धुम्मिएको प्रदूषित आकाशमा मडारिएको खतराको बादल

42

सञ्जय साह मित्र

अहिले प्रदूषणको कहर छ। प्रदूषणको कारणले नेपाल चर्चामा छ। प्रदूषणले सर्वसाधारणको स्वास्थ्यलाई कतिको गम्भीर असर पारिरहेको छ भन्ने विषयमा खासै अध्ययन भएको पाइएको छैन। प्रदूषणबाट कसरी जोगिने भन्ने विषयमा पनि सर्वसाधारण सचेत रहेको पाइँदैन। प्रदूषणमा निरन्तर काम गर्नेलाई केही पनि भएको छैन भन्ने नकारात्मक उदाहरण दिएर कतिपयले प्रदूषणप्रति आफू अचेत रहँदै त्यस्तै अचेत हुने किसिमको मनोवैज्ञानिक सन्देश दिन्छन्। केही यस्ता उदाहरण दिन्छन्, जसले गर्दा प्रदूषण हाम्रो दैनिकी हो र यसले हामीलाई केही पनि गर्दैन भन्ने किसिमको मनोविज्ञानलाई बल दिन पुग्दछ। सर्वसाधारणलाई अझ लापरवाह हुन वा अचेत भई काम गर्न नै ठीक छ भन्ने किसिमका भावात्मक प्रस्तुति हुन पुगेको देखिन्छ कतिपयबाट।
– फलानो मानिस इँटा उद्योगमा विगत दश वर्षदेखि इँटा ओसार्ने काम गरिरहेका छन्। उनी भट्टीबाट इँटा निकाल्ने र लोड गर्ने काम पनि गर्दै आएका छन्। उनलाई केही पनि भएको पाइँदैन। उनीजस्ता अरू पनि छन्, खै तिनीहरूलाई केही भएको ? जबकि तिनीहरूको नाक–मुखबाट दिनको दश–बा–ह घण्टा इँटाको धूलो गइरहन्छ।
– फलानो त ट्याक्टर चलाएको कैयौं वर्ष भइसकेको छ। ट्याक्टरमा जहिले पनि धूलोमा काम गर्नुपर्छ। कहिल्यै मास्क लगाउँदैन, नाक–मुख छोप्दैन तर उसलाई अहिलेसम्म केही पनि भएको छैन।
– हाम्रो गाउँमा रहेको चिरान मिल र कुटानीपिसानी मिलमा काम गर्ने मिस्त्री र मजदूरहरू दशकौंदेखि काम गरिरहेका छन्। हरेक दिन काम गर्दाको समयभर उही धूलोमा काम गर्नुपर्छ तर उनीहरू अहिलेसम्म स्वस्थ छन्। केही पनि भएको छैन।
यस प्रकारका उदाहरणहरू दिएर कतिपयले सर्वसाधारणलाई प्रदूषण भन्ने कुरो केही पनि होइन र यो शिक्षित कर्मचारीले देखाउने एउटा भ्रम मात्र हो भन्ने गरेका छन्। हामी गाउँघरका मानिसको ‘इम्युनिटी पावर’ यति धेरै रहेको छ कि यस्ता धूलो र प्रदूषणलाई पचाउँछ। केही पनि हुँदैन। जो सधैं धूलो र धूवाँमा नै काम गरिरहेका छन्, उसलाई यस्ता धूलो र धूवाँले केही पनि हुँदैन। साधारण गरीब किसान र मजदूरलाई यसरी धूलोले केही बिगार्न थाल्यो भने यो संसारमा काम गर्ने मानिस कोही पनि हुँदैन। सबै बिग्रेर जान्छ। साधारण गरीब र मजदूरहरूलाई धूलो सजिलै पच्छ र धूलो, धूवाँबाट केही दिन अलग राख्ने हो भने ऊ बिरामी पर्छ। धूलो, धूवाँ त गरीब मजदूरहरूको जीवन हो।
यस प्रकारका तर्कहरू दिनेहरूले गरीब किसान तथा मजदूरमाथि दया देखाएको वा सहानुभूति देखाएको मात्र हो। के वास्तवमा जो दिनरात कैयौं वर्षसम्म विना कुनै सावधानी धूलो र धूवाँमा काम गरिरहेका छन्, तिनलाई केही पनि भएको छैन त ? हो, हरेक व्यक्ति आफैंमा विशिष्ट छ भन्ने कुरो सत्य हो। कतिपयमा कतिपय कुरा पचाउने क्षमता जन्मजात नै बढी हुन्छ तर शरीरको संरचना त सबैको एउटै हो। ढिलो र चाँडो स्वास्थ्यमाथि हानि त गर्छ नै। देखिन चाहिं कहिले देखिन्छ भन्ने हो। अथवा कोही अपवाद हुन सक्छन्। यस कुरालाई मान्न नसकिने होइन तर धूलो र धूवाँले कसैलाई पनि असर गर्दैन भन्ने होइन। हानि गरेको हुन्छ। धूलो र धूवाँको हानि हुन सक्छ। तत्काल नदेखियोस् तर अन्ततः प्रभाव पर्ने उसैलाई हो।