कुपुत्र हुनुभन्दा निस्सन्तान भएकै बेस

44

वैधनाथ ठाकुर

यतिबेला नेपाली राजनीतिले ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भन्ने उखान चरितार्थ गरेको छ। न्यायपालिकाले आफ्नो पक्षमा फैसला सुनाउँदा लड्डु बाँड्नेहरू त्यही न्यापालिकाको अर्को फैसला आफ्नो पक्षमा नहुँदा अप्रत्यक्षरूपमा विरोध गरिरहेका छन्। अदालतको फैसलाबाट ब्यूँतेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनरावलोकनको लागि अदालतमा निवेदनसमेत दर्ता गराएका थिए तर उक्त निवेदन अदालतद्वारा खारेज भएपछि नेपाली राजनीतिमा थप अन्योलता देखिएको छ। प्रत्येक दिन सामाजिक सञ्जालमा केपी ओलीको सरकारलाई निकम्मा बताइरहने माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छैन। प्रधानमन्त्रीको विकल्प खोज्ने तर विकल्प दिन नसक्ने, वर्तमान सरकारको तीव्र आलोचना तथा विरोध गर्ने तर केपी ओलीपछि को प्रधानमन्त्री बन्ने भन्दा कसैलाई अगाडि सार्न नसक्ने तहमा पुगेको वर्तमान राजनीतिले जनतामा सकारात्मक सन्देशभन्दा पनि नकारात्मक सन्देश नै प्रवाह गरिरहेको छ।
हिजोसम्म माधव नेपाल, भीम रावल, प्रचण्डलगायतले केपी ओलीलाई सत्तोसरोप गर्ने गरेको तर यतिबेला ६ महीनाको लागि नेकपा एमालेको साधारण सदस्यतासमेतबाट निलम्बन गरिसकेपछि ‘कुप्री बूढीलाई न उठी सुख न बसी सुख’ जस्तै हुन पुगेको छ। माधव नेपाल, भीम रावल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेताहरूको राजनीतिक भविष्य अब के हुने भन्ने प्रश्नको उत्तरमा जीरो हुने सड्ढेत छ भन्ने यथार्थतालाई नकार्न मिल्दैन।
एकचोटि गाउँभरिको मायाको पात्र एक युवकको सर्पले डसेर मृत्यु भएछ। डस्न पनि सर्पले ठीक आँखाको अलिकति तल मात्रै डसेको रहेछ। उक्त युवक हेर्नमा जति स्मार्ट थियो, त्योभन्दा बढी समाजसेवी, सहयोगी, मधुरबोली, मेहनती, स्वावलम्बी आदि सर्वगुण सम्पन्न थियो। यही कारण हो, जसले गर्दा उसको मृत्युमा पूरै गाउँ स्तब्ध थियो। गाउँका ठूलाबडा बुजुर्ग बुद्धिजीवीहरू लाश जलाउँदै गर्दा मसानघाटको चौतारीमा बसेर बहस गर्दै थिए। एउटाले भन्यो– त्यो मरेर गाउँलाई अपूरणीय क्षति भयो। अर्कोले भन्यो– त्यतिको सेवाभाव भएका मेहनती र स्वावलम्बी मान्छे हामी फेरि कहिले पाउने हो कुन्नि ? तेस्रोले भन्यो– हैन सर्प पनि कस्तो है ठीक आँखाभन्दा अलिकति मात्रै तल डसेको रहेछ। थोरै मात्रै माथि डसेको भए आँखा नै खत्तम भएर जीवनभर अन्धो हुनुपथ्र्यो। सबैले हो त नि भनेर बुद्धिजीवीको कुरोमा समर्थन जनाए।
यतिबेला हाम्रो देशमा यस्तै कथाको जस्तो बहस चलिरहेको छ। संसारको उत्कृष्ट संविधान भनेर त्यस्तो संविधानलाई भनियो, जसको घोषणा गर्दैगर्दा दर्जनौं नागरिकको छाती सरकारी गोलीले छेडेको थियो। संविधान घोषणा हुँदा केहीले दीपावली गरे भने केहीले घर–घरमा बत्ती निभाएर कालो दिवस मनाए। आखिर जे भएपनि संविधान जारी भएपछि जनताले के पायो त ? संविधानकै कारण देशमा सातजना मुख्यमन्त्री र