आर्थिक विकास मात्र समृद्धि हो त ?

33

विश्वराज अधिकारी

अब आउने बीस–पच्चीस वर्षमा नेपालमा जीरा, धनिया, बेसार, ज्वानो, मरिच, ल्वाङ मेथीजस्ता खाद्य वस्तुहरूको उत्पादन बन्द हुनेछ। यी वस्तुहरू भारतबाट आयात गर्न त सकिने छ तर अहिलेको भन्दा दोब्बर, तेब्बर, चौबर महँगो हुनेछ। अथवा सामान्य आय हुने व्यक्तिले खरीद गर्न कठिन हुने किसिमले महँगो हुनेछ। यस्तै स्थिति तरकारीको रूपमा प्रयोग गरिने घिरौला, झिगुनी, सिमी, सोइजन, करैला, परवल, आदिको पनि हुनेछ। क्रमिकरूपमा यी तरकारी लोप भएर जानेछन्।
के कारणले उपरोक्त वस्तुहरूको उत्पादन बन्द हुनेछ ? कारण के हो भने ती वस्तु उत्पादन गर्न उत्पादन लागत अति पर्ने र उत्पादकहरूलाई ती वस्तु उत्पादन गरेर बजारमा बिक्री गर्दा थोरै लाभ प्राप्त हुने हुँदा उनीहरू बढी लाभ प्राप्त हुने वस्तु उत्पादन गर्नेतिर लाग्नेछन्। र उपरोक्त किसिमका खाद्य वस्तुको उत्पादन बन्द गर्नेछन्। हुन त भारतमा पनि ती वस्तुको उत्पादन कालान्तरमा बन्द हुने सम्भावना छ, तर भारतको कृषि नेपालको भन्दा निकै विकसित भएकोले त्यस्ता वस्तुहरू अझै केही वर्षसम्म उत्पादन हुने तर तिनको मूल्य भने अति चर्को हुनेछ।
अब नेपाली कृषकहरूले थोरै जमीन लिएर धेरै फल्ने, कम समयमा धेरै ठूलो आकार र परिमाणमा फल्ने, कम लागतमा धेरै फल्ने एवं कम परिश्रममा धेरै फल्ने तरकारी, फलफूल, खाद्यान्न आदि उत्पादन गर्नेछन्। र यस्तै स्थिति भारतमा पनि हुनेछ। अर्थात् अब कृषकहरूले कम जमीन लिएर बढी फल्ने जस्तै बन्दा कोभी, फूलकोभी, फर्सी, भन्टा जस्ता तरकारी उत्पादन गर्नेछन्। यी तरकारी आकार र तौल दुवै अधिक भएका हुन्छन्। त्यसैले यस्ता तरकारी बिक्री गर्दा उत्पादक एवं बिक्रेतालाई बढी नाफा हुन्छ। त्यसकारण अब परवल, झिगुनी, बोडी, करैलाजस्ता धेरै जग्गा लिएर थोरै फल्ने, कम वजन हुने तरकारी उत्पादन गर्ने छैनन्।
अब बजारमा उपभोक्ताहरूको स्वास्थ्यलाई फाइदा पु–याउने खाद्यान्न, फलफूल, तरकारीभन्दा उत्पादक (कृषक) हरूलाई अत्यधिक फाइदा हुने खाद्यान्न, फलफूल, तरकारी आदि बिक्री हुनेछन्। त्यसकारण उत्पादकहरूको मुख्य उद्देश्य स्वस्थकर वस्तुको उत्पादनभन्दा बढी नाफा दिने वस्तु उत्पादन गर्नु हुनेछ। अब बजारमा परम्परागतरूपमा उपभोक्ताहरूलाई फाइदा हुने स्वस्थकर वस्तुको बिक्री ज्यादै कम, थोरै समयमा उत्पादकलाई बढी नाफा हुने तरकारी, फलफूल एवं खाद्य वस्तु बिक्री हुनेछ। यस किसिमका वस्तु बिक्री गरेर उत्पादकले राम्रो आम्दानी प्राप्त गर्न सक्नेछ, उनीहरूको आर्थिक स्थितिमा चमत्कारी परिवर्तन आउने छ। तर यस किसिमबाट आएको यस्तो परिवर्तन के जनहितमा हुनेछ ? यस किसिमको आर्थिक विकास (कृषकहरूले थोरै लगानी गरेर धेरै लाभ प्राप्त गर्न सक्ने स्थिति) ले समाजमा के समृद्धि ल्याउने छ ?