सिङ्गापुर, १७ जेठ/एएफपी
युरोपेली सङ्घका कूटनीतिक प्रमुख काजा कल्लासले ट्रम्प प्रशासनको ‘कडा प्रेम’पछि युरोपेली महाद्वीपले रक्षा खर्च बढाउन लागेको बताएका छन् ।
सिङ्गापुरमा आयोजित ‘साङ्ग्रिला डिफेन्स फोरम’मा बोल्दै अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य खर्चका लागि गरेको आग्रहलाई ‘कडा प्रेम’ भनेका थिए । “यो प्रेम हो । त्यसैले प्रेम नगर्नुभन्दा यो राम्रो हो,” हेगसेथको भाषणबारे पछि सोधिएको प्रश्नमा कल्लासले भने ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो राष्ट्रहरूलाई रक्षा खर्च बढाउन निरन्तर दबाब दिंदै कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशतसम्म माग गर्दै वाशिङ्टनले अब कसैको लागि भारवहन गर्न नसक्ने बताएका थिए ।
कल्लासले भने, “युरोपमा विभिन्न देशहरू छन् र हामीमध्ये केहीले धेरै पहिले नै महसूस गरिसकेका छौं कि हामीले रक्षामा लगानी गर्नुपर्छ ।”
“यो राम्रो कुरा हो, हामीले अझ बढी गरिरहेका छौं, तर म के कुरामा जोड दिन चाहन्छु भने युरोपको सुरक्षा र प्रशान्त क्षेत्रको सुरक्षा धेरै हदसम्म एकअर्कासँग जोडिएको छ,” उनले भने ।
कल्लासले युक्रेनतर्फ सङ्केत गर्दै भने, “युक्रेनमा पहिलेदेखि नै उत्तर कोरियाली सैनिकहरू सक्रिय थिए र चीनले रूसलाई सैन्य हार्डवेयर प्रदान गरिरहेको थियो ।”
“अमेरिकी रक्षामन्त्रीको भाषणमा चीनबारे केही कडा सन्देशहरू आएका थिए,” कल्लासले भने । उनले भने, “मलाई के लाग्छ भने यदि हामी चीनबारे चिन्तित छौं भने रूसको बारेमा पनि चिन्तित हुनुपर्छ ।
इयूले एशिया–प्रशान्त क्षेत्रमा रक्षालगायत क्षेत्रमा हाम्रो पारस्परिक हितमा साझेदारी निर्माण गर्न चाहेको थियो ।” इयूले एशिया–प्रशान्त क्षेत्रमा रक्षालगायत क्षेत्रमा हाम्रो पारस्परिक हितमा साझेदारी निर्माण गर्न चाहेको थियो ।
“इयूले गियर परिवर्तन गरेको छ र कडा प्रतिरक्षाको साथ समर्थित शान्ति परियोजनाको रूपमा हाम्रो आफ्नै मापदण्डलाई पुनः कल्पना गरेको छ,” कल्लासले भने । उनले भने, “हामी द्रुत गतिमा विश्वव्यापी सुरक्षा साझेदार बनिरहेका छौं ।”
यस अघि ‘साङ्ग्रिला डिफेन्स फोरम’मा हेगसेथले सम्मेलनमा भने, “हामी युरोपमा रहेका हाम्रा सहयोगीहरूलाई उनीहरूको प्रतिरक्षामा लगानी गर्नका लागि उनीहरूको आफ्नै सुरक्षाको स्वामित्व लिन दबाब दिइरहेका छौं । यसका लागि राष्ट्रपति ट्रम्पलाई धन्यवाद, उनीहरूले कदम चालिरहेका छन् ।” रासस
