प्रस, वीरगंज, १७ जेठ/
वीरगंज समाज सेवाद्वारा नारायणी अस्पतालमा सञ्चालित निश्शुल्क भोजन कार्यक्रम शनिवार पनि सम्पन्न भएको छ । वीरगंज समाज सेवाले अस्पतालमा विगत ५५ सातादेखि निश्शुल्क भोजन कार्यक्रम सञ्चालन गर्दै आएको वीरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले बताए ।
उनले प्रत्येक शनिवार अस्पतालमा निश्शुल्क भोजन गराउँदै आएको र अस्पतालमा बिरामीका कुरुवा, गरीब, निमुखा, दैनिक ज्यालादारी गर्ने मजदूरहरू गरी करीब पाँच सयजनाले भोजन गर्दै आएको बताए ।
मानवसेवाको उद्देश्यले युवाहरूको सक्रियतामा कार्यक्रम सञ्चालन गर्दै आएको र यसमा सबैले स्वेच्छाले सहयोग गर्दै आएको उनले बताए । कार्यक्रममा मनोजप्रसाद रौनियार, प्रकाश बाहेती, विनोद सर्राफ, मदनप्रसाद गुप्ता, राजु रूँगटा, वकीलप्रसाद रौनियार, रमेश अग्रवाल, वीरेन्द्रप्रसाद आर्या, हरेन्द्र प्रसाद, निशान्त लाठ, देवव्रत आर्या, राम बाबू, राधेश्याम गुप्तालगायतले सघाएका थिए । वीरगंजमा अस्पतालका साथै वीरगंज महानगर–६ का तीन स्थानमा निश्शुल्क भोजन कार्यक्रम हुँदै आएको छ । आदर्शनगर मेनरोडमा सद्भाव समितिले विगत सात वर्ष बढीदेखि निश्शुल्क भोजन गराउँदै आएको छ ।
समितिका अध्यक्ष रमेश जाटियाले सात वर्ष बढी समयदेखि प्रत्येक शनिवार पाँच सयजनाभन्दा बढी मानिसलाई भोजन गराउँदै अFएको बताए । यसैगरी, सोही वडाको रेशमकोठी गेटमा माँ अन्नपूर्ण निश्शुल्क भोजन र कुम्हालटोल सुधार समितिले मासिकरूपमा पहिलो र अन्तिम शनिवार निश्शुल्क भोजन गराउँदै आएका छन् । माँ अन्नपूर्ण निश्शुल्क भोजनले प्रत्येक महीना अन्तिम शनिवार र कुम्हालटोल सुधार समितिले महीनाको पहिलो शनिवार निश्शुल्क भोजन कार्यक्रम गर्दै आएको छ ।


