नरेश यादव, पर्सागढी, ५ जेठ/
असारमा लगाइने सोना मन्सुली तथा कतर्नी धानका बीउ अहिले किसानहरूले सीमावर्ती भारत खरीद गरी ल्याइरहेका छ । आवश्यक परेको बेला किसानहरूलाई धानको बीउ पाउन सहज नहुँदा किसानहरूले अहिलेदेखि नै सोना मन्सुली र कतर्र्नी धानको बीउ सीमावर्ती भारतीय बजारबाट खरीद गरेर अहिलेदेखि नै भण्डारण गर्न थालेका छन् ।
यता भारतबाट पनि व्यापारीहरूले तस्करी गरी बीउ भित्र्याएको थालेका छन् । पर्सा जिल्लाका किसानहरूले भारतको रक्सौल, सिकटा, इनर्वालगायतका ठाउँबाट धानको बीउ खरीद गरी ल्याइरहेका छन् ।
स्थानीय तह गठन भएको आठ वर्ष पुगिसक्दा पनि कुनै पनि स्थानीय तहले अहिलेसम्म अगहनी धानको बीउ उपलब्ध गराएका छैनन् । स्थानीय नगरपालिका, गाउँपालिकाहरूले चैते धानको बीउ ५० देखि ७५ प्रतिशत उपलब्ध गराए पनि अगहनी धानको बीउको उपलब्ध गराउँदैनन् । जसले गर्दा पर्सा जिल्लाका किसानहरू भारतीय बीउ खरीद गर्न बाध्य छन् ।
प्रत्येक वर्ष असारमा प्रायःजसो सबै किसानले धानखेती गरेकै हुन्छन् । त्यतिखेर किसानहरूलाई न त बीउ उपलब्ध हुन्छ, न त मलखादहरू नै उपलब्ध हुन्छ ।


