५ धुरलाई किर्ते गरी सवा कट्ठा बनाइयो, मालपोत कार्यालयमा लेखनदासको दादागिरी

118

राधेश्याम पटेल, परवानीपुर, २२ चैत/
देशमैं सबैभन्दा भद्रगोल सरकारी कार्यालयको रूपमा भूमिसुधार तथा मालपोत कार्यालय पर्सा वीरगंजलाई लिइन्छ। यहाँ दैनिकरूपमा श्रेस्ता किर्ते र सरकारी कागजात किर्ते गरी कर्मचारीकै मिलेमतोमा जे पनि गर्न सकिन्छ भन्ने पछिल्ला केही घटनाक्रमले पुष्टि गरेको छ। अर्काको करोडौं मूल्यको जग्गा किर्ते गरी अर्कैले बिक्री गरेको सङ्गठित किर्ते तथा ठगी आरोपमा सो कार्यालयका पूर्वप्रमुख सुमनकुमार झा अहिले वीरगंज कारागारमा थुनामा छन्। उनीलाई धरौटीमा रिहा गर्न रु एक करोड र कम्प्युटर अपरेटरसँग रु ५० लाख धरौटी माग गरिएकोमा बुझाउन नसक्दा दुवैजना थुनामा बस्न बाध्य छन्।
यसैबीच, अर्काे घटनाले मालपोत कार्यालय पर्साको व्यवस्थापन तथा सञ्चालनमा प्रश्नचिह्न खडा गरेको छ। वीरगंज महानगरभित्रको एउटा जग्गाको कागजातमा किर्ते भएको रहस्य खुलेको छ। वीरगंज महानगरपालिका–१६ इनर्वास्थित ५ धुर जग्गाको लालपुर्जालाई किर्ते गरी १ कट्ठा ५ धुर क्षेत्रफलको बनाइ बिक्री गरिएको रहस्य खुलेको छ।
वीरगंज–१० स्थित अशोकवाटिकामा बस्ने राजेशकुमार विश्वकर्माले किनेको साबिक छपकैया–बी ६ कित्ता नं ६५८ को ५ धुर जग्गाको लालपुर्जामा किर्ते गरी शून्यलाई तल धर्का तानी एक बनाएर त्यही जग्गालाई १ कट्ठा ५ धुर बनाइ वीरगंज–१८ सुखचैनाटोल निवासी मदनप्रसाद कलवारलाई बिक्री गरेको तथ्य फेला परेको हो। साबिक बारा जिल्लाको बुनियाद गाविस–९ निवासी योगेन्द्रप्रसाद यादवकी पत्नी फूलमती देवीसँग २०५६ वैशाख ६ गते विश्वकर्माले किनेको उक्त ५ धुर जग्गालाई १ कट्ठा ५ धुर बनाइ मालपोत कार्यालय पर्सामा २०६१ चैत १९ गते वीरगंज महानगरपालिका–१८ बस्ने मदनप्रसाद कलवारलाई बिक्री गरी उनको नाममा श्रेस्ता कायम गराएका छन्।सो जग्गा मदनप्रसाद कलवारले बिक्री वितरण गर्नको लागि श्रेस्ता कायम गर्दा साबिकको जग्गा भिडाउन भनी मालपोत कार्यालय पर्सालाई लेखेपछि उक्त घटना बाहिर आएको हो। विश्वकर्माले उक्त कित्ताको जग्गा आफ्नो नाममा कायम गराउँदा ५ धुर नै रहेको तर बिक्री गर्दा १ कट्ठा ५ धुर जग्गा बनाएर बिक्री गरेको पुष्टि भएको छ। त्यसअघि विश्वकर्माले फूलमती देवीसँग जग्गा किन्दा पनि लालपुर्जामा ५ धुर नै जग्गा लेखिएको थियो। त्यस्तै, फूलमती देवीले पनि वीरगंज महानगरपालिका–१६ इनर्वा बस्ने बलरामप्रसाद यादवसँग २०५५ जेठ २७ गते सो जग्गा किन्दा लालपुर्जामा ५ धुर नै लेखिएको थियो।
तर विश्वकर्माले सजिलै कमाउने लोभमा बीचको शून्यलाई धर्का तानेर एक बनाइ १ कट्ठा ५ धुर जग्गा बनाएर कलवारलाई बिक्री गरेको देखिन्छ। विश्वकर्माले आफ्नो लालपुर्जामा मात्रै नभई मालपोत कार्यालयका कर्मचारीहरू प्रभावमा पारी श्रेस्तामा समेत किर्ते गरेका छन्। सम्पूर्ण जग्गाको रेकर्ड सुरक्षित राख्ने मालपोत कार्यालयको श्रेस्तामा पनि शून्यलाई किर्ते गरेर एक बनाइएको प्रस्ट देख्न सकिन्छ। यस कार्यमा विश्वकर्मा एक्लै मात्रै नभई तत्कालीन केही कर्मचारीको मिलेमतोमा श्रेस्तामाथि नै किर्ते गरिएकोले मालपोत कार्यालयको कार्यशैली शङ्काको घेरामा परेको छ।
मदनप्रसाद कलवारको नाममा जग्गा पास हुँदा लेखतपत्रमा बारा, विश्रामपुर बस्ने रामेश्वरप्रसाद र पर्सा, वीरगंज महानगरपालिका बस्ने पीताम्बर प्रसादले साक्षीमा हस्ताक्षर गरेका थिए। उनीहरूको वडा र थर खुलाइएको छैन। मालपोत कार्यालय स्रोतका अनुसार लेखनदासहरूको दादागिरीका कारण उनीहरू मालपोतको मोठ फाँटमा पसेर मनपरी किसिमले श्रेस्ताको मोठ हेर्ने, किर्ते गर्ने, च्यात्ने जस्ता कार्य गर्ने गरेका छन्।
यस विषयमा भूमिसुधार तथा मालपोत कार्यलय पर्साका निमित्त प्रमुख कमोद तिवारीले धेरै पहिलेको घटना भए तापनि सो विषयमा छानबिन गरी दोषी पत्ता लगाइ कारबाईको लागि सिफारिश गर्ने बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्