नवप्रज्ञापन : राजधानीमा बाँचेको मोसफलको साहित्य

50

सञ्जय मित्र

मोफसलमा साहित्यिक पत्रकारिताका जन्मदाता निस्सन्देह श्यामप्रसाद शर्मा हुन्। देशको विशिष्ट प्रगतिवादी साहित्यकार शर्माले वीरगंजबाट साहित्यिक पत्रिकाको प्रकाशन प्रारम्भ गरेका हुन्। साहित्यिक पत्रकारितामा रुचि लिनेले वीरगंजलाई यस कारण पनि सम्मान गर्दछन् कि वीरगंजले साहित्यिक पत्रकारिताको प्रारम्भ गरेको थियो। वीरगंजको भूमिबाट साहित्यिक पत्रकारिताको सुगन्ध आसपासको वातावरणमा यसरी फैलिएको छ कि साहित्यिक पत्रकारिता निरन्तर उम्रिरहेको छ। साहित्यिक पत्रकारिताको क्षेत्रमा निरन्तर नयाँ इतिहास सिर्जना भइरहेको यस क्षेत्रमा लामो समयसम्म प्रकाशन भएको पत्रिकामध्ये एक हो, नवप्रज्ञापन। बारा जिल्लामा दर्ता भएर झन्डै तीन दशकदेखि प्रकाशन भइरहेको नवप्रज्ञापनले पछिल्ला केही दशकदेखि देशको राजधानी काठमाडौंबाट प्रकाशन हुन थालेको छ। यो काठमाडौंबाट प्रकाशन भइरहेको छ भन्नुको तात्पर्य यहाँ काठमाडौंमा मुद्रित भइरहेको छ भन्नु हो। पत्रिकाको व्यवस्थापनसम्बन्धी कार्य काठमाडौंमा बसेर भइरहेको छ।
बाराका नवराज रिजाल यसका प्रकाशक तथा सम्पादक हुन्। उनकै सम्पूर्ण व्यवस्थापनमा नवप्रज्ञापन पत्रिका निरन्तर प्रकाशनरत छ। पत्रिकाले आधुनिक प्रविधिको प्रयोग गरेर साहित्यिक पत्रिकाको दौडमा आफूलाई अग्रस्थानमा सुरक्षित राख्न सकेको छ। पत्रिकाको यो सफलता हो कि अब जहाँ नेपालमा साहित्यिक पत्रिका वा साहित्यिक पत्रकारिताको चर्चा हुन्छ, त्यहाँ नवप्रज्ञापनको सन्दर्भ जोडिएन भने त्यो अपूरो हुन्छ। साहित्यिक पत्रकारिताको सन्दर्भमा नवप्रज्ञापनको सङ्घर्ष आफैंमा एउटा इतिहास रहेको छ। यसका प्रकाशक–सम्पादक रिजालले गरिरहेको निरन्तर सन्तुलित संयोजनको पारितोषिक यही हो कि यस पत्रिकाको सम्मान नेपाली साहित्यको पत्रकारिताको वर्तमानमा जोडिएको छ।
आजको परिवेशमा देशको प्रख्यात साहित्यिक पत्रिकाको रूपमा स्थापित बन्न पुगेको नवप्रज्ञापन त्रैमासिक राजधानी काठमाडौंमा मोफसलको शान हो। काठमाडौंमैं जन्मेर हुर्केका दर्जनौं साहित्यिक पत्रिकाभन्दा बाराबाट राजधानीमा सम्मानजनक स्थान गर्दै बिस्तारै शीर्ष सम्मानतिर अग्रसर भएको छ। यो चानचुने उपलब्धि होइन।
पत्रकारितामा सम्मान पाउन दुई कुरा महत्वपूर्ण हुन्छन्– निरन्तरता र स्तरीयता। नवप्रज्ञापन निरन्तर प्रकाशन भइरहेको छ समयमैं। निरन्तर प्रकाशन भइरहेकाले यो पत्रिका प्रकाशन हुन्छ भन्ने दृढ मनोवैज्ञानिक विश्वास सर्जकहरूमा परेको छ। यसले गर्दा कुनै विधाको रचना लेखिसकेपछि यस पत्रिकालाई दिनुपर्छ भन्ने पर्न जान्छ वा कतिपय अवस्थामा नवप्रज्ञापन साहित्यिक त्रैमासिकलाई रचना नदिएको धेरै भइसक्यो भनेर पनि सर्जकहरूले लेख्ने गर्दछन्।
स्तरीयतालाई नवप्रज्ञापनले निर्वाह गर्दै आएको छ। यहाँसम्म कि रचना पठाउनुपूर्व नै कसैले अलिक स्तर पुगेकोजस्तो लाग्दैन भन्दछन् भने सम्पादक रिजालबाट स्पष्ट शब्दमा भनिन्छ– उसो भए नपठाउनुस्, पछि राम्रो पठाउनुहोला। यसले पत्रिकामा आउने रचना स्तरीय हुनुपर्दछ र प्रकाशित रचनामा पनि स्तरीयता हुनुपर्दछ भन्ने मनोविज्ञान सम्पादकको रहेको बुझ्न सकिन्छ। स्तरीयता निर्वहनमा सम्झौता नगरिरहेको नवप्रज्ञापनका प्रकाशित अड्ढहरूले प्रमाणित गरेका छन्।निरन्तरता र स्तरीयताकै कारण मोफसलको एउटा साहित्यिक पत्रिकाले राजधानीमा आफ्नो छाप र प्रभाव छोड्न सकेको छ। राजधानीको सम्मान प्राप्त गर्न सकेको छ। यस पत्रिकाले नेपाल सरकारबाट पनि सम्मान र पुरस्कार प्राप्त गर्न सकेको छ।
