नेपालमा बसाइँसराइका कारण गाउँहरूमा मानिस थपिएका शायदै उदाहरण पाइन्छन् । बरु उल्टै गाउँहरू सुनसान हुँदै गएका छन् । जहाँ हिजो जीवन थियो, आज ताला छ । जहाँ खेतबारीमा अन्न हुर्कन्थ्यो, आज त्यहाँ सिरु र वनमारा फस्टाएका छन् । आँगनमा बालबालिकाको हाँसो गुञ्जिन्थ्यो, आज झारपात उमरिएको छ । घर छ तर मान्छे छैनन्, खेत छन् तर जोत्न मानिस छैनन् । यो दृश्य तराईदेखि पहाड हुँदै हिमालसम्मका सयौं गाउँको साझा कथा हो । देशको कुनै भूगोल यो परिवर्तनबाट अछूतो छैन । बसाइँ सरेका छन्, गन्तव्य शहर हुन्, अझ बढी विदेश । यो बसाइँ सर्ने क्रम अब अनौठो रहेन, नियमितता भएको छ । कुनै बेलामा आर्थिक वर्षको बजेट भाषणमा “गाउँमा शहरको सुविधा पु¥याउने” भनिन्थ्यो । तर गाउँबाट मान्छे बिदा भएर शहर पलायन भइरहँदा यो वाक्य केवल भाषणमा मात्र सीमित रह्यो । तथ्याङ्क अनुसार पछिल्लो जनगणनामा ५४ लाखभन्दा बढी नेपालीले आफ्नो जन्मथलो छाडेर अन्यत्र बसाइँ सरेका छन् । तीमध्ये करीब २२ लाख शहरतिर, बाँकी वैदेशिक रोजगार वा अन्य प्रयोजनका लागि विदेशिएका सरकारी तथ्याङ्कले देखाएको छ ।
बसाइँ सर्नेहरू धेरै किसिमका छन्– रहर, कर र बाध्यतामा पनि बसाइँ सर्नेहरू पाइएका छन् । मुख्यतः बाध्यताले सर्नेको सङ्ख्या मुलुकमा धेरै छ । शिक्षा, स्वास्थ्य, रोजगारजस्ता आधारभूत सुविधाको अभाव गाउँलेका लागि मुख्य कर हो । यसै कारण पुस्तौंदेखि बसोबास गरेको थलोसमेत छोड्न, मासिन तयार भइरहेका छन् । अर्कोतर्फ विदेश जाने लहर छ । यसले गाउँको श्रमयोग्य जनशक्ति नै रित्याएको छ । शहर आएर पनि स्थिति सहज छैन—यहाँ पनि अवसर सीमित छन्, जीवन महँगो छ, आवास र रोजगार दुवै चुनौतीपूर्ण छन् । शहर पनि अब थकित देखिएको छ । काठमाडौं, पोखरा, वीरगंज, धरान, विराटनगरजस्ता शहरहरू अब भरिंदै गरेको होइन, रित्तिंदै गएको दृश्य देखिन्छ । नयाँ घर त बनिरहेका छन्, तर बस्ने मान्छे छैनन् । धेरैजसो घरमा केवल वृद्धवृद्धा मात्र छन् । उनका सन्तान विदेशिएका छन् । गाउँ फर्काउने कुरा भाषणको विषय होइन, यो नीतिगत परिवर्तनमार्फत सम्भव हुन्छ । हरेक गाउँमा कम्तीमा पनि गुणस्तरीय स्वास्थ्य सेवा, प्राविधिक शिक्षा, कृषि र साना उद्योगसँग जोडिएको रोजगार सिर्जना गर्न सकिए मात्र मानिसलाई गाउँ फर्काउन सकिन्छ । सरकारले शहर केन्द्रित विकासको सोच त्यागेर विकेन्द्रित योजनालाई प्राथमिकता दिनुपर्छ । बसाइँसराइको प्रवृत्तिमा न्यूनीकरण गर्न नीति, लगानी र प्रतिबद्धता सबै आवश्यक छन् ।
देशको समग्र विकासको लागि शहर र गाउँ दुवै गतिशील हुनु अनिवार्य छ । एउटा रित्तिएर अर्को थकाउने यो प्रवृत्तिले दीर्घकालीन सङ्कट निम्त्याउँछ । यो सङ्कट समयमैं थाम्न नसके गाउँ पनि मर्छ, शहर पनि । अनि बाँकी के रहन्छ ? खाली घर, बाँझो खेत र टोलटोलमा एक्लिएका वृद्धवृद्धा । हुर्के, बढे, पढेलेखेकाहरू विदेशमा पुगेका छन् । राम्रो मुलुकमा जानेहरू अधिकांशले सम्बन्धति देशको पिआर पाउने भएकाले उनीहरू त्यतै बस्छन् । उनीहरूमाथि वृद्ध बुबाआमा र यो मुलुकले गरेको लगानी बालुवामा पानी सरह भइरहेको छ । हाम्रा ऊर्जाशील जनशक्ति विदेशिएपछि देशमा कृषि तथा औद्योगिक उत्पादनमा ह्रास आउने निश्चित छ । यसो भएमा मुलुकको अर्थतन्त्र क्रमशः विदेशीको हातमा पुग्नेछ । नून मात्रै होइन, अन्नमा पनि परनिर्भर बन्नुपर्ने दिन आउँदैछ ।

