लभ इन वीरगंज

97

समीर पाख्रिन

समय : बिहानको नौ बजेको छ।
स्थान : वीरगंजको नयाँ बसपार्क।
(हवल्दारका ज्वाइँ सरोज हेटौंडाबाट आएको माइक्रोबाट ओर्लन्छ र सँगै ओर्लेका अर्का एकजना कर्मचारी जस्तो देखिने व्यक्तिसित कुरा गर्छन्)
व्यक्ति १ : सरोजजी, जाऔं न त मेरो क्वार्टरमा। खानपिन गरेर जानुहोला भन्सारतिर।
सरोज : जानु त हुन्थ्यो तर मेरो त खाना ससुरालीमा पाकिसकेको होला कमलजी।
व्यक्ति १ : बुद्धि पु–याएर बिहे गर्नुभएको रहेछ। बेला–बेलामा अफिसको कामले वीरगंज आइरहनुपर्ने मान्छेलाई ससुराली नै वीरगंज भएपछि त गजब भइगयो नि। घरमा साली पनि छ कि ?
सरोज : त्यही साली भएकोले त डयुटी मिलाएर वीरगंजतिर आइरहन्छु नि कमलजी। (दुवैजना केही क्षण हाँस्छन् र हात मिलाएर बिदा हुन्छन्)
दृश्य– ४
समय : उही। स्थान : इमानसिंह हवल्दारको डेरा।
सुशीला केही हतारिएकी जस्तो देखिन्छे। हवल्दार मासु लिएर अझै आइनपुगेको कारण सुशीला पटक–पटक बाहिरतिर हेर्दै)
सुशीला : एई उषा, मासु लिन गएको तेरो बाबा त आइपुगेनन् त ? तेरो भिनाज्यू, आइपुग्ने बेला भइसक्यो।
(हवल्दार आइपुग्छ) जाबो एक किलो मासु किनेर ल्याउन कति समय लगाउनुभएको ? अलिक चाँडो आउनुपर्दैन ? धनियापत्ता, मूला ल्याउनुभयो ?
इमानसिंह : ल्याएँ–ल्याएँ। मासुपसलमा ज्यादै भीड रहेछ आज। धन्न साहुले चिनेको भएर चाँडो भयो।
सुशीला : चिनेर मात्र के गर्नु ? कहिलेकाहीं एक/दुई किलो मासु लगेर खानोस् हवल्दार साप भन्दैन क्या रे।
(यताउता नजर दौडाएपछि) मसला पिस्ला भनेकी त यो केटी फेरि कता गई हँ ?
(उषालाई सोफामा बसेर मोबाइलमा मग्न देखेपछि हातैबाट मोबाइल खोस्दै) ए, तँ त मोबाइल पो खेलाएर बसेकी छेस् ?
(खोसेर खल्तीमा हाल्दै) भिनाज्यू खाना खान आउँछन् भनेकी होइन मैले ? भान्सामा आएर खुरुक्क मसला पिस्छेस् कि पिस्दैनस् ?
उषा : टिकटकमा कति मज्जा आइरहेको थियो, खोसी हाली नि बोक्सी बूढीले।
इमानसिंह : मसला होइन पहिला चिया पका। मलाई आज चियाको धीतै मरेको छैन। रङ अलिक कडा राखेर बना है।
उषा : (चिया पकाउन पानी बसाएर लाइटर बाल्दा चुल्हो बल्दैन। फेरि दुई/चार चोटि लाइटर बाल्दासमेत नबलेपछि आत्तिदै) ममी, चुल्हो त बलेन। ग्यास सकिएको जस्तो छ।
सुशीला : के भन्छे यो केटी ? खोइ लाइटर यता दे। (चुलो बाल्ने कोशिश गर्छ तर बल्दैन) ला यत्ति नै बेला ग्यास पनि सकिएछ। अब के गर्ने होला ?
इमानसिंह : के ग्यास सकियो अरे ? लौ मा–यो १ अब के गर्ने होला ?
सुशीला : कस्तो के गर्ने भन्नुभएको ? लिएर आउने नि।
इमानसिंह : ग्यास ल्याउनलाई पैसा हुनुपरेन ? मसंँग त अढाई सय रुपैयाँ मात्र बचेको छ।
उषा : खायो भिनाज्यूले मासु भात ससुरालीमा।
