पर्सामा शतप्रतिशत मतदान, बारामा ढिलो मतदान शुरू

38

प्रस, वीरगंज, २५ चैत/
नेपाल पत्रकार महासङ्घको शाखा, प्रदेश र केन्द्रीय समितिको मतदान प्रक्रियामा कुनै जिल्लामा समयमैं मतदान भएको छ भने कुनै जिल्लामा ढिलो निर्वाचन शुरू भई साँझ ५ बजेपछि पनि मतदान भइरहेको छ।
नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा बिहान १० बजेदेखि शुरू भएको मतदान अपराह्न ४ बजे सकिएको थियो भने बारामा मध्याह्न १२ बजेपछि मतदान शुरू भएको थियो।
बारामा साढे ५ बजेसम्म करीब एक सयजनाले मतदान गरेको र २९ जना बाँकी रहेको बताइन्छ।
पर्सा शाखामा भएको निर्वाचनमा शतप्रतिशत मतदान भएको र साँझ ६ बजेपछि मतगणना शुरू भएको प्रमुख निर्वाचन अधिकृत जगदीशप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार आज अबेर राति नै जिल्ला, प्रदेश र केन्द्रीय समितिमा परेको सदर मतको बारेमा सूचना प्रकाशित गरी मतगणनाको नतीजा सार्वजनिक गरिने बताए।
बारामा साँझ ७ बजेसम्म मतदान हुने भएकोले मतगणना राति ढिलो शुरू हुनेछ।
नयाँ नेतृत्वको लागि नेपाल पत्रकार महासङ्घको केन्द्रीय, प्रदेश, जिल्ला शाखा, विभिन्न प्रतिष्ठान र एशोसिएटमा गरी १३ हजार १२२ सदस्यले एकै दिन मतदानमा सहभागी भएका छन्।
जिल्ला शाखा ७७, प्रतिष्ठान ४२, एशोसिएट ११, वैदेशिक शाखा ९, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन्। केन्द्रीय समिति ४९ सदस्यीय र प्रदेश २१ सदस्यीय रहेका छन्। जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्या अनुसार रहने व्यवस्था छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्