प्रस, वीरगंज, १५ जेठ/
छिमेकी देश भारतमा कोभिड सङ्क्रमित बिरामीहरू देखा पर्न थालेपछि पर्सा जिल्लामा स्वास्थ्य सतर्कता अभिवृद्धि गर्न जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले विशेष निर्णयहरू गरी कार्यान्वयनको लागि पहल गरेको छ ।
बिहीवार वीरगंजमा सम्पन्न समितिको बैठकले सङ्क्रमणको सम्भावित जोखिम रोकथामका लागि आवश्यक पूर्वतयारीका कार्यहरू अघि बढाउने निर्णय गर्दै एक दर्जन बढी महत्त्वपूर्ण बुँदाहरू तय गरेको छ ।
बैठकले भारतसँगको खुला सिमानालाई ध्यानमा राखी प्रवेशबिन्दुहरूमा स्क्रिनिङ थप प्रभावकारी बनाएर निगरानी तथा स्वास्थ्य सतर्कतासम्बन्धी निर्देशन सरोकारवाला निकायहरूलाई दिएको छ । भारतीय भूमिबाट आउने यात्रुहरूको स्वास्थ्य परीक्षणका लागि स्थापित हेल्थ डेस्कहरूलाई थप स्वास्थ्य जनशक्ति, सुरक्षाकर्मी र साधनसहित सशक्त बनाउने निर्णय गरेको छ ।
त्यस्तै, सबै स्वास्थ्य संस्था र अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । गम्भीर मामिलाबाहेक अन्य सङ्क्रमितलाई अन्यत्र रिफर नगर्न पनि भनिएको छ । मास्क, सेनिटाइजर, अक्सिजन जस्ता सुरक्षात्मक सामग्रीहरूको पर्याप्त मौज्दात सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ ।
प्रवेशबिन्दुमा खटिएका कर्मचारीहरूको रोकिएको तलब यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । परीक्षण सामग्री र खोप आवश्यक मात्रामा उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्राचार गर्ने निर्णय गरिएको छ । जनस्तरमा कोभिडसम्बन्धी सतर्कता र जनचेतना फैलाउन सबै स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न बैठकले निर्देशन दिएको छ ।
समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षता बसेको बैठकमा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, श्रीजङ्ग गणका प्रमुख नीराजन कटुवाल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला समन्वय समितिका विनयकुमार श्रीवास्तवलगायतको सहभागिता थियो ।


