चिरञ्जीवी सापकोटा, ठोरी, ११ जेठ/
बारम्बार सीमा विवाद हुँदै आएको पर्साको ठोरीमा हिजो शनिवार शुरू भएको सीमा विवाद आइतवार सहमतिमा टुङ्गिएको छ । नेपालमा लगाइएको काँडेतार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले हिजो भत्काएपछि विवाद चर्किएको थियो । तर आज नेपाल र भारतका सीमा सुरक्षा अधिकारीहरूले यस विषयमा सहमति गरेर विवादलाई चर्किन दिएनन् । झन्डै पाँच वर्ष अघि लगाइएको काँडेतारमा अहिलेसम्म कुनै विवाद देखिएको थिएन ।
तर हिजो भारतीय पक्षले दादागिरीशैलीमा ३७ वटा काँडेतारको पोल भत्काएको नेपाल पक्षले जनाएको छ । नेपाली भूमिमा लगाइएको काँडेतार भारतीय पक्षले विनाजानकारी भत्काएपछि नेपालको सीमा सुरक्षामा खटेको सशस्त्र प्रहरी बलले भारतीय पक्षको ध्यानाकर्षण गराएको थियो । घटनास्थलमा पुगी भारतीय पक्षसँग संवाद गरेर पुरानै स्थानमा पोलहरू गाडिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल बिओपी पोस्ट ब्रह्मनगरका सशस्त्र प्रहरी निरीक्षक प्रेम तामाङले बताए ।
ठोरी गापा–३ बुद्धनगर र रामनगरको सीमा क्षेत्रनजीक पर्ने ३७ वटा काँडेतारको पोल भत्काएको थाहा पाएपछि वडाध्यक्ष शम्भु खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक र स्थानीयहरू हिजै उक्त स्थानमा पुगेका थिए ।
नेपाली पक्षले अहिले गाडिएकै स्थानमा गाडिनुपर्ने र सीमा छुट्टाउन पहल गरी दशगजाभित्रमा परेको खण्डमा सहमत जनाउन सकिने अन्यथा मान्य नहुने अडान राखेका थिए । नेपाली पक्षको कुरा जायज ठहर भएपछि आज बिहानै दुवैतर्फका सीमा अधिकारीहरूको रोहबरमा भत्काइएको काँडेतारका पोलहरू गाडिएको छ ।


