नेपालमा पछिल्ला समय देखिएका राजनीतिक, सामाजिक आन्दोलनका गतिविधिहरूले एकपटक फेरि तीव्र बहस सिर्जना गरिदिएको छ । प्रश्न, नेताको नैतिकता मात्र होइन, जनताको चरित्र पनि उदाङ्गिएको हो कि ? नागरिकको पछिल्ला गतिविधिले ‘जस्तो जनता, उस्तै नेता’ भन्ने उक्ति उल्टिएर ‘जस्तो नेता, उस्तै जनता’ बन्न पुगेको देखिन्छ । जसरी नेताहरू मौका पाउनेबित्तिकै शक्तिको दुरुपयोग, भ्रष्टाचार, नातावाद, कृपावाद, लुटतन्त्रमा रमाउँछन्, त्यसैगरी जनता पनि मौका पाउनेबित्तिकै चोरी, लुटपाट, आगजनी गर्न उद्धत देखियो । राजनीतिक दल र तिनका नेताहरूले पटक–पटक जनताको भावना र आन्दोलनको मर्ममाथि धोका दिंदै आएको कुरा नयाँ होइन । शहीदको सपना, लोकतन्त्रको मर्म र जनान्दोलनको मूल्य बिर्सेर नेताहरू कुर्सीको राजनीतिमा लिप्त हुँदा जनताले पाएको चोटको परिणाम जनान्दोलन वा जनविद्रोह हुन्छ ।
पछिल्लो जेन–जी आन्दोलनलाई पनि सोही रूपमा लिनुपर्ने हुन्छ । हिजोको माओवादी युद्ध होस् वा मधेस आन्दोलन, ती आन्दोलनहरू मूलतः जनताको पहिचान, समानता र सुशासनको चाहनाबाट उत्पन्न भएका थिए । आन्दोलनको माध्यमबाट व्यवस्था परिमार्जन गर्ने लोकतान्त्रिक अभ्यासको क्रमलाई नेपाली जनताले आत्मसात् गर्न थालेको थियो । त्यसैले आवधिक निर्वाचनको व्यवस्था गरियो, जसले कुशासन सच्याएर सुशासनतर्फ बढ्न सकियोस् । तर चुनावमा मदिरा र मासुमा भोट बेच्ने नागरिक तथा आन्दोलनको नाममा लुट र आगजनीमा उत्रने जमात वृद्धि हुनुले लोकतान्त्रिक मूल्य र आचरणमाथि प्रश्न उठेको छ । मौका पायो कि लुटपाट र आगजनीमा लाग्ने जनताको प्रवृत्तिको कारण नेताहरूलाई मात्रै दोष दिन मिल्दैन । लोकतन्त्रमा जनताको सन्तानहरू नै नेता हुने हो । जनता नै लुट, खसोटमा रमाउने मानसिकताको छ भने उसका सन्तान, नेतामा सोही गुण देखिनु स्वाभाविक हो । जब आम नागरिक नै मौकावादी, स्वार्थी र अनुशासनहीन बन्छ, तब त्यस्ता नागरिकबाट चुनिएका वा निस्केका नेताहरूबाट के आस गर्न सकिन्छ ? नेता भ्रष्ट हुनुको मूल कारण जनताको मानसिकता नै भ्रष्ट भएको ठोस प्रमाण पछिल्ला घटनाहरूमा उजागर भएका छन् ।
जेन–जी आन्दोलन मूलतः युवा पुस्ताको निराशा, आक्रोश र नेतृत्वप्रतिको असन्तोषको प्रतिफल हो । तर आन्दोलनका क्रममा उद्योग–व्यवसाय, निजी सम्पत्ति, सरकारी संरचना र सर्वसाधारणको घर–गोठ जलाइदिने, लुटपाट गर्ने, बल प्रदर्शन गर्ने प्रवृत्तिले आन्दोलनको पवित्रता नै धूमिल पारिदिएको छ । बालकदेखि वयस्कसम्मको सहभागिता लुटपाटमा देखियो । ‘नेताले देश लुटे, जनताले जनजीवन लुटे’ नेता र जनता दुवै लुटमैं रमाएको त देखियो नि । अनि कसरी सम्भव हुन्छ सुशासनको स्थायित्व ? आन्दोलनकर्ताहरूले जुन उग्रता देखाए, त्यो स्वाभाविक असन्तोषको अभिव्यक्ति मात्र नभई अराजकताको सङ्केत पनि हो । यस किसिमको व्यवहारले नेपालको छवि विकृत बनाएको छ ।
अधिकांश नागरिक आन्दोलन गर्न पाउने अधिकारको पक्षमा छ, तर आन्दोलनको नाममा डाँकाजनी र लुटपाट कसैलाई पनि स्वीकार्य छैन । यस्ता विकृति अन्त्यका लागि सरकार र आन्दोलनकारी दुवै जिम्मेवार बन्नुपर्छ । घटनाको गहिरो अनुसन्धान, अपराधी पहिचान साथै लुटपाट र आगजनीमा संलग्नहरूलाई कडा कारबाई हुनुपर्छ । आन्दोलनको आडमा अराजकतालाई कसैले पनि मलजल गर्न हुँदैन ।