मोफसल भन्नेबित्तिकै कतिपयले नाक खुम्च्याउने गरेका छन्। तिनीहरूका लागि बलियो झापड बन्न पुगेको छ, नवप्रज्ञापन। मोफसलको हो भनेर यसलाई नपढ्नेले यसप्रति उही पुरातन मानसिकता र मनोविज्ञानले हेयताको भाव राख्न सक्लान् तर यसको पठन र अध्ययन गर्नेले भने खुला हृदयका साथ यसलाई मोफसलीय साहित्यिक पत्रकारिताको स्तरीय रूप पाउन सक्छन्। मनोविज्ञानमा परिवर्तन भएको पाउन सक्छन्।
यस पत्रिकाको एउटा मुख्य प्रभाव भनेको मोफसलका सर्जकलाई राजधानीमा परिचित गराउनु हो। यस पत्रिकामा स्तरीय रचना प्रकाशित हुन थालेपछि मोफसलका कतिपय पत्रिकाले स्वाभाविकरूपमा ती सर्जकसित रचनाको माग गरी आफूले स्तरीय ठानेका आफ्नो साहित्यिक पत्रिकामा ससम्मान स्थान दिने गरेका छन्। मोसफलका सर्जकको रचना आफूलाई राजधानीको भन्ने वा ठान्ने साहित्यिक पत्रिकाले मागेर प्रकाशित गर्नु यस नवप्रज्ञापनको खोज, आविष्कार वा अनुसन्धान हो। यो नवप्रज्ञापनको सफलता हो। यसमाथि नवप्रज्ञापनले आत्मगौरवको अनुभूति गर्नुपर्दछ।
नवप्रज्ञापनलाई रचनाको कहिल्यै कमी भएन। स्तरीय रचना नवप्रज्ञापनमा प्रकाशनार्थ पर्याप्त छन्। यसै कारणले हो यो पत्रिका नियमितरूपमा समयमैं प्रकाशन हुन सकेको छ। यस पत्रिकाको एउटा विशिष्ट पक्ष यो पनि हो कि यसले विशेष अड्ढहरू प्रकाशन गर्ने गरेको छ। झन्डै हरेक वर्ष विधागत वा अन्य किसिमले साहित्यिक विशेष अड्ढ निकाल्ने गरेको नवप्रज्ञापनका विशेषाड्ढहरू नाम मात्रका विशेषाड्ढ हुँदैनन्। विधागत पहिचान, विधागत मूल्य–मान्यतामा प्रतिबद्ध रहेर नवप्रज्ञापनले प्रकाशित गरेका विशेषाड्ढहरू चर्चित र सम्मानित हुने गरेका छन्।
अहिले गजल अड्ढको तयारी भएको छ। ९१औं अड्ढ प्रकाशित भइसकेको यस साहित्यिक पत्रिकामा देश सङ्घीयतामा गइसकेपछि देशमैं सम्भवत: पहिलोचोटि प्रदेशस्तरमा कुनै विशेषाड्ढ प्रकाशित गर्न लागेको हो। अझ भाषा, साहित्य, कला र संस्कृतिको सेवामा निकै पछाडि परेको मानिएको प्रदेश २ को लागि नवप्रज्ञापनले गजल विशेषाड्ढको तयारी गर्नु आफैंमा सम्मानयोग्य विशेष कार्य हो।
नवप्रज्ञापन नेपाली साहित्यको स्थापित पत्रिका हो। नेपालीय साहित्यिक पत्रकारितामा यसको विशिष्ट स्थान बन्न पुगेको छ। यस दृष्टिकोणले नेपाली भाषाको साहित्योत्थानमा यस पत्रिकाको विशेष योगदान र सम्मान छ तर यस पत्रिकाले मोफसलीय धर्म निर्वाहलाई जति प्राथमिकता दिएको छ, सोहीसँगै देशभित्रका अन्य भाषाभाषीको साहित्यलाई पनि सगर्व उच्च सम्मान दिएको देखिन्छ। नेपालभित्र बोलिने विभिन्न भाषाका स्तरीय साहित्यलाई यसले हरेक अड्ढमा स्थान दिने गरेको छ, पछिल्ला केही वर्षदेखि। यद्यपि भोजपुरी भाषालाई मात्र यसले प्राथमिकता दिएको र भोजपुरीलाई स्थापित गर्न अन्य मातृभाषाका एकाध रचनालाई स्थान दिने गरेको भन्ने आरोप यस पत्रिकामाथि लाग्ने गरेको छ तर यसले अन्य स्थानीय भाषाका स्तरीय रचनालाई खोजी–खोजी स्थान दिएको यथार्थ हो। जुन भाषाका साहित्यकार बढी सक्रिय हुन्छन्, त्यस भाषाले बढी स्थान पाउनु स्वाभाविक हो।
नेपाली साहित्य भन्नु नेपालको साहित्य हो। नेपाली भाषाको साहित्य भन्नु नेपालभित्र र नेपालबाहिर विश्वभरिमा लेखिने नेपाली भाषाको साहित्य हो र नेपाली साहित्यमा नेपालभित्रका सबै मातृभाषाका साहित्य समेटिनुपर्दछ भन्ने सुन्दर व्यावहारिक दृष्टान्त नवप्रज्ञापनले पस्किंदै आएको छ। यस दृष्टिकोणले नवप्रज्ञापन वास्तविक नेपाली साहित्यिक पत्रिका हो। यस सम्मानपूर्ण गौरवमय पाइलालाई निरन्तरता दिन सबैको सकारात्मक सहयोगको आवश्यकता रहन्छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्