गाजा सिटी, १० जेठ/सिन्ह्वा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गाजामा भइरहेको युद्ध अहिले सबैभन्दा पीडादायी र क्रूर अवस्थामा पुगेको बताएका छन् । इजरायलले केही समयदेखि गरेको कडा घेराबन्दी केही सहज बनाएपछि राहत सामग्री गाजा प्रवेश गर्न थालेको थियो । तर राहत लादिएका १५ भन्दा बढी ट्रक बाटोमैं लुटिए, जसले अवस्था अझ भयावह बनाएको छ ।
गाजा क्षेत्र लामो समयदेखि युद्धको चपेटामा छ । युद्धका कारण त्यहाँ खाद्यान्न र औषधिको अभाव छ । इजरायलले हमास नामक समूहलाई नष्ट गर्न भन्दै फेरि ठूलो सैन्य कारबाई शुरू गरेको छ । शुक्रवार मात्रै इजरायली हवाई आक्रमणमा परी गाजाका विभिन्न भागमा १६ जनाको ज्यान गएको र धेरै घाइते भएका गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ ।
गुटेर्रेसले भने–“गाजाका मानिसहरू अहिले यस्तो स्थिति झेलिरहेका छन्, जुन सम्भवतः यो युद्धको सबैभन्दा क्रूर अवस्था हो ।” उनले इजरायललाई राहत सामग्री ढुवानी सहज गराउन अनुरोध गरेका छन् । उनका अनुसार हालसम्म करीब ४ सय ट्रकमध्ये केवल ११५ ट्रक मात्र गाजा पुग्न सकेका छन् ।” अहिलेसम्मको राहत भनेको जताततै आगो लागिरहेको बेला एक थोपा पानी हाल्नुजस्तै हो । जबकि गाजालाई ठूलो मात्रामा सहायता चाहिएको छ ।”
विश्व खाद्य कार्यक्रमले गाजाको दक्षिण भागमा राहत बोकेको १५ ट्रक लुटिएको जानकारी दिएको छ । ती ट्रक स्थानीय बेकरीमा रोटी पकाउन खाद्य सामग्री पुर्याउँदै थिए । संस्थाले भोक, निराशा र राहत आउँछ कि आउँदैन भन्ने डरले अहिलेको अवस्था झनै असुरक्षित बनाएको बताएको छ । इजरायललाई राहत छिटो र बढी मात्रामा प्रवेश गर्न दिन आग्रह गरिएको छ ।
इजरायली सेनाले भने गाजामा रहेको हातहतियार गोदाम, सैन्य अड्डा र लुकेर बसेका लडाकू स्थानमा कारबाई गरिएको बताएको छ । सेनाले ७५ भन्दा बढी स्थानमा आकाशबाट बम प्रहार गरेको जनाएको छ। गाजासँग सिमाना जोडिएका इजरायली बस्तीहरूमा पनि रकेट आक्रमणको डरका कारण सतर्कता अँगालिएको छ ।
गाजाको उत्तरमा रहेको अल–आब्दा अस्पतालमा इजरायली ड्रोनबाट गराइएको आक्रमणमा तीनजना स्वास्थ्यकर्मी घाइते भएका छन् । दक्षिण गाजामा धेरै घर भत्किएको र कालो धूवाँ उठिरहेको दृश्य एएफपीका पत्रकारले देखेका छन् ।
यो युद्ध पुनः मार्च ५ गतेदेखि शुरू भएको हो, जब इजरायलले हमासमाथि कारबाई दोहो¥यायो । त्यसयता गाजामा ३,६७३ जना मारिएका छन् । यो युद्ध शुरू भएको कात्तिक यता गाजामा कुल ५३,८२२ जनाको ज्यान गइसकेको छ र ती धेरैजसो सर्वसाधारण हुन् । रासस

