•अर्जुनदेव ठाकुर
तराई–मधेसको एउटा गाउँ बागवानीपुर । चारैतिर खेतबारीले घेरेको, माटोको सुगन्धले लपेटिएको गाउँ । तर पछिल्ला केही वर्षयता त्यो माटोले सुगन्ध होइन, भोक, बिछोड र आँसु बोकेको छ ।
आमा भनिरहन्थिन्, “जब पानी पथ्र्यो, माटो गन्हाउने होइन, गाउने गथ्र्यो ।” तर अब त्यो गीत हराएको छ । बागवानीपुरमा चार महीना पानी झर्दैन । जेठदेखि असोजसम्म आकाश हेरेर नै खेती गरिन्छ, मानौं प्रभु प्रसन्न भए भने खेतमा हरियाली आउनेछ, नभए सुनसान भूगोल बाँकी रहनेछ ।
रामबाबू मौर्य, गाउँका पुराना किसान हुन् । उमेरले ७० नाघे पनि बिहानै उठेर खेत हेर्न जान्छन् । तर खेत हेर्दा उनको अनुहार ओइलिन्छ, सुक्खा माटोले घाँटी बटार्छ । यसपालि पनि धानको बिरुवा खेतमा लगाउन सकेनन् । हातमा होचो खुर्पा लिएर घस्रिएजस्तै हिंड्छन्, मानौं माटोसँग नै माफी माग्दैछन्, “माफ गर है, फेरि गाड्न सकिनँ ।”
रामबाबूका छोरा रमेश, जो केही वर्ष अघि काठमाडौं गएको थियो, फर्केर गाउँ आएको छ । उसले सोचेको थियो, खेती व्यवस्थित पारेर तरकारी उत्पादन गर्ने, आधुनिक सिंचाइ प्रणाली जडान गर्ने । तर वास्तविकता देख्दा उसको योजना सपना मात्र भयो ।
“बाबा, यहाँ त इनारहरू पनि सुकेका छन्, त्यत्रो गण्डक नहरमा पानी छ भनिन्छ, तर हाम्रो खेतमा एक थोपा छैन,” रमेशले निराश हुँदै भन्यो ।
“पानी त छ बाबु, तर हामीसम्म आइपुग्दैन । माथि हाकिमहरूसँग जाऊ भने सुन्छन् तर केही गर्दैनन् । हामीलाई त केवल आश्वासन चाहिं प्रशस्त पाइन्छ,” रामबाबुले गहभरि आँसु लिएर जवाफ दिए ।
गाउँमा पानीका लागि साना–ठूला दशौं पाइप प्रणाली बनाइएका थिए, कुनै समय । तर अहिले ती सबै पुरिएका छन्, केही फुटेका छन् । हरेक साल बजेट आउँछ, तर योजनाको माटो सुकेकै हुन्छ ।
रामबाबुकी पत्नी, जानकीदेवी, बिहान सबेरै नजीकैको पोखरी जान्छिन् पानी लिन । पोखरी पनि अब हरेक वर्ष झन्झन् साँघुरो हुँदैछ । पानीको सतह त देखिन्छ, तर त्यसले जीवन चल्दैन । कहिले त दुई/तीन दिनसम्म पनि पानी नपाएर गाग्री लिएर फर्किन्छिन् । गाउँका अन्य महिलाहरू पनि उस्तै छन्, घाममा झुल्दै, बाल्टिन बोकेर हिंड्ने ।
विद्यालय जाँदै गरेका केटाकेटीहरू पानीको भरमा ढिलो जान्छन् । कतिपयले त बिस्कुटसँगै पानीको बोतल पनि बोकेर जानुपर्छ । विद्यालयको शौचालयमा पानी हुँदैन, शिक्षकहरू आफैं पनि कहिलेकाहीं बाल्टिन बोकेर आउने गर्छन् । प्रधानाध्यापकले पालिका कार्यालयमा एकपटक उजूरी पनि गरे । तर ‘पानीका लागि छुट्टै योजना बनिरहेको छ, अझै पर्खनुस्’ भन्ने जवाफ पाए ।
