प्रस, वीरगंज, ८ जेठ/
नेपाल राष्ट्र बैंक वीरगंज शाखाले आर्थिक तथा बैंकिङ गतिविधिसम्बन्धी बैंक तथा वित्तीय संस्था र अन्य निकायका प्रतिनिधिहरूसँग छलफल गरेको छ । छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था तथा नेपाल राष्ट्र बैंकको भूमिका, उद्योगी–व्यवसायीहरूको नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूसँगको अपेक्षा, सुझाव र गुनासो तथा वाणिज्य बैंकहरूका मधेस प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरूले राखेका अपेक्षाका सम्बन्धमा व्यापक र विस्तृत छलफल गरिएको थियो ।
नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशील पौडेलले देशको अवस्था र राष्ट्र बैंकको समग्र भूमिकाका साथै नेपाल राष्ट्र बैंक, वीरगंजले गरिरहेको कार्यसम्पादनबारे जानकारी गराएका थिए । उनले वाणिज्य बैंकहरूका क्रियाकलाप र भूमिका समयसापेक्ष परिवर्तित हुनुपर्ने तथा निजी क्षेत्रको भूमिका पनि प्रवद्र्धनकारी हुनुपर्नेमा जोड दिए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले कार्यक्रमले बैंक र उद्योगपति, व्यवसायीहरूबीचको सम्बन्धलाई रेखाङ्कित गर्ने काम गरेको बताए । उनले मुलुकको वर्तमान आर्थिक तस्वीर त्यति सहज नभएकोतर्फ ध्यानाकर्षण गराउँदै बैंकिङ प्रणाली व्यवस्थित र निजी क्षेत्र मैत्री हुनुपर्नेमा जोड दिए । उनले वीउवासङ्घले उद्योगी–व्यवसायी र बैंकिङ क्षेत्रबीचका छुट्टाछुट्टै धारणालाई एउटै बास्केटमा राखेर समस्या समाधानका लागि साझा पहल गर्नुपर्नेतर्फ सङ्घले संस्थागत धारणा राख्दै आइरहेको जानकारी गराए ।
कार्यक्रममा वीउवासङ्घका पूर्वअध्यक्षद्वय अशोक बैद र अनिल अग्रवाल, वरिष्ठ उपाध्यक्ष माधव राजपाल, उपाध्यक्षद्वय मनोजकुमार दास र आशिषकुमार लाठ, महासचिव शिवजीप्रसाद साह, कोषाध्यक्ष अनोज रूँगटा, सचिव प्रेमचन्द्र गोयल, सहकोषाध्यक्ष नीरज अग्रवाल, प्रशासकीय अधिकृत मनोज उपाध्यायलगायतले वर्तमान बैंकिङ प्रणाली, उद्योग–व्यवसायको अवस्था, राष्ट्र बैंकद्वारा निरन्तर जारी भइरहने निर्देशिका र सोले पार्ने प्रभाव, चालू पूँजी कर्जा निर्देशिकालाई समयसापेक्ष परिवर्तित गरिनुपर्ने, राष्ट्र बैंक, वीरगंजको गुनासो सुनवाई डेस्क र अनुसन्धानका कार्यहरूलाई प्रभावकारीरूपमा अघि बढाउनुपर्नेलगायतका विषयहरूमा सुझावहरू प्रस्तुत गरेका थिए ।
उनीहरूले व्यापार–व्यवसाय सञ्चालनका क्रममा रकम बोकेका यात्रु तथा व्यापारीहरूलाई हुन्डीको कारोबारीको संज्ञा दिएर प्रहरी प्रशासनबाट दुःख दिने कार्य भइरहेको भन्दै नेपालको क्युआर भारतमा समेत चल्नुपर्ने र बैंकिङ सेक्टरमा क्युआरमार्फत रकम पठाउँदा १० रुपैयाँ काटने गरेको हुँदा त्यसतर्फ बैंकले ध्यान दिन जरुरी रहेको बताए ।


