काठमाडौं, २५ जेठ/रासस
यू–१४ राष्ट्रिय विद्यालय खेलकूद अन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा मधेस प्रदेशका आदित्य यादव र कोशी प्रदेशकी प्रकृति काफ्लेले स्वर्ण पदक जितेका छन् । राष्ट्रिय खेलकूद परिषद्को आयोजनामा भइरहेको उक्त प्रतियोगितामा आदित्य छात्रतर्फ तथा गौरी छात्रातर्फ पहिलो भएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आदित्यले निर्धारित दूरी ११.६ सेकेन्डमा पूरा गरे । सो स्पर्धामा कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अङ्कित ताजपुरियाले कांस्य जिते ।
यस्तै, प्रकृतिले निर्धारित दूरी तय गर्न १४.६ सेकेन्ड समय खर्चिन् । सो स्पर्धामा कर्णालीकी गोमा शाहीले रजत तथा सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले कांस्य पदक हात पारिन् । छात्र ४०० मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो भए । उनले ५५.६ सेकेन्डमा दौड पूरा गरे । सुदूरपश्चिमका रोहित धामी दोस्रो तथा कोशीका प्रियांशु शाह तेस्रो भए । सोही स्पर्धाको छात्रातर्फ कर्णालीकी सुषमा बुढा ६९.३ सेकेन्ड समयका साथ शीर्ष स्थानमा रहिन् । गण्डकीकी आराध्या चालिसे दोस्रो तथा बाग्मती प्रदेशकी शिल्भी नागा तेस्रो भइन् ।
छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो भए । उनले ५.९८ मिटर जम्प गरे । कोशीका नितेश गच्छदार दोस्रो तथा सुदूरपश्चिमका मोहन परियार तेस्रो भए । उक्त स्पर्धाको छात्रातर्फ ४.१७ मिटर जम्प गरेकी लुम्बिनीकी अनुजा थारू चौधरी पहिलो बनिन् । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो भइन् । एथ्लेटिक्सतर्फ पहिलो दिन छ स्वर्णका लागि प्रतिस्पर्धा भएकामा कर्णालीले दुई स्वर्ण जितेको छ । कोशी, गण्डकी, मधेस र लुम्बिनीले एक/एक स्वर्ण जितेका छन् ।

