प्रस, वीरगंज, २५ जेठ/
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा सञ्चालित ट्राफिक सप्ताहको चौथो दिन आइतवार वीरगंजमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी सडक सुरक्षाबारे नागरिकहरूलाई जानकारी प्रदान गरिएको छ । कार्यक्रम अन्तर्गत निश्शुल्क आँखा जाँच शिविर, ट्राफिक सचेतना पर्चा वितरण, स्टिकर टाँस तथा व्यावहारिक ज्ञान दिने जस्ता क्रियाकलाप थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख एवं प्रहरी निरीक्षक लोकराज भट्टले ट्राफिक सप्ताहको अवसरमा आगामी दिनमा वीरगंजका विभिन्न क्षेत्रमा सडक सुरक्षा अभिवृद्धिका लागि सचेतनामूलक अभियानहरूलाई अझ प्रभावकारी बनाइने बताए । उनले नागरिकको सहकार्यविना सुरक्षित र अनुशासित यातायात प्रणालीको विकास गर्न नसकिने भएकोले ट्राफिक सप्ताह आयोजना गरी नागरिकको सहभागिता र सहकार्यलाई उपयोग गरिएको बताए ।
ट्राफिक सप्ताह अन्तर्गत आज बसपार्क आँखा जाँच शिविरको आयोजना गरिएको थियो । वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा यातायात क्षेत्रसँग आबद्ध १०७ जनाको आँखा परीक्षण गरिएको थियो ।
यसैगरी, दुईवटा निजी विद्यालय साउथजोन मावि र एन्जल वल्र्ड स्कूलका विद्यार्थीहरूले विभिन्न चोकहरूमा पैदल यात्रुहरूलाई जेब्रा क्रसिङ प्रयोग गर्न र सडकपेटीबाट हिंड्न प्रोत्साहित गरेका थिए । सो अवसरमा विद्यार्थीहरूद्वारा ट्राफिक सचेतनामूलक पर्चा वितरण गरिनुका साथै सार्वजनिक स्थानमा ट्राफिक शिष्टाचारबारे जानकारीसमेत दिएका थिए ।