“कहिलेसम्म पर्खने ?” गाउँका युवाहरू आपसमा भन्दै थिए । तर प्रश्न गर्नेहरूलाई चुप लगाइन्छ, “राजनीति नगर बाबु, विकास हुँदैछ, सब ठीक हुन्छ” भनेर ।
गाउँका केही घरहरूमा मोटर पम्प छन् । तर त्यो चलाउन बिजुली हुँदैन, डिजल किन्न रकम छैन । अहिले त डिजल पनि महँगो भएको छ । केही महीना अघि रमेशले खेतमा ड्रिप इरिगेशन प्रणाली जडान गर्न खोजेको थियो, तर त्यो योजनाका लागि आवश्यक अनुदान पुग्नै सकेन । अनुदानका लागि फाराम भरेर हप्तौं धाएर पनि नतीजा शून्य ।
एक साँझ रामबाबु र रमेश आँगनमा बसिरहेका थिए । आकाशतिर हेर्दै रामबाबुले भने, “हेर बाबु, ती कालो बादलहरू झुन्डिएर बसेका छन्, तर हामीलाई बर्सिनेछैनन् जस्तो लाग्छ ।” रमेश केही नबोलीकन टोलाउँदै बस्यो ।
त्यही बेला गाउँका वडाध्यक्ष घरतिर आइपुगे । रमेश उठेर स्वागत गर्न गयो । वडाध्यक्ष भने, “हेर रमेश, नयाँ योजना आयो, तर सिफारिश चाहिन्छ । हामी जिल्ला गएर कुरा उठाउनेछौं ।” रमेशको अनुहार उज्यालो भयो । उसले सोचेको थियो–अब केही हुन्छ ।
तर एक महीना बित्यो, दुई महीना बित्यो, योजना फाइलमैं थन्कियो । फेरि पनि सुक्खा माटो, फेरि पनि गाउँमा पानीको हाहाकार ।
वर्षाको आशामा बसेका किसानहरू एक दिन एकैपटक उठे । उनीहरूले गाउँमा सानासाना पोखरी खन्न थाले । युवाहरूले बाँस र माटो प्रयोग गरेर ताल बनाउने प्रयास गरे । “हामी पानी माग्न नजाने अब, आफैं बनाउनेछौं,” रमेशले सबैलाई बोलाएर भने ।
योजनाले होइन, सङ्कल्पले केही काम हुन थाल्यो । गाउँका किशोरकिशोरीहरूसमेत बिहान सबेरै उठेर माटो खन्न थाले । समाजमा केही पहल शुरू भयो ।
तर समस्या त्यहीं सकिएको छैन । अर्को सालको मङ्सिरमा रामबाबु बिरामी भए । चिकित्सकले धेरै समय नहुने बताए । ओछ्यानमैं सुतेका रामबाबुले रमेशलाई भने, “म मरूँ या बाँचूँ, हाम्रो गाउँमा फेरि खेतमा हरियाली फस्टाओस् । म त यस माटोको छोरो हुँ बाबु ।”
रामबाबु बिते । तर रमेशको सपना सकिएन । उसले आफ्नो बुबाको सपना बोक्यो–गाउँमा पानी ल्याउने ।
आज बागवानीपुरमा एक सामुदायिक सिंचाइ योजना बन्दैछ । युवाहरूको सक्रियता साना तालहरू, वर्षा जल सङ्कलन प्रणाली बन्दैछ । राज्य अझै मौन छ, तर जनता बोलिरहेको छ ।
साथमा बुबाको फोटो राखेर रमेशले माटोमा पानीको पहिलो थोपा खस्दा चुपचाप आँसु झार्दै भन्यो, “हेर बुबा, आज माटो फेरि गाउन थाल्यो ।”
रमेशले बुबालाई सम्झिँदै मनमनै भन्यो, “तराई–मधेस अब केवल उब्जनिको भूमि होइन, यो सङ्घर्ष, सजगता र सामूहिक चेतनाको भूमि बन्दैछ । सुक्खाले सताएको भएपनि पानीको आशा, जीवनको चाहना र सामूहिक चेतना अझै बाँकी छ ।”

