फेरिंदो छ होलीको बोली

118

सञ्जय मित्र

अब फगुवा हराइसक्यो। साँच्चै सडक, गाउँ वा सरेह कतै पनि फगुवा अब बाँकी रहेको छैन। अहिलेका प्रौढ पुस्ताले फगुवा त बुझ्छन् तर नवपुस्ताले फगुवालाई बुझ्दैनन्। शब्दको अर्थ त बुझाएपछि बुझ्लान् तर फगुवाको भाव भने लोप भइसक्यो नवयुवा पुस्ताबाट।
रौतहटको गेडहीगुठीका ७५ वर्षीय अच्छेलाल साहलाई होली थाहा छैन, कसैले होली भने पनि उहाँ अनुवाद गरेर होरी नै बुझ्नुहुन्छ। होली त बच्चाहरूले तोते बोलीमा भन्ने होरी हो।
हुन पनि होली अब गीतमा सीमित भइसक्यो। होलीको महत्व अब एक/दुई दिन खूब खाने पिउने र रमाउनेमा यसरी सीमित भइसक्यो कि फगुवाको अनन्त सीमालाई भेटाउने कल्पनै गर्न सक्दैन।
विभिन्न सञ्चारमाध्यममा आएका होलिका दहनको प्रसङ्ग त नवयुवाहरूले सजिलै बुझ्छन् तर गाउँमा समत फुकाइको बारेमा बुुझ्न बिर्सेका छन्। समत कहिले र किन फुकिन्छ वा जलाइन्छ भन्ने विषयमा अज्ञानता बढ्दै गएको होइन अपितु बिरानो बन्दै गएको अवस्था छ।
चार दशकभन्दा बढी उमेरका प्रौढहरूले अझै पनि सिरपचई (श्रीपञ्चमी)को दिनदेखि नै फगुवा आउँछ भन्ने मान्यता राख्दछन्। फागुन महीना शुरू हुन अझै कम्तीमा दश दिन बाँकी छँदै कसरी फगुवा शुरू हुन्छ ? यस विषयमा मिडिया र डिजेमुखी बनेको होली मौन छ। फगुवाको संस्कृति हराएको होलीको राज चल्दैछ, जसमा फगुवा शासित र दमित बन्दै गएको छ, हराउँदै गएको छ वा शहर तथा काँठहरूमा आफ्नो अवशेषको खोजी गर्दैछ, सेतै कपाल फुलेका संस्कृतिप्रति केही जागरूक उदास ज्येष्ठ नागरिकहरूमा।
सिरपचईपछि जसको घरमा पनि कुनै कुटुम्ब (पाहुना) पुग्दा पनि फर्किने बेलामा तिनको जीउमा रङ हालिएकै हुन्थ्यो। अझ जिस्किने नातामा भएको कुटुम्ब त पूरै नुहाएकै हुन्थे। बढी मात्रा रातो रङ नै चल्ने हो तर यो अनिवार्य चाहिं थिएन। अरू महीनामा पनि रङ सम्पूर्णतः वर्जित त थिएन तर अन्य महीनामा कुटुम्बको जीउमा रङ हाल्दा सुन्नुपथ्र्यो– यो फागुन हो ?
रङ हाल्नु वा हालिनु एउटा सम्मान वा गर्वको विषय पनि हुन्थ्यो। मानिन्थ्यो। आत्मीयता र सद्भावको गरिमा फगुवाले पाएको हुन्थ्यो।
जोगिरा सरररर, जोगिरा। जोगिरा सरररर, जोगिरा। अहिले उत्तेजना वा उमङ्गको प्रकटीकरण भएको छ। केही नवयुवा आफूमा रमाइलो गर्न उत्साहित वा उत्तेजित वा मादक पदार्थ सेवन गरेपछि केही भन्न नपाएर वा नसकेर होलीप्रति निकाल्ने समर्थनसूचक र वास्तवमा आत्मसमर्पणसूचक शब्दावलीमा सीमित हुन पुगेका छन्। लाग्छ, यो बेजान भइसक्यो। यसको निर्जीव प्रयोग भइरहेको छ। समूहमा स्वाभाविक फगुवा गायन लोप भइसक्यो, डम्फू र झिरको तालमा फगुवा गीत उत्कर्षतिर पुग्दा झुमेर भनिने जोगिरा सरररर अब सुन्न असम्भव बन्दै गएको छ। कृत्रिम वा प्रायोजित जोगिरा सररररले बजार खाइसक्यो।फगुवाको दुर्दशा किन हुन पुग्यो ? फगुवाको व्यवसायीकरण हुन सकेन।
होलीको व्यवसायीकरण भएको छ केही हदसम्म। होलीका गीतहरू बनेका छन्। धेरै भिडियो विभिन्न माध्यममा पाइन्छन् तर फगुवाको व्यवसायीकरण हुन सकेन। लोकसंस्कृतिप्रति लोकजीवनलाई जानीजानी वा नियोजित तरीकाले प्रहार गर्ने हाम्रो प्रणालीमैं खोट छ। आफ्नोपनप्रति प्रेम गर्न सिकाएनौं, सिकेनौं। जहिले पनि अरूको प्रति आकर्षित हुने हाम्रो फलामे मनलाई बाह्य चुम्बकले तानिरह्यो र तानिनुमा गर्वानुभूति प्रदर्शन गरिरह्यौं। जो बढी तानियो, जो छिटो तानियो र