अब उत्पादकहरूले कस्ता खाद्य वस्तु, फलफूल, तरकारी उत्पादन गर्ने भन्ने कुराको निर्धारण उपभोक्ताहरूको हित र रुचि अनुसार नभएर उत्पादकहरूले प्राप्त गर्न सक्ने नाफाको स्थितिले गर्नेछ। अब बजारलाई नाफाले नियन्त्रण गर्नेछ। यसरी बजार केवल नाफाद्वारा नियन्त्रित वा परिचालित हुनेछ। बजारको काम उपभोक्ताहरूलाई असल वस्तु उपलब्ध गराउनुको सट्टा बिक्रेता एवं उत्पादकहरूलाई बढी नाफा हुने वस्तु बिक्री गर्नुहुनेछ। अर्थात बजार उपभोक्ता होइन, बिक्रेता एवं उत्पादकमुखी हुनेछ।
आर्थिक विकास गर्ने सन्दर्भमा बजारलाई उत्पादक एवं बिक्रेतामुखी बनाउनु के राम्रो कुरा हो ? यस्तो स्थितिले समाजमा के समृद्धि ल्याउने छ ? मानव सभ्यता सुरक्षति रहने छ ?
आर्थिक विकासका लगि हामी अनेक अनेक कार्य गरिरहेका छौं। तर ती कार्यहरूले हाम्रो जीवनमा के सकारात्मक प्रभाव परेको छ ? यो महत्वपूर्ण प्रश्न हो। यो प्रश्नको सही उत्तर खोज्नु अत्यावश्यक छ।
बाली सुनिश्चित पार्न, उत्पादन वृद्धि गर्न, कम खर्च गरेर धेरे मुनाफा प्राप्त गर्न कृषकहरूले कृषि बालीमा ठूलो मात्रामा कीटनाशक औषधि प्रयोग गरिरहेका छन्। बढी लाभ प्राप्त गर्ने लोभमा उत्पादक (कृषक)हरूले बालीमा ठूलो परिमाणमा कीटनाशक औषधि, कृषि मल एवं अन्य रासायनिक वस्तु प्रयोग गर्दा उपभोक्ताहरूको स्वास्थ्यमा ठूलो समस्या देखिने निश्चित छ। उपभोक्ताहरूलाई अनेक गम्भीर रोग लाग्ने निश्चित छ। तर पनि हामी कीटनाशक औषधी मिसाइएको तरकारी आर्थिक विकासको नाममा खान तयार छौं। आर्थिक फाइदाको नाममा खान विवश छौं।
बढी नाफा प्राप्त गर्न कृषि बालीहरूमा कीटनाशक औषधी प्रयोग गर्ने कार्य जारि नै रहने छ। हामी कीटनाशक औषधी मिसाइएको खानेकुरा खान बाध्य भइ नै रहने छौं। आर्थिक विकासको नाममा हामीले विभिन्न किसिमका जोखिम वहन गरि नै रहनुपर्नेछ। अहिलेको आर्थिक विकासको सिद्धान्तले यिनै कुरा बताइरहेकोजस्तो लाग्दछ।