दर्जनौं मन्त्री बन्न पाए नेताहरू तर तिनै नेताहरूले जनताको लागि के गरे त ? अर्थात् रोजगार, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युत्, सडक, यातायात आदिका क्षेत्रमा विगत १३/१४ वर्षमा के के प्रगति भयो ? यो कुरा साँचो हो कि थुप्रै यस्ता नेता देखिए, जसको गाउँमा राम्रो घर थिएन, उनीहरूले राजधानीमा ठूलो महल तयार गरे। तर त्यसबाट जनताले के पायो त ? जनता यतिबेला कोरोनाको मारमा फसेको छ। पहिलो खोप नै अझै लिन पाएको छैन। पहिलो खोप लिएकाहरू दोस्रो खोप पाउँछ कि पाउँदैन, त्यसैको अन्योलमा छन् तर नेताहरू प्रधानमन्त्री र मन्त्री को को बन्ने झगडामा विगत दुई वर्षदेखि लागिपरेका छन्। वास्तवमा जसरी गाउँको त्यो सुन्दर विवेकशील, समाजसेवी केटा मरिसकेको थियो। त्यसको लाश आगोले खाँदै थियो तर बुद्धिजीवीहरू सर्पले अलि माथि डसेको भए आँखा नै अन्धो हुने थियो भन्ने विषयको बहसमा लीन थिए। ठीक त्यसैगरी वर्तमानको संसदीय व्यवस्थामा चाहे नेपाली काङ्ग्रेस होस् वा विभिन्न नामधारी कम्युनिस्ट पार्टीहरू तिनीहरू आफैंले बनाएको पार्टीको विधान, उद्देश्य, नीति, कार्यक्रम आदिलाई दशकौं पहिले पोलेर खाइसके। देशको ढुकुटी तिमी मात्रै होइन, म पनि खान पाउनुप–यो भन्ने झगडामा लागेका नैतिकता मूल्य र मान्यता शून्य भइसकेका नेताहरूमाझ जनता र कार्यकर्ताहरू विभिन्न गुट, उपगुटमा विभक्त भई फलानो नेता देशभक्त, क्रान्तिकारी तथा विकासप्रेमी हुन्, बाँकी सबै प्रतिक्रियावादी, भ्रष्टाचारी, फटाहा, एकदमै काम नलाग्ने हुन् भनेर प्रचारप्रसार गरिरहेको देख्छौं।
खासगरी काङ्ग्रेस पार्टी र नेताभित्र प्रजातन्त्रको ‘प’ पनि देखिंदैन। त्यसैगरी, कम्युनिस्ट पार्टीभित्र तथा तिनका नेताभित्र कम्युनिस्टको ‘क’ पनि चरित्रगतरूपमा देखिंदैन। यी पार्टीहरूमा चुनावको लागि बढी पैसा खर्च गर्न सक्ने र जित्न सक्ने उम्मेदवारहरू मात्र प्राथमिकतामा रहेका छन्। यस्तोमा आम जनताको पक्षधर नेता समाप्त हुनु स्वाभाविक नै हो। यिनलाई मन पर्ने अर्थात् यिनको स्वार्थ पूरा गर्ने मानिस माफिया नै भएपनि ऊ एक नम्बर क्रान्तिकारी र विकासप्रेमी नेता भइहाल्छ तर यिनको स्वार्थविरुद्ध बोल्ने वा यिनका स्वार्थसिद्ध हुन नसक्ने व्यक्ति जतिसुकै पुरानो, त्यागी, बलिदानी कार्यकर्ता भएपनि ऊ काम नलाग्ने श्रेणीमा पर्ने गरेको छ।
जेहोस्, निकट भविष्यमा कम्युनिस्ट नामक भूत गाउँघरबाट भाग्नेछ। नेताहरूको आफ्नै चरित्र, चिन्तन र शैलीले कम्युनिस्टको नाम सुन्न सुनाउन लायक रहला जस्तो लाग्दैन। तथाकथित कम्युनिस्टहरूले एकअर्कालाई सखाप पार्न कुनै कसर बाँकी नराख्ने देख्दा यसमा देशी–विदेशी प्रतिक्रियावादी, दलाल पूँजीवादको ठूलो चलखेल रहेको कुरा सजिलै बुझ्न सकिन्छ। यस्तो धुन्धकारी कम्युनिस्टहरू हुनुभन्दा नभएकै बेस हो। नेपालीमा एउटा उखान छ– ‘पुत्र कुपुत्र हुनुभन्दा निस्सन्तान भएकै बेस।’

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्