प्रस, कलैया, २० असोज/
कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा चोरीका घटना बढेका छन् । खासगरी दशैंको अवसरमा चोरीका घटना बढेको स्थानीय बासिन्दाले बताएका छन् । घरमा ताल्चा लगाएर आफन्त र पुस्तैनी घरमा पर्व मनाउन जानेहरूको घरमा चोरीका घटनाहरू हुने गरेको पाइएको छ ।
वडा नं ६ बरेवाटोलमा मात्रै पाँच घरमा चोरी भएको छ । दशैंको अवसरमा घरमा ताल्चा लगाएर बाहिर गएका पाँच परिवारको घरमा चोरी भएको स्थानीयले बताए ।
दिउँसो ताल्चा लगाइएको घरहरूको निगरानी गर्ने र राति मौका छोपी चोरी गर्ने प्रवृत्ति बढेको छ । निदेश तिमिल्सिना, विनिता थापा, जोशी थर भएका एकजनालगायत पाँच घरमा चोरी भएको तर प्रहरीले चोर समाउन नसकेको स्थानीयले आरोप लगाएका छन् ।
चोरीको सूचना पाएपछि प्रहरी आउने, वारदाती मुचुल्का उठाउने र जाने गरेको उनीहरूले बताए । अहिलेसम्म एक दर्जन बढी घरमा चोरी भएको तर चोरहरू नसमातिएको गोविन्द पुडासैनीले दुःखेसो पोखे ।
दशैंको अवसरमा थुप्रै परिवार बाहिर छन्, केही देश बाहिर पनि छन्, घरमा कसैलाई रेखदेखका लागि छाडेकाहरूको घरमा चोरी भएको छैन तर ताल्चा मात्रको भरमा घरबाहिर जानेहरूको एकपछि अर्को चोरी हुने गरेको बताइन्छ ।