सुशीला : जानुहोस् न सिलिन्डर लिएर राजकुमारको पसलमा। तलब आएपछि पैसा दिन्छु भनेर एक सिलिन्डर ग्यास लिएर आउनोस्।
इमानसिंह : देला र उधारो बिहान–बिहानै ?
सुशीला : एकचोटि पुगेर भन्दैमा के बिग्रन्छ र ?
इमानसिंह : उषा, सिलिन्डर उठाएर साइकलमा राख् त।
उषा : साइकल त आरतीले अस्पताल लगेर गएकी छे।
सुशीला : के आरतीले लगेकी छे अरे ?
उषा : हो।
इमानसिंह : राम्रो गरिस्। आजै यो ज्वाइँ पनि आउनुपर्ने, ग्यास पनि सकिनुपर्ने। अब के हेरेर बसेकी उषा तँ ? एकापट्टि सिलिन्डर उठा। रिक्सामा नै भएपनि लग्न परिहाल्छ नि। बल्ल–बल्ल आउने ज्वाइँ सापलाई खाना नखुवाइ पठाउने त कुरै भएन नि।
(रित्तो सिलिन्डर बुबा–छोरीले दुईतिर झुन्डयाएर कोठाबाट प्रस्थान गर्छन्)
दृश्य – ५
समय : उही।
स्थान : घण्टाघरको पत्रिकापसल।
(इमानसिंहको ज्वाइँ सरोज पत्रिकापसलअगाडि उभिएर केही पत्रिकाका हेड लाइनहरू सरसर्ती हेरेपछि, एक प्रति प्रतीक दैनिक किनेर श्रीपुरतिर लाग्छ)
सरोज : (स्वयंसित) डल्लीले नयाँ डेरा भारतीय दूतावासपछाडि भनेको जस्तो लागेको थियो। एकचोटि उषालाई फोन गर्नुप–यो। (उषाको नम्बरमा कल गर्दै) हलो, साली नानी हो ? म भिनाज्यू। नयाँ डेरा दूतावासपछाडि भनेको होइन ?
उषा : ए, भिनाज्यू दर्शन है। हुनु त हो भिनाज्यू तर अहिले त हामी सबैजना अस्पतालमा पो छौ त। अचानक घरबेटी बाको सुगर बढेकोले ममी–बाबा र म त अस्पतालमा छौं।
सरोज : ए हे १ त्यसो भए म के गरूँ त ?
उषा : भिनाज्यू, अब हजूर अफिसको कामले आउनुभएको होला। आफ्नो काम सकेर बेलुकी यतै आउनुभए भै हाल्छ नि। हामी पनि त्यति बेलासम्म घर आइपुग्छौं।
सरोज : ल ल। भ्याएछु भने म बेलुकीतिर निस्कौंला राखें। धत्तेरिका १ अघि रमेशजीले क्वार्टरमा खाना खान जाऊ भन्नुभएको थियो, जानुपर्ने रहेछ। अब होटलमा भात खाएर भन्सारतिर लाग्नुप–यो। (घण्टाघरतिरै फर्कन्छ)
दृश्य – ६
समय : उही। स्थान : हवल्दारको डेरा।
सुशीला र हवल्दार तनावमा देखिन्छन्। उषा हाँस्दै प्रवेश गर्छिन्।
सुशीला : आमाबाबालाई भने कत्रो टेन्शन छ। यसलाई चाहिं हाँस्नुपरेको हेर न।
उषा : न हाँसेर के गर्ने त ? बल्ल–बल्ल आउनु भएको हजूरहरूको ज्वाइँ साहेब बाटैबाट फर्किएपछि।
सुशीला : ज्वाइँ साप बाटैबाट फर्कनुभयो रे ? किन ?
उषा : मलाई कल गर्नुभएको थियो। घरबेटी बाको सुगर बढेकोले हामी सबैजना अस्पतालमा छौं भनिदिएँ। शायद काम सकेर बेलुकी चाहिं बरु आउनुहुन्छ होला।
इमानसिंह : ठीकै गरिस्। नत्र त आपतै परिहाल्ने थियो नि। तिमीहरू आमाछोरी जेसुकै गर म चाहिं डयुटीतिर हिंडे।
उषा : बाबा, खोइ सय रुपैयाँ दिनोस्। म पनि क्याम्पस जाँदा उतैतिर नास्ता गर्छु। क्रमश:

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्