अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राज्य अमेरिका जापानसँग ‘विशाल’ व्यापार सम्झौतामा सहमत भएको र यसमा जापानको निर्यातमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने बताएका छन् ।
ट्रम्पले आफ्नो विश्वव्यापी व्यापारिक आक्रमण शुरू गरेपछि दुवै मुलुक महीनौंदेखि वार्तामा बाँधिएका छन् । वार्तामा महत्त्वपूर्ण जापानी निर्यातका रूपमा रहेको स्टील र अटोमोबाइलमा लक्षित भन्सार शुल्कहरू विशेष बाधाका रूपमा देखिएका छन् ।
यस अघि ट्रम्पले अमेरिकाको प्रमुख व्यापारिक साझेदार जापानलाई सम्झौता नभए अगस्त १ देखि २५ प्रतिशत कर लगाउने धम्की दिएका थिए ।
“हामीले भर्खरै जापानसँग ठूलो सम्झौता सम्पन्न गर्यौं, शायद अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता,” ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा घोषणा गरे, “सम्झौता अन्तर्गत जापानले मेरो निर्देशनमा संयुक्त राज्य अमेरिकामा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्नेछ, जसले ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।”
उनले असामान्य लगानी योजनामा थप विवरणहरू प्रदान गरेनन् तर यो सम्झौताले लाखौं रोजगार सिर्जना गर्ने दाबी गरे ।
जापानी प्रधानमन्त्री शिगेरू इशिबाले टिप्पणी गर्नु अघि सम्झौताको जाँच गर्न आवश्यक रहेको बताए ।
“वार्ताको नतीजाका बारेमा के गर्ने भन्नेबारे हामीले वार्ता र सम्झौताको विवरणहरू सावधानीपूर्वक जाँच नगरेसम्म म यसमा छलफल गर्न सक्दिनँ,” इशिबाले वाशिङ्टनमा ट्रम्पको घोषणापछि टोकियोमा पत्रकारहरूलाई भने ।
“जापान कार र ट्रक, चामल र केही अन्य कृषि उत्पादनहरू र अन्य चीजहरूसहित व्यापारका लागि आफ्नो देश खोल्न सहमत भएको छ,” ट्रम्पले भने । चामल आयात जापानमा संवेदनशील मुद्दा हो र इशिबाको सरकारले यस विषयमा कुनै पनि छुटलाई पहिले नै अस्वीकार गरेको थियो ।
सम्झौताको खबरपछि जापानको निक्केई सूचकाङ्कमा एक प्रतिशतभन्दा बढी उछाल आएको छ भने जापानी अटो शेयर छ प्रतिशतले बढेको छ ।
इशिबाले सप्ताहन्तमा भएको चुनावको सामना गरेपछि यो सम्झौता आएको हो । चुनावमा इशिबाको गठबन्धनले माथिल्लो सदनमा बहुमत गुमाएको छ ।
ट्रम्प आफ्नो अगस्त १ को भन्सार शुल्क समयसीमा अघि धेरै सम्झौता गर्ने वाचा गरेपछि व्यापार सम्झौताहरू समाप्त गर्न दबाबमा छन् ।
यस अघि मङ्गलवार उनले फिलिपिन्ससँग सम्झौता भएको घोषणा गरे । सम्झौता अनुसार फिलिपिन्सको अमेरिका निर्यातमा १९ प्रतिशत कर लाग्नेछ ।
ह्वाइट हाउसले इन्डोनेशियासँगको सम्झौताको विवरण पनि प्रस्तुत गरेको छ । उक्त सम्झौता अन्तर्गत इन्डोनेशियाले महत्त्वपूर्ण खनिज निर्यात प्रतिबन्धहरू कम गर्नेछ र १९ प्रतिशत भन्सार शुल्कको सामना पनि गर्नेछ ।
बेलायत र भियतनामसँग पनि यस्तै सम्झौताहरू भएका छन् । यद्यपि अमेरिकाका शीर्ष तीन ठूला व्यापारिक साझेदारहरू चीन, क्यानडा र मेक्सिकोसँग वार्ता जारी छ ।
बेइजिङसँग बढ्दो प्रतिकारात्मक सङ्घर्षपछि दुई प्रमुख अर्थतन्त्रले भन्सार शुल्कहरूको अस्थायी कटौती गर्न सहमति जनाएका छन् । अर्को चरणको वार्ता अर्को हप्ता स्टकहोममा हुने अपेक्षा गरिएको छ ।
जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले स्टील, एल्युमिनियम र अटोमा उच्चस्तरको साथसाथै सहयोगी र प्रतिस्पर्धीहरूमा समानरूपमा १० प्रतिशत कर लगाएका छन् । ट्रम्पको गैर–क्षेत्रीय भन्सार शुल्कहरूविरुद्ध कानूनी चुनौतीहरू जारी छन् ।रासस