आर्थिक विकासको नाममा, बढी लाभ प्राप्त गर्ने उद्देश्यका साथ अहिले उत्पादकहरूले ठूलो परिमाणमा लैपटप, सेलफोन (मोबाइल फोन), आइपैड, नोटपैड आदि बजारमा ल्याइरहेका छन्। बजारमा यी वस्तुहरूको माग पनि ठूलो परिमाणमा छ। वयस्कहरूले यस्ता सामग्री प्रयोग गर्नु त उचित छ तर आजभोलि यस्ता वस्तु बालबालिकहरूले उपयोग गर्न थालेका छन्। यहाँसम्म कि शिशुहरू पनि यस्ता साधन उपयोग गर्न थालेका छन्। बालबालिकाहरूले सेलफोन, आइपैड, नोटपैडलाई खेलौना जस्तो चलाइरहेका छन्। सामान्य किसिमको खेलौना खेलेर बालपनको आनन्द लिनु पर्ने ठाउँमा बालबालिकहरू अहिले अति बौद्धिक (सेलफोन, नोटपैड, आइपैड) वस्तुसँग खेलिरहेका छन्। यस किसिमका वस्तुसँग खेल्ने बालबालिकाहरूको बौद्धिक विकास कस्तो होला सोचनीय कुरा हुन आएको छ।
बालबालिकाहरूले खेल्ने सामान्य किसिमका खेलौनाहरूको उत्पादन कम भएको छ। खेलौनामात्र बिक्री गर्ने भण्डारको रूपमा प्रसिद्धि पाएका पसलहरू धमाधम बन्द हुँदैछन्। अर्कोतिर सेलफोन, आइपैड, नोटपैड आदिको बिक्रीमा व्यापक वृद्धि आएको छ।
खेलौनाको बिक्रीमा कम तर सेलफोन, आइपैड आदिको बिक्रीमा ठूलो आम्दानी हुने भएकोले उत्पादकहरूले खेलौना होइन सेलफोन, आइपैड उत्पादन गरिरहेका छन्। बिक्रेताहरूले पनि यस्तै वस्तुको बिक्रीबाट बढी लाभ प्राप्त गरिरहेका छन्। सामान्य खेलौनाहरूको उत्पादन र बिक्री दुवैमा ह्रास आएको छ। कस्तो बिडम्वना १ जुन कुरा (सामान्य खेलौना) ले बालबालिकाको बौद्धिक विकास हुन्छ त्यसको उत्पादन र बिक्री क्रमिकरूपमा घटिरहेको छ तर जुन कुराले बालाबालिकको बौद्धिक विकासमा प्रतिकूल असर पार्छ त्यसको बिक्रीमा व्यापक वृद्धि भइरहेको छ।
हाम्रो व्यवहार, सोच, चिन्तन आदिलाई बजारले अति नै प्रभावित गरिरहेको छ। बजारलाई आर्थिक विकासको चिन्तनले, नाफा एवं लाभले, अति प्रभावित गरिरहेको छ। आर्थिक विकासको हाम्रो यो चाहनाले के साँच्चीकै हाम्रो आर्थिक विकास भइहरेको छ त ? के हामीले सहीमा समृद्धि प्राप्त गरिरहेका छौं ? वा हामी आफ्नै क्रियाकलापद्वारा ठगिइरहेका छौं ?
आर्थिक विकासको नाममा भइरहेका यस्ता क्रियाकलापले हामीलाई समृद्धिको दिशातर्फ लगिरहेको छैन।
के समृद्धि भनेको केवल भौतिक सुख मात्र हो ? के अनेक नयाँनयाँ वस्तु उपभोग गरेर मात्र समृद्धि प्राप्त गर्न सकिन्छ ?
समृद्धि भनेको सन्तोष पनि हो। सन्तोष त गर्नैपर्छ।
कुन परिमाणमा र कति सङ्ख्यामा नयाँनयाँ वस्तु एवं सेवा प्रयोग गर्ने त ? के आर्थिक विकास भनेको मानव सभ्यतालाई प्रतिकूल पार्ने वस्तुहरूको जानाजानी उपयोग गर्नु मात्र हो त ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्