प्रशंसनीय बालक

54

फेसबूक ह्याक गरेको अभियोगमा पर्साका एक १४ वर्षीय बालक पक्राउ परेका छन्। उनले मुुलुकका सेलीब्रेटीहरूको फेसबूक ह्याक गरेको अभियोग छ। प्रहरीले नियन्त्रणमा लिएको बालकसँग साइबर क्राइमबारे अनुसन्धान चलिरहेको छ। अर्कोतर्फ काठमण्डौ, महाँकालका कक्षा ८ मा अध्ययनरत १४ वर्षीय अर्को बालक निश्चलले केही दिन पहिले भ्वाइस असिस्टेन्स टूल सफ्टवेयर ‘एप्स’ निर्माण गरेका छन्। अलिक पढेलेखेका र ठूलो उमेरकाहरूले त एप्सहरू बनाएर बिक्री पनि गरेका छन्। तर कलिलै उमेरमा निश्चलले भने अभूतपूर्व क्षमता प्रदर्शन गरेका हुन्। १४/१५ वर्ष उमेरमा नै बलात्कारको घटनामा संलग्न रहेका र बालसुधार गृहमा दिन कटाइरहेका बालकहरू पनि मुलुकमा छन्। सम्पन्न हुन् वा विपन्न, कतिपय बालबालिका नशामा लट्ठ छन्। उनीहरू अमली बनेका छन्। शिशु अवस्थादेखि युवावस्थासम्मको मानव जिन्दगी सिक्ने, नक्कल गर्ने तथा अनुसरण गर्नै तत्परताको हुन्छ। यो उमेरका बालबालिकाले पाएको शिक्षा, सङ्गत, अवसर तथा अनुकूलता अनुसार र ऊप्रति अरूले गर्ने व्यवहार अनुसार चरित्र निर्माण हुँदै जान्छ।
हाम्रो मुलुक सूचना प्रविधिको क्षेत्रमा निकै पछि छ। सामुदायिक विद्यालयमा कम्प्युटर विषयको शिक्षक छैन। विद्यार्थीको लागि विद्यालयलाई उपलब्ध कम्प्युटरहरू कबाडमा परिणत भइरहेका छन् भने कतिपय स्थानमा मुसाले घर बनाएको छ। निजी विद्यालय एवं निजी उच्च विद्यालयमा कम्प्युटर शिक्षा सर्वसाधारणको पहुँचभन्दा महँगो छ। हाम्रा बालबालिकाहरूले पनि अनुकूल वातावरण पाएमा अति विकसित मुलुकका बालबालिकाभन्दा कमजोर छैनन्। फेसबूक ह्याक गर्ने बालक र एप्स बनाउने बालकले सो कुरालाई साबित गरिदिएका छन्। सर्वसाधारणले भन्दा पनि राज्य संयन्त्रले यो कुरा बुझ्नुपर्ने हो। फेसबूक ह्याक गर्ने बालक दण्डको भागीदार नभई पुरस्कारको भागीदार हो। सरकारी सेवा सुविधाविना नै प्रस्फुटित उनको क्षमताको कदर, सम्मान गर्दै बढावा दिनुपर्छ। यो अपराध होइन, सूचना साम्राज्यमा हाम्रो पनि जबरजस्त पहुँचको सुरुआत हो। फेसबूक ह्याकिङ र अरूको पकेट मार्ने चोरीको काम एकै होइनन्। फेसबूक तथा सामाजिक सञ्जाल आफैंमा महत्वपूर्ण र संवेदनशील कुरा हुन्। यसलाई भरपर्दो उपायहरू अपनाएर सुरक्षित राख्नुपर्छ भन्ने पाठ पनि यसले सिकाएको छ।
कमजोरी पत्ता लगाइदिनु प्रशंसनीय कार्य हो। प्रणालीमा कुनै न कुनै कमजोरी भएकै कारण फेसबूक ह्याक भयो। फिनल्यान्डमा १० वर्षीय एक बालकले इन्स्टाग्राम ह्याक गरेबापत १० हजार डलर पुरस्कार पाए। उनले इन्स्टाग्राममा भएको सुरक्षा कमजोरी पत्ता लगाएर ह्याक गरेका थिए। फेसबूकले इन्स्टाग्राममा फेला परेको कमजोरीलाई तुरुन्तै सुधार ग–योे। फेसबूकले यस्ता अनलाइन सुरक्षा त्रुटि पत्ता लगाइदिनेहरूलाई ‘बग बाउन्टी’ पुरस्कार दिने गरेको छ। नेपाली साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेलले पनि फेसबूकको कमजोरी पत्ता लगाएर फेसबूकबाट १२ लाख रुपैयाँ पुरस्कार पाए। यस्ता धेरै उदाहरण छन्। सामाजिक सञ्जाल ह्याक गरेर उसले कुन प्रयोजनमा प्रयोग गरे ? त्यो मुख्य कुरा हो। फेरि पनि हाम्रो मुलुकको सन्दर्भमा एउटा बालकले यतिसम्म क्षमता राख्दछ भने त्यो प्रशंसनीय कुरा हो। त्यस्ता प्रतिभाहरूलाई सकारात्मक सोचका साथ कदर गर्ने हो भने फाइदा नै बढी छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्