धूलो र धूवाँप्रति संवेदनशील नहुँदा अहिलेको अवस्था आएको हो। अहिले हाम्रो आकाशमा धूलो र धूवाँको साम्राज्य यतिधेरै देखिएको छ कि पूरा वातावरण नै प्रदूषित भएको भनिएको छ। विश्वका सबैभन्दा प्रदूषित शहरमा नेपालको नाम आउन थालेको छ। कहिले कुन शहर त कहिले कुन शहरलाई विश्वकै प्रदूषित शहरको उपमा दिन थालिएको छ, प्रदूषणसम्बन्धी आधिकारिक जानकारी दिने संस्थाहरूले पनि नेपालमा बढेको प्रदूषणको बारेमा चिन्ता जाहेर गर्न थालेका छन्। देशको आकाशमा तुँवालो नै त लागेको छैन तर तुँवालोजस्तै धूलो र धूवाँले आकाश भरिएको छ। आकाश किन सफा छैन भने केही दिनदेखि साँच्चै घामजस्तो घाम हुँदैन र जूनजस्तो जून पनि हुँदैन। घाम पनि मधुरो हुन्छ र जून पनि मधुरो हुन्छ। यतिधेरै मधुरो घाम यस महीनामा सर्वसाधारणले कहिले देख्न र भोग्न पाएका थिए ? आकाशमा प्रदूषण कहिलेकाहीं कतिसम्म भइदिइरहेको छ कि हवाईजहाजको उडान र अवतरण पनि प्रभावित बन्न पुगिरहेको छ। देशको राजधानी काठमाडौंको आकाशमा यस्तो समस्या धेरैपटक देखापरिसकेको छ यसै महीनामा।
आकाश त सफा छैन नै। वायु प्रदूषित भइसकेको छ। यस सँगसँगै फेरि अर्को महामारीको कालो बादल नेपाली आकाशमाथि मडारिन थालेको छ। छिमेकमा विद्यालयहरू बन्द गरिसके। कोरोनाको पहिलो लहरमा एक लाख सम्भवतः भारतमा एकै दिनमा सङ्क्रमित देखिएको थिएन तर अहिलेको लहरमा एक लाखभन्दा बढी मानिस एकै दिन सङ्क्रमित भएको भारतीय सञ्चारमाध्यमले नै देखाइसकेका छन्। भारतमा कोरोनाको सङ्क्रमणले विस्तार पाइरहँदा नेपालमा पनि त्रास बढेको छ। नेपाल र भारतको सिमाना खुल्ला भएको कारण त्रास बढेको हो तर सतर्कता बढेको पाइएको छैन। नेपालीहरू खासै सर्तक रहेको पाइएको छैन। हुनत भारतीय टेलिभिजन च्यानलहरूले पनि भारतमा कोरोनाको कहर चलिरहँदा पनि सर्वसाधारणमा खासै सतर्कता नदेखिएको बताइरहेका छन्। नेपालसित सिमाना जोडिएका कतिपय भारतीय शहर जहाँ सर्वसाधारणको पहुँच आवागमनमा भइरहेको छ, त्यहाँ पनि कोरोनाको कारणले कुनै थप सावधानी अपनाइएको खासै नपाइएको भारत गएर आउनेहरूले बताउने गरेका छन्। कोरोनाको भारतमा देखिएको विस्तारले नेपाल सरकारले पनि सतर्कता अपनाउनुपर्ने भन्न थालेको छ। नेपालसित सिमाना जोडिएका बिहार र उत्तर प्रदेशमा सम्भवतः विद्यालयहरू बन्द गरिएका छन् तर सिमाना जोडिएको नेपालमा भने निर्बाध चलेका छन् विद्यालयहरू। नेपालमा पनि विद्यालय बन्द गरिनुपर्छ भनेको होइन तर विद्यालयमा अहिलेको अवस्थामा अपनाइनुपर्ने कुनै सतर्कता र सावधानी अपनाइएको देखिएको छैन।
गत वर्ष यतिबेलासम्म देशमा लकडाउन रहेको थियो। गत वर्षको समयभन्दा अहिलेको समय केही फरक अवश्य रहेको छ। समय बदलिएको छ। कोरोनाको बारेमा धेरै कुरा मानिसले थाहा पाइसकेका छन्। यस कारण अझ बढी सचेत हुनुपर्ने हो। सरकारले लकडाउन नगरोस् भन्ना खातिर सतर्कता र सचेतना अपनाउनुपर्ने हो। विद्यालयमा विद्यार्थी र शिक्षकले पनि कोरोना भाइरस सङ्क्रमण नहोओस् भनेर न्यूनतम मापदण्ड पूरा गर्नुपर्ने हो। बजारमा निस्कँदा पनि सर्वसाधारणले व्यक्तिगत दूरी अपनाउनुपर्ने र मास्कको प्रयोग गर्नुपर्ने हो। मास्कले कोरोनाबाट बचाउँछ नै भन्ने होइन तर धेरै हदसम्म सुरक्षा त गर्छ। अहिलेको अवस्थामा जब पूरा वातावरण नै प्रदूषित भएको छ, तब त मास्कले केही हदसम्म भएपनि फोक्सोलाई शुद्ध हावा लिन सहयोग पनि गर्दछ। गत वर्ष वातावरण यति सफा थियो कि तराई–मधेसका गाउँबाट हिमाल सजिलै देखिन्थ्यो तर यस वर्ष वातावरणीय प्रदूषण बढेको र कोरोनाको सङ्क्रमणको भयावहता पनि कायमै रहेको हुनाले सम्भव भएसम्म हरेकले सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ। हाम्रो वास्तविकता यो पनि छ कि हाम्रा स्वास्थ्य पूर्वाधारहरू त्यति बनिसकेका छैनन् र हामी नेपालीको क्षमता पनि धेरै महँगो उपचार गराउने रहेको छैन।
यस अर्थमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेकै सावधानी अपनाउनु हो। सावधानी अपनाएर हामीले आफूलाई बचाउनु छ र अरूलाई पनि यो सन्देश दिनु छ कि सावधानी नअपनाउँदा वा लापरवाही गर्दा भयङ्कर परिणाम निस्कन सक्छ।
यदि सावधानी अपनाइएन भने नेपाली आकाशमा पनि कोरोनाको खतराको कालो बादल देखा पर्न सक्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्