जेरुसेलम, ८ जेठ/एएफपी
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीवार वाशिङ्टनको यहुदी सङ्ग्रहालयबाहिर ‘फ्री प्यालेस्टिन’ भन्दै हल्ला गर्ने बन्दूकधारीले दूतावासका दुई कर्मचारीको गोली हानी हत्या गरेपछि विश्वव्यापी इजरायली कूटनीतिक मिसनहरूमा सुरक्षा उपाय बढाउने आदेश दिएको बताएका छन् ।
“मैले विश्वभरका इजरायली मिसनहरूमा सुरक्षा व्यवस्था बढाउन र राज्यका प्रतिनिधिहरूको सुरक्षा बढाउन निर्देशन दिएको छु”–उनले भने–“हामी यहुदी विरोधी भावना र इजरायल राज्यविरुद्ध जङ्गली उक्साहटको भयानक रूप देखिरहेका छौं ।”
बुधवार राति वाशिङ्टनको केन्द्रमा रहेको क्यापिटल यहुदी सङ्ग्रहालयमा युवा पेशेवर र कूटनीतिक कर्मचारीहरूका लागि सामाजिक कार्यक्रम भइरहेको बेला सङ्ग्रहालय बाहिर गोली हानाहान भएको थियो ।
सामाजिक सञ्जालमा फैलिएको एक भिडियो क्लिपमा ज्याकेट र सेतो सर्ट लगाएका एकजना दाह्री भएका युवकलाई प्रहरीले लैजाँदा “फ्री, फ्री प्यालेस्टिन’ भनेर चिच्याएको देखाइएको छ ।
संयुक्त राज्य अमेरिकाका लागि इजरायली राजदूत येचिएल लेइटरका अनुसार पीडितहरू विवाह गर्ने योजना बनाएका एक युवा दम्पती थिए ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले घातक आक्रमणबाट आपूm स्तब्ध भएको तर दुई देश हाम्रा जनताको रक्षामा एकजुट हुने बताएका छन् ।
“इजरायली दूतावासका दुई युवा कर्मचारीको ज्यान लिएको यो घृणा, यहुदी विरोधको घृणित कार्य हो”–हर्जोगले भने–“अमेरिका र इजरायल हाम्रा जनता र हाम्रा साझा मूल्यहरूको रक्षामा एकजुट हुनेछन् । आतङ्क र घृणाले हामीलाई तोड्ने छैन ।”
विदेशमन्त्री गिडियोन सारले पनि आक्रमणबाट आफू डराएको भन्दै इजरायल आतङ्कका अगाडि नझुक्ने प्रतिज्ञा गरे ।
“विशेषगरी यस समयमा विश्वभरका इजरायली प्रतिनिधिहरूले निरन्तर उच्च जोखिमको सामना गरिरहेका छन्”–उनले भने–“हामी अमेरिकी अधिकारीहरूसँग निकट सम्पर्कमा छौं । इजरायल आतङ्कका सामु आत्मसमर्पण गर्ने छैन ।” रासस
