र रामविश्वास महरालाई वडा नं ९ शिबर्वाबाट पक्राउ गरेको थियो । अभियुक्तहरूले चोरीको मोटरसाइकल विन्ध्यावासिनी गापामा रु १२ हजारमा बिक्री गरेको प्रहरीले पत्ता लगाएको थियो ।
ना.५४प ३८७७ नम्बरको मोटरसाइकलधनीको उजूरीको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको हो । इप्रका, पोखरियाले अभियुक्त तीनजनामाथि एक दर्जन बढी मोटरसाइकल चोरीको आरोप रहेको तर मोटरसाइकल चोरीका घटनामा सवारीधनीले उजूरी नगर्दा अहिलेसम्म पक्राउ नपरेको जनाएको छ ।
प्रहरीका अनुसार चोरीका घटनामा अभियुक्तहरूको संलग्नता प्रमाणित भएपछि उनीहरूले सवारीधनीलाई चोरिएको मोटरसाइकल फिर्ता गर्ने गरेकाले सवारीधनीले उनीहरूविरुद्ध उजूरी नदिंदा जोगिंदै आएका थिए । हिजोको घटनामा सवारीधनीले उजूरी गरेकाले उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

