प्रस, वीरगंज, ३ जेठ/
जनता समाजवादी पार्र्टी नेपालले हालै गठन गरेको केन्द्रीय परिसङ्घमार्फत देशका सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रियासहितको खबरदारीसभा शुरू गरेको छ ।
सोही कार्यक्रम अन्तर्गत शनिवार वीरगंजमा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि देशभरि खबरदारीसभा आयोजना गरिरहेको बताए ।
परिसङ्घको आयोजनामा देशभरि भइरहेको उक्त कार्यक्रममा दलित,थारू, महिला, आदिवासी जनजाति, पिछडावर्ग, मुस्लिमलगायत अल्पसङ्ख्यक समुदायका हकका लागि परिसङ्घ अगाडि बढेको र राज्यमा ती समुदायको समान सहभागिता जनाउन जसपा नेपालले सहयोग गर्ने अध्यक्ष यादवले बताए ।
कार्यक्रममा परिसङ्घको कार्यदिशा, आगामी कार्यभार र उद्देश्यहरू समेटिएका ३५ बुँदे अवधारणापत्र अध्यक्ष यादवले सार्वजनिक गरेका थिए । अध्यक्ष यादवले १३ पृष्ठको उक्त अवधारणापत्र पढेर कार्यक्रममा सुनाएका थिए ।
अवधारणापत्रमा दलित, आदिवासी जनजाति, पिछडावर्ग, थारू, अल्पसंख्यक समुदाय र महिलामाथि भइरहेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राजनीतिक असमानता, विभेद, शोषण र उत्पीडन अन्त्य गर्ने उल्लेख गरिएको छ । त्यस्तै, उत्पीडित समुदायहरूलाई राष्ट्रिय पहिचानको मान्यता, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, मानव अधिकारको प्रत्याभूति, सबैलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा, समानता र सामाजिक न्याय सुनिश्चितताका लागि सङ्घर्ष गरिने अवधारणापत्रमा उल्लेख गरिएको छ ।
कार्यक्रममा जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष गोविन्द चौधरी, महासचिव लालबाबू राउत गद्दी, कार्यकारिणी समिति सदस्य राजकुमार राई, परिसङ्घका केन्द्रीय अध्यक्ष चन्देश्वर पासवान, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सरोज यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


