देश अन्योलग्रस्त छ । राजनैतिक अस्तव्यस्तताले निम्त्याएको अन्योल समाजको प्रत्येक क्षेत्रमा व्याप्त छ ।
देशमा कर्मचारीतन्त्र मात्र अहिले जिउँदो र सक्रिय देखिएको छ, लामो प्रजातान्त्रिक अभ्यासको ऊर्जा पाएर । आन्दोलनमा परिणत भएको जेनजीको प्रदर्शनले यथास्थितिमा रहेको राजनीतिक क्षेत्रमा एक्कासि हलचल ल्याइदिएपछि, शासनतन्त्रप्रति गुम्सिएर रहेको आक्रोश एकैपटक भेलको रूपमा बाहिर आइपुग्यो ।
यसले मानिसलाई अन्योलमा पा¥यो किन पनि भने, हिजोसम्म बलियो र स्थापित शासनतन्त्र भित्रबाट खोक्रो रहेको ज्ञात भयो । अन्यथा शासक–प्रशासकहरूले ‘जाबो’, ‘अबोध’ भनेको समूहले ल्याएको तरङ्गले ‘मैं हुँ’ भन्ने शासकहरूको दोहोलो काढ्ने थिएन । गलतले आपूmलाई जतिसुकै समर्थ ठाने पनि एउटा सानो हुरीले बढारिंदो रहेछ भन्ने यस प्रदर्शनले देखायो ।
एउटा स्थापित सत्ता नै ढल्न दुई दिन पनि लागेन । यो जेनजीको कर्म र सक्रियताको सफलता त हो नै, त्योभन्दा बढी लोकतन्त्रमा सकारात्मक विरोध, सशक्त प्रतिपक्ष्Fी, सजग पत्रकारिताको अभावले ल्याएको क्रियाशून्यता पनि जिम्मेवार देखिन्छ ।
भ्रष्टाचारलाई घरमा लागेको धमिरा भनिन्छ । हिजो सत्ताको मद र बलमा पात्तिएर कसले के गर्न सक्छ भन्ने दम्भीहरूले देशलाई कतिसम्म लुटेका रहेछन्, देशको स्वाभाविक पनि विकास किन भएन भनेर अब अनुसन्धान र खोज नगरे पनि सबैले जानकारी पाइसके ।
जति उच्च ओहदा, जति लोकप्रिय, जति सबल उसको त्यही मात्राको व्यभिचारको प्रतिफल आउनु नै थियो, आयोस एउटा सानो फिलिङ्गोले त्यो काम ग¥यो, जसका लागि दावानल नै चाहिन्छ भन्ने आकलन गरिएको थियो । भ्रष्टाचार र व्यभिचारले समाज र देशलाई मात्र होइन, बेला आएपछि त्यसको कर्तालाई पनि गाँज्छ भन्ने कुरा साबित भएको छ ।
सामाजिक सञ्जाल बन्द भएपछि, त्यसमा रत्तिएका, त्यसबाट रोजीरोटी पाइरहेका, ज्ञान–मनोरञ्जन हासिल गरिरहेका युवाहरूको पुस्तालाई ठूलो अत्तो पनि चाहिएको थिएन, कुरा त्यति मात्र थियो । त्यसमा मुद्दाहरू थपिंदै गएका हुन् । तर एउटा के कुराको हेक्का राख्नुपर्छ भने कुनै पनि आन्दोलन वा विरोध गर्नु सजिलो हुन्छ, त्यसको सफल अवतरण भने ज्यादै मुश्किल ।
नेपालमा जति पनि आन्दोलनहरू भए, सफल अवतरण कुनैको पनि हुन सकेन । अधूरो, अपरिपक्व बेलामा तुहिएका आन्दोलनहरूकै नतीजा हो कि यहाँ सालाखाला हरेक दशकमा कुनै न कुनै आन्दोलन भइरहन्छ ।
आन्दोलनलाई देशवासीको जागरुकताको लक्षण मान्न सकिन्छ, तर यसले देशको विकासमा तगारो मात्र लगाउँदैन, सम्पूर्ण मानवीय गतिविधिहरूमा भाँजो पनि हाल्छ ।
यो भूसमा आगोलाई जीवित राख्नुसरह हो । जुन माथिबाट हेर्दा निभेजस्तो देखिए पनि भित्रभित्रै सल्किरहेको हुन्छ । कसैलाई के कुरामा चित्त बुझेको हुँदैन, कसैलाई के कुरामा । अनि लिपपोत शैलीमा सबैको चित्त बुझाउने काम मात्र हुन्छ ।
किनकि अधूरो र अपरिपक्व आन्दोलनले नेता जन्माउन सक्दैन । नेता भनेको काकताली परेर सत्तामा पुग्ने व्यक्ति होइन, यो खारिएको, परिष्कृत सोच भएको, देशलाई नेतृत्व दिन सक्ने चरित्र हो ।
र निश्चय नै यस्तो नेतृत्वकर्ता लामो, स्वार्थरहित सङ्घर्षको ज्वालाबाट निस्केको हुनुपर्छ । प्रत्येक आन्दोलनमा यस्ता व्यक्तित्व नदेखिएका होइनन्, तर तिनमा सङ्घर्षको पूर्णता थिएन, देशलाई सामूहिक हितमा डो¥याउन सक्ने ल्याकत थिएन । देखिन्थे मात्र, सारमा थिएनन् ।
यस्तो नेतृत्वले जन्म नलिएसम्म यो देशले त्राण पाउने देखिन्न ।

