प्रस, देवघाटधाम, १४ जेठ/
पवित्र तीर्थस्थल देवघाटधाममा रहेको गलेश्वर आश्रमको शतवार्षिकी समारोह बुधवार सम्पन्न भएको छ ।
आश्रमका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजको सभापतित्वमा सम्पन्न समारोहको नेपाल सन्त समाजका अध्यक्ष एवं हरिहर सन्न्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले उद्घाटन गरेका थिए ।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले आश्रमले सञ्चालन गरिरहेका कार्यहरूको प्रशंसा गरे । उनले आश्रमले चितवन र तनहुँको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको बताए । कार्यक्रममा सांसद शङ्कर भण्डारी, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, देवघाट गापाध्यक्ष तिलबहादुर थापा, नेपाल संस्कृति विश्वविद्यालयका कुलसचिव प्रा माधव अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडल र तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गलेश्वर आश्रमको स्थापना अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारीले गरेका हुन् । आश्रमले पवित्र देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तीर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरवारविहीन तथा परिवारबाट परित्यक्त वृद्धवृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।
आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निश्शुल्क भोजन र बसोबासको सुविधा छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निश्शुल्क उपलब्ध गराउँदै आएको छ ।

