प्रस, परवानीपुर, ११ जेठ/
मधेस क्रिकेट लिगमा आइतवार चारवटा खेल सम्पन्न भए । दुईवटा खेल वीरगंजको नारायणी क्रिकेट ग्राउन्ड र दुईवटा कलैयाको सिद्धेश्वर खेलमैदानमा सम्पन्न भएको आयोजक मधेस प्रदेश क्रिकेट सङ्घले जनाएको छ ।
वीरगंजमा सम्पन्न दुई खेलमध्ये पहिलो खेलमा पर्सालाई बाराले पाँच विकेटले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको पर्साले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२९ रन बनाएको थियो भने जवाफी ब्याटिङ गर्दै बाराले १४.४ ओभरमा पाँच विकेटको क्षतिमा १३० रन बनाएर खेल जित्यो । यस खेलको ‘म्यान आफ दी म्याच’ बाराका आदिल अन्सारी घोषित भए ।
यसैगरी, वीरगंजमा सम्पन्न अर्को खेलमा सप्तरीले ३४ रनले महोत्तरीलाई पराजित गर्यो । सप्तरीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ९९ रन बनाएको थियो । लक्ष्य पछ्याउने क्रममा महोत्तरी १६.२ ओभरमा सबै विकेट गुमाएर ६५ रनमैं सीमित भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ सप्तरीका पप्पु यादव घोषित भए ।
यसैगरी, कलैयाको सिद्धेश्वर खेलमैदानमा सम्पन्न पहिलो खेलमा रौतहटले धनुषालाई ३८ रनले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ गरेकोे रौतहटले २० ओभरमा आठ विकेटको क्षतिमा १३५ रन बनाएको थियो भने जवाफी ब्याटिङ गर्दै धनुषा १८.४ ओभरमा सबै विकेट गुमाएर ९७ रनमा सीमित भयो । यस खेलको उत्कृष्ट खेलाडी रौतहटका राजेश यादव घोषित भए । दोस्रो खेलमा सिराहाले सर्लाहीलाई दुई विकेटले पराजित गर्यो । पहिला ब्याटिङ गरेको सर्लाहीले १९.५ ओभरमा सबै विकेट गुमाएर ११२ रन बनाएको थियो । सिराहाले १९.१ बलमा आठ विकेटको क्षतिमा ११८ रन बनाएर खेल जित्यो । यो खेलमा सिराहाका प्रदीप पासवान उत्कृष्ट घोषित भए ।
प्रतियोगिताको अङ्कतालिका अनुसार छवटा खेलमध्ये पाँच खेल जितेर बारा पहिलो स्थानमा छ । छमध्ये चारवटा जीतसहित सप्तरी दोस्रो र तीनवटा जीतसहित रौतहट तेस्रो, अनि तीनवटा जीतसहित धनुषा चौथो, पर्सा पाँचौं, सिराहा छैटौं र महोत्तरी सातौं स्थानमा छन् ।

