मस्को, २१ साउन/एएफपी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धमा नयाँ प्रतिबन्ध लगाउने समयसीमा नजीकिंदै गर्दा अमेरिकी राजदूत स्टिभ विटकफ बुधवार मस्को आइपुगेका छन् र उनले रूसी नेतृत्वसँग भेटघाट गर्ने सरकारी राज्य सञ्चार माध्यमले जनाएको छ ।
ट्रम्पले रूसलाई युक्रेनमा आक्रमण रोक्न वा नयाँ दण्डको सामना गर्न शुक्रवारसम्म समय दिएका छन् ।
ह्वाइट हाउसले शुक्रवार कुन विशेष कारबाही गर्ने स्पष्ट पारेको छैन, तर ट्रम्पले पहिले चीन र भारतजस्ता रूसका बाँकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै माध्यमिक भन्सार शुल्क लगाउने धम्की दिएका छन् ।
यो कदम रूसी निर्यात रोक्ने रणनीति हो, तर यसले महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अवरोधको जोखिम निम्त्याउने छ ।
मस्को आइपुगेपछि, विटकफलाई राष्ट्रपतिका विशेष प्रतिनिधि किरिल दिमित्रिभले स्वागत गरेको रूसी राज्य समाचार एजेन्सी तासले बताएको छ ।
कीभले तत्काल युद्धविरामको आह्वान गरिरहेको छ र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले गत हप्ता आफ्ना सहयोगीहरूलाई मस्कोमा शासन परिवर्तनका लागि दबाब दिन आग्रह गरेका छन् ।
ट्रम्पले हालैका हप्ताहरूमा पुटिनप्रति बढ्दो निराशा व्यक्त गरेका छन् ।
सोमवार पत्रकारहरूले विटकफको मस्कोलाई के सन्देश हुनेछ र प्रतिबन्धबाट जोगिन रूस केही गर्न सक्छ कि भनेर सोध्दा ट्रम्पले भने– “हो, एउटा सम्झौता गर्न सक्छ, जहाँ मानिस मारिन बन्द हुन्छन् ।”
युद्धविरामको आह्वान लगातार अस्वीकार गर्दै आएका पुटिनले शुक्रवार आफूले शान्ति चाहेको तर करीब साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने उनको माग अपरिवर्तित रहेको बताए ।
रूसले युक्रेनलाई मस्कोले कब्जा गरेको दाबी गर्ने चार क्षेत्रको नियन्त्रण प्रभावकारीरूपमा हस्तान्तरण गर्न बारम्बार आह्वान गरेको छ । उक्त मागलाई कीभले अस्वीकार्य भनेको छ ।
राष्ट्रपति पुटिन युक्रेनले नाटोमा सामेल हुने महत्त्वाकाङ्क्षा त्यागोस् भन्ने चाहन्छन् ।
रूसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवसँग अनलाइन विवादपछि ट्रम्पले दुईवटा आणविक पनडुब्बी अहिले यस क्षेत्रमा तैनाथ गरेको बताएपछि विटकफको भ्रमण भएको हो ।
ट्रम्पले आणविक शक्तिसम्पन्न वा आणविक हतियारसम्पन्न पनडुब्बीहरू हो भनेका छैनन् । यसलाई अमेरिकी सेनाले गोप्य राखेको छ ।रासस