जो सजिलै तानियो, उनीहरू समाजमा चर्चित बने। समाजले छिटै चिन्यो र सम्मान पनि दियो। आफ्नो ठाउँमा आफ्नै समाजलाई वा सामाजिक सम्पत्तिलाई अगाडि बढाउन योगदान दिनेहरू कुनामा थन्किए। खोइ फगुवा वा होलीका विशिष्ट कलाकारहरूलाई कसैले कतै सम्मानित गरिएको सुनिएको छ ?
गर्वका साथ भन्न पछाडि पर्दैनौं कि होली हाम्रो दोस्रो ठूलो पर्व हो। छठपछि होलीलाई नै प्रधान संस्कृति मान्दछौं तर होलीको संरक्षण गर्न सक्यौं ? छठको विस्तार र विश्वव्यापी हुन गयो किनभने यो आस्थासित जोडिएको छ। फगुवाप्रतिको आस्था किन कमजोर ? छठमा आत्मीयता हुने, हार्दिकता हुने तर फगुवामा उत्तेजना वा आत्मसमर्पण किन ? किन हाम्रो समाजले फगुवाका वास्तविक सांस्कृतिक गायक, वादक, नृत्यकर्ता वा स्वाभाविक अभिनयकर्ताहरूको संरक्षण गर्न सकेन?
सङ्घीयतामा देश गएपछि स्थानीय संस्कृतिको संरक्षणमा विशिष्ट योगदान पुग्ने विश्वास गरिएको थियो तर स्थानीय संस्कृतिको संरक्षणमा स्थानीय सरकारको दृष्टिकोण कतै सकारात्मक रहेको देखिएन व्यवहारमा। एकाध विशिष्ट संस्कृतिलाई प्रचारमुखी बनाउने काम भने भएको छ तर समग्रमा स्थानीय सरकारको उपेक्षाले स्थानीय संस्कृतिको मौलिकता मृत्युवरण गरिरहेको वर्तमानमा स्थानीय सरकार मलामी जान बाजागाजाको व्यवस्था गर्दै उत्सव निर्माणमा मस्त देखिन्छ। संस्कृतिको बजारीकरण गर्ने, वास्तविक अर्थमा संरक्षण गर्ने तथा मौलिकता हराउन नदिन केही ठोस नीति, योजना तथा कार्यक्रम बनाएर लागू गरिएको कुनै उदाहरण दिउँसै बत्ती बालेर खोज्दा पनि पाउन मुश्किल भइसकेको छ।
फगुवालाई मादकताको पर्व पहिले किन भनियो भने वसन्त ऋतुमा होलीको राग, यसको शृङ्गारिकता तथा रङ्ग विशिष्ट भोजनको संयोजन आफैंमा अनुपम थियो। मानवजीवनलाई यसले अन्य सामान्य दिनभन्दा विशिष्ट मादकता प्रदान गर्दथ्यो तर बिस्तारै मादकताले मद्यपानसित नाता जोड्न थाल्यो र फगुवाको आत्मा, आत्मसम्मान तथा मौलिकताको चिरहरण गर्दै त्यसैलाई दहन गर्दै होलिका दहन गर्न थाल्यो। फगुवाको संवेदनशीलता, गरिमा र उत्कर्ष अब बूढापाकाहरूको स्मृतिमा पनि धूमिल बन्दै गएको छ र सडकलाई छेकेर डिजेले होलीले अश्लीलता छरिरहेको छ। अश्लीलताले सडक रङ्गिन्छ एक/दुई दिन र होलीको समापन हुन्छ।
होलीको समापन कसरी हुनुपर्ने हो ? यसको सांस्कृतिक पक्ष के हो ? धार्मिक मान्यता कस्तो छ ? होलीको औपचारिक समापनमा को को पुग्नुपर्दछ ? यसबारे समाज अनभिज्ञ बन्दै गएको छ। यही रफ्तारमा फगुवाको क्षयीकरण भइरह्यो भने होलीको विसर्जन गर्न बिर्सिंदै गएको समाज यस संस्कृतिको सबै अन्तर्यलाई नबिर्सला भन्न सकिन्न।
यदि वर्तमान समाजमा संलग्न होलीको वर्गीय स्वरूप, वयगत स्वरूप र ग्राम्य–काँठ–शहरीया स्वरूपलाई अध्ययन गर्ने हो भने होलीको बोली एकै अनुहारमा दश रङ वा अबिर प्रदर्शित भएझैं फेरिएको वा फेरिंदै गएको पाउन सक्छौं। कतै सबै रङले उदासी नछरून्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